विश्व क्यान्सर दिवस २०२५ः धूम्रपान नगर्नेहरूमा पनि फोक्सोको क्यान्सर !

0

काठमाडौं । फोक्सोको क्यान्सर भन्नेबित्तिकै प्रायः मानिसहरूको ध्यान चुरोट, बिडी, हुक्का वा सुर्तीजन्य पदार्थतिर जान्छ । तर, पछिल्ला अध्ययन र विशेषज्ञहरूको चेतावनीले अब यो धारणा गलत साबित भएको छ । धूम्रपान नगर्नेहरूमा समेत यो घातक रोग देखिन थालेको छ, जसले फोक्सोको क्यान्सरबारे सोच्ने तरिका नै फेरिएको छ ।

धूम्रपान नगर्नेहरूमा पनि क्यान्सर किन ?

नयाँ दिल्लीस्थित साकेतको ‘डाक्टर मन्त्री रेस्पिरेटरी क्लिनिक’का वरिष्ठ पल्मोनोलोजिस्ट डा. भगवान मन्त्रीका अनुसार, धूम्रपान फोक्सोको क्यान्सरको प्रमुख कारण भए पनि, यो मात्र एक कारण होइन । उनका अनुसार अबको यथार्थ यो हो कि धूम्रपान नगर्नेहरू पनि फोक्सोको क्यान्सरको जोखिममा छन् ।

उनका अनुसार जब फोक्सोका कोषहरू अनियन्त्रित रूपमा वृद्धि गर्न थाल्छन्, तब क्यान्सरको अवस्था उत्पन्न हुन्छ । यस्तो अवस्थामा फोक्सोले ठीकसँग काम गर्न छोड्छ र शरीरमा अक्सिजन आपूर्तिमा समस्या आउँछ । यही कारणले गर्दा सास फेर्न गाह्रो हुने, थकान महसुस हुने र शरीरका अन्य अंगमा समेत असर पर्ने गर्छ ।

फोक्सोको क्यान्सरका पाँच प्रमुख कारण

डा. मन्त्रीका अनुसार धूम्रपानभन्दा बाहेक पनि अन्य धेरै कारणले फोक्सोको क्यान्सर हुने गर्छः

निष्क्रिय धूम्रपान (Passive Smoking)ः धूम्रपान नगर्नेले पनि यदि धूम्रपान गर्नेको नजिक बस्यो भने त्यो धुवाँले फोक्सोलाई असर गर्छ । यसलाई दोस्रो श्रेणीको धूम्रपान भनिन्छ ।

वायु प्रदूषणः विशेषगरी सहरका क्षेत्रमा गाडी, उद्योगधन्दा र निर्माण कार्यका कारण उत्पन्न हुने धुलो र धुवाँले फोक्सोको स्वास्थ्यमा दीर्घकालीन असर गर्छ।

रसायनजन्य जोखिमहरूः एस्बेस्टोस, सिलिका, क्रोमियम, डीजल धुवाँ र रेडोन ग्यासजस्ता औद्योगिक रसायन पनि फोक्सोको कोषमा क्षति पु¥याउन सक्छन् ।

वंशानुगत कारणः पारिवारिक इतिहास पनि एक जोखिम कारक हो । यदि परिवारमा कसैलाई फोक्सोको क्यान्सर भएको छ भने अन्य सदस्यलाई पनि त्यसको जोखिम हुन सक्छ ।

जीवनशैली र आहारः पोषणहीन भोजन, व्यायामको कमी र रोग प्रतिरोधात्मक क्षमतामा कमजोरीले पनि क्यान्सरको सम्भावना बढाउँछ ।

लक्षण देखिँदैन जबसम्म ढिलो हुँदैन

डा. मन्त्रीका अनुसार, फोक्सोको क्यान्सरको प्रारम्भिक चरणमा कुनै स्पष्ट लक्षण देखिँदैन । जब लक्षण देखा पर्छ, तब रोग प्रायः गम्भीर अवस्थामा पुगिसकेको हुन्छ । सामान्यतः देखिने लक्षणहरू यस्ता छन:

