भक्तपुर । नेपालमा मिर्गौला, कलेजोजस्ता जीवनरक्षक अङ्गको आवश्यकता दिनप्रतिदिन बढ्दो छ, तर अङ्गदानको अवस्था भने निराशाजनक छ । हाल अङ्गदान उपलब्धता कुल आवश्यकताको २० प्रतिशतभन्दा पनि कम रहेको तथ्यांकले देखाएको छ ।
विश्व अङ्गदान दिवसको अवसरमा शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुरमा आयोजित विशेष समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अङ्गदानमा व्यापक जनचेतना र नीतिगत सुधारको खाँचो रहेको औंल्याएका छन् ।
मन्त्री पौडेलले “अङ्ग दान गर्नेले स्वर्ग पाउँदैन“ भन्ने सामाजिक भ्रमका कारण दाता संख्या न्यून रहेको बताए । त्यस्तै, कडा नीति नियमका कारण पनि इच्छुक दाताहरूले अङ्गदान गर्न नसकेको उनले स्वीकारे ।
कार्यक्रममा मन्त्री पौडेलले अङ्गदानलाई प्रोत्साहन गर्न केही ठोस पहल सार्वजनिक गरे । उनका अनुसार अङ्ग दातालाई निःशुल्क बीमा सुविधा दिइने छ भने समाजमा दातालाई उचित सम्मानको वातावरण बनाइनेछ । मन्त्रीले अब अङ्ग प्रत्यारोपण गराउनेलाई थप दुई लाख रुपैयाँ सुविधा दिइने घोषणा पनि गरे । “बीमा योजनासँग विपन्न वर्गलाई जोड्दा प्रत्यारोपण सुविधा ९ लाख रुपैयाँसम्म पुग्छ, अब आर्थिक कारणले उपचार रोकिँदैन,” मन्त्री पौडेलले बताए ।
उनले अङ्ग प्रत्यारोपण सेवालाई विस्तार गर्न छुट्टै प्रतिष्ठानहरू स्थापना गरिने जानकारी पनि दिए । हालको ८ वटा प्रतिष्ठानलाई आगामी वर्षहरूमा २१ पु¥याउने लक्ष्य रहेको समेत उनले बताए ।
स्वास्थ्य बीमा प्रणालीबारे बोल्दै मन्त्री पौडेलले स्रोत सुनिश्चित नगरी सामाजिक सुरक्षा कोषमार्फत बीमा अघि बढाइनु कमजोरी भएको बताए । अस्पतालहरूले बीमा भुक्तानी समयमा नपाएको उनको भनाइ थियो । संघीय अस्पतालहरू न्यूनतम ५ सय शय्या क्षमताका बनाइने र सेवा क्षमता तीन गुणा बढाइने योजना रहेको पनि उनले जानकारी दिए ।
त्यस्तै, यो वर्षभित्र पेट स्क्यान सेवा उपलब्ध गराउने र आइभीएफ सेवा कानुनी रूपमा निर्देशिका ल्याएर लागू गरिने घोषणासमेत गरे ।
भक्तपुर–१ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालले मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुर अस्पताल र क्यान्सर अस्पताललाई समेटेर स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनुपर्ने धारणा राखे । त्यस्तै भक्तपुर–२ का सांसद दुर्लभ थापाले अङ्ग दानलाई सबैभन्दा ठूलो दानको रूपमा उल्लेख गर्दै, अङ्ग जोगाउने उपायहरूमा पनि ध्यान दिनुपर्नेमा जोड दिए ।
भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले मस्तिष्क मृत्युपछि हुने अङ्गदानलाई ऐतिहासिक उपलब्धीको रूपमा लिँदै, यस्तो सेवा सबै जनताको पहुँचमा पुग्नुपर्ने बताए ।
मानव अङ्ग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले सामाजिक अन्धविश्वास, कानुनी जटिलता, जनशक्ति र पूर्वाधारको अभावलाई मुख्य चुनौतीको रूपमा औंल्याए । तर, केन्द्रले उल्लेखनीय प्रगति गरेको भन्दै उनले सन्तोष व्यक्त गरे ।
वरिष्ठ नेफ्रोलोजिष्ट डा. कल्पना श्रेष्ठका अनुसार हालसम्म २,७७३ व्यक्तिले मस्तिष्क मृत्युपछि अङ्गदानको सहमति दिएका छन् । प्राप्त अङ्ग स्कोर प्रणाली अनुसार आवश्यक व्यक्तिलाई प्राथमिकताका आधारमा वितरण गरिने जानकारीे दिइन् । साथै, दातालाई फलोअप उपचार र सम्मानको व्यवस्था गरिनुपर्नेमा उनले जोड दिइन् ।
२०८१÷८२ मा शहीद धर्मभक्त राष्ट्रिय अङ्ग प्रत्यारोपण केन्द्रमा १८६ मिर्गौला र ८ कलेजो प्रत्यारोपण भएका छन् । त्यस्तै, केन्द्रको समन्वयमा प्रादेशिक अस्पतालहरू—सुर्खेत, पोखरा र भेरीमा ८ मिर्गौला प्रत्यारोपण सम्पन्न भएको छ । हालसम्म देशभर करिब १,५०० व्यक्तिमा मात्र अङ्ग प्रत्यारोपण भएको छ, जबकि वार्षिक रूपमा करिब ३,००० मिर्गौला र १,००० कलेजो फेल हुने अनुमान छ । सयौं बिरामी अझै पनि प्रत्यारोपणको पर्खाइमा छन् ।
विशेषज्ञहरूका अनुसार अङ्गदानलाई सकारात्मक सामाजिक धारणा बनाउने, कानुनी प्रक्रिया सरल बनाउने र स्वास्थ्य पूर्वाधार विकास गर्ने कार्यमा सरकारले प्राथमिकता दिनुपर्ने देखिन्छ । यस्ता पहलहरूबाट मात्रै अङ्गदान र प्रत्यारोपण सेवा दीर्घकालीन रूपमा जीवनरक्षक, प्रभावकारी र पहुँचयुक्त बन्न सक्ने विश्वास गरिएको छ ।
कार्यक्रममा मन्त्रालयका अतिरिक्त सचिव श्रीकृष्ण श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, प्रहरी उपरीक्षक माधव बुढाथोकी, क्यान्सर अस्पतालका डा. सुशील चालिसे लगायतको उपस्थिति रहेको थियो ।