  • हप्तौंसम्म निरन्तर खोकी
  • खोकीमा रगत आउनु
  • छातीमा दुखाइ वा दबाब महसुस हुनु
  • सास फेर्न गाह्रो हुनु
  • अचानक तौल घट्नु, थकान, स्वर परिवर्तन
  • यी लक्षण अन्य श्वासप्रश्वास सम्बन्धी रोगसँग मिल्ने भएकाले समयमा पहिचान हुन गाह्रो पर्न सक्छ।

स्क्रिनिङः बच्ने एउटा उपाय

उच्च जोखिममा परेका व्यक्तिहरू—जस्तै दीर्घकालीन धूम्रपान गर्नेहरू, औद्योगिक क्षेत्रका कामदारहरू वा परिवारमा क्यान्सरको इतिहास भएका—ले नियमित रूपमा कम डोज सीटी स्क्यान (Low Dose CT Scan) गराउनु आवश्यक हु न्छ। स्वस्थ व्यक्तिहरूका लागि पनि हरेक ३–५ वर्षमा स्क्यान गराउनु सल्लाहयोग्य छ भने जोखिममा परेकाले वार्षिक परीक्षण गर्नुपर्छ ।

उपचारको विकल्प

फोक्सोको क्यान्सरको उपचार रोगको चरणअनुसार फरक–फरक हुन्छः

शल्यक्रियाः प्रारम्भिक चरणमा क्यान्सर ग्रस्त भाग फोक्सोबाट हटाइन्छ ।

केमोथेरापीः औषधिमार्फत क्यान्सर कोषलाई मारिन्छ ।

रेडिएसन थेरापीः विकिरण प्रविधिबाट कोषहरूलाई नष्ट गरिन्छ ।

इम्युनोथेरापीः शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाएर क्यान्सरविरुद्ध लडाइँ गरिन्छ ।

लक्षित थेरापी (Targeted Therapy)ः विशिष्ट क्यान्सर अणुहरूलाई लक्षित गरेर न्यूनतम साइड इफेक्टसहित उपचार गरिन्छ ।

डा. मन्त्रीका अनुसार, “उपचारको प्रभावकारिता बिरामीको उमेर, स्वास्थ्य अवस्था र रोगको अवस्था अनुसार निर्भर हुन्छ । प्रारम्भिक चरणमा पत्ता लागेमा उपचारको सम्भावना निकै राम्रो हुन्छ ।“

कसरी बच्ने?

फोक्सोको क्यान्सरबाट बच्न निम्न उपायहरू अपनाउन सकिन्छः

धूम्रपान नगर्नुहोस् र धूम्रपान गर्नेहरूको साथमा लामो समय नबस्नुहोस्।

प्रदूषणबाट बच्ने प्रयास गर्नुहोस्, मास्कको प्रयोग गर्नुहोस्, घरमा एयर प्युरिफायर राख्नुहोस्।

हरियाली बढाउनुहोस्—घरमा वायू शुद्ध पार्ने बिरुवा रोप्नुहोस्।

पोषणयुक्त आहार—फलफूल, हरियो सागपात, एन्टिअक्सिडेन्टयुक्त खाद्यपदार्थको सेवन गर्नुहोस्।

नियमित व्यायाम—यसले फोक्सोको कार्यक्षमता र प्रतिरक्षा क्षमता दुवैलाई बलियो बनाउँछ।

औद्योगिक क्षेत्रमा सावधानी—यदि तपाईं खतरनाक रसायनहरूसँग सम्पर्कमा हुनुहुन्छ भने सुरक्षा उपकरणको प्रयोग गर्न नबिर्सनुहोस्।

समयमै परीक्षण—लक्षण देखा परेमा वा जोखिममा हुनुहुन्छ भने ढिला नगरी चिकित्सकको सल्लाह लिनुहोस्।

विश्व फोक्सो क्यान्सर दिवस २०२५ को सन्देश यही हो—धूम्रपान नगर्नेहरू पनि सुरक्षित छैनन् । फोक्सोको क्यान्सर अब केवल धूम्रपानसँग मात्र जोडिएको रोग होइन, यो प्रदूषण, जीवनशैली र अन्य जोखिमहरूबाट पनि प्रभावित छ । समयमै पहिचान र सचेतना नै यसको रोकथामको सबैभन्दा प्रभावकारी उपाय हो ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top