भक्तपुर । चाँगुनारायण नगरपालिकामा सञ्चालित ‘एभोकाडो सिटी’ अभियानले सामूहिक एकता र राष्ट्रिय भावनाको सशक्त सन्देश दिएको पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन्।
शुक्रवार सम्पन्न अभियानको तीन वर्षे कार्ययोजना समापन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले नागरिक तहबाट पनि ठूला र प्रभावकारी अभियान सफलतापूर्वक सञ्चालन गर्न सकिने स्पष्ट सन्देश यो अभियानले दिएको उल्लेख गरे। “हामीकहाँ तानातान र अस्वस्थ प्रतिस्पर्धाको प्रवृत्ति छ, तर सबै राजनीतिक दल, संघ–संस्था र जनताको ऐक्यबद्धतामा सम्पन्न यो अभियानले सकारात्मक उदाहरण प्रस्तुत गरेको छ,” उनले भने।
स्वास्थ्य, वातावरण, उत्पादन र आम्दानीको दृष्टिले अभियान सफल रहेको प्रचण्डको भनाइ थियो। “साधन–स्रोतको अभाव हुँदाहुँदै पनि जनस्तरबाट जुटाएर जनहितका अभियान सम्भव छन् भन्ने कुराको यो एक प्रेरणादायी उदाहरण हो,” उनले भने।
अन्य पालिकामा पनि यस्ता अभियान सञ्चालनको सुझाव
प्रचण्डले देशभरका पालिकालाई आ–आफ्नो क्षेत्रको विशेषता पहिचान गरी कृषि, पर्यटन, उर्जा र उद्योगजस्ता क्षेत्रमा आधारित उत्पादनशील अभियान सञ्चालन गर्न आग्रह गरे। “रातारात नतिजा आउँदैन, तर निरन्तरको सामूहिक प्रयास र सक्रियताले समृद्धि सम्भव छ,” उनले जोड दिए।
देशका युवा वैदेशिक रोजगारीमा जानु पर्ने बाध्यता अन्त्य गर्न राष्ट्रिय जागरणको आवश्यकता औँल्याउँदै उनले स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए। “हाम्रो इतिहास, संस्कृति, परम्परा र सीपमा गर्व गर्ने वातावरण निर्माण गर्न आवश्यक छ,” उनले भने।
आत्मनिर्भर अर्थतन्त्रको बाटोमा अगाडि बढ्न जोड
पूँजीवादी अर्थतन्त्रको नक्कल गरेर देश अघि नबढ्ने तर्क गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा स्थानीय तहको श्रम, सीप र जनसहभागिताको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे। उनले आफैं नेतृत्व गरेको अघिल्लो सरकारले आत्मनिर्भर अर्थतन्त्रको मार्ग तय गरेको दाबी गर्दै यस्ता सबै अभियानमा साथ र समर्थन रहने प्रतिबद्धता व्यक्त गरे।
बागमतीका स्वास्थ्यमन्त्रीको प्रशंसा
कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापामगरले ‘एभोकाडो सिटी’ अभियानले भौतिक पूर्वाधारलाई मात्र विकास मान्ने मनोविज्ञान तोड्न सफल भएको बताए। अभियानले शहरी हरियाली, वातावरण संरक्षण र स्वास्थ्य प्रवर्द्धनमा उल्लेखनीय योगदान दिएको भन्दै उनले अभियानको प्रशंसा गरे।
तीन वर्षमा २१ हजार एभोकाडो बिरुवा रोपियो
‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान २०८० सालको श्रावण महिनादेखि अर्थराजनीतिक विश्लेषक डिपी ढकालको परिकल्पना र मार्गदर्शनमा सुरु भएको हो। संयोजक नरेश खड्काका अनुसार तीन वर्षमा १० हजारभन्दा बढी घरमा २१ हजार एभोकाडोका बिरुवा रोपिएको छ।
परिकल्पनाकार ढकालले एक घरले एभोकाडो बिक्रीबाट वार्षिक रु. ३० देखि ५० हजारसम्म आम्दानी गर्न सक्ने अनुमान गर्दै चाँगुनारायण क्षेत्रमा मात्रै वार्षिक रु. ४ करोडभन्दा बढीको अतिरिक्त आम्दानीको स्रोत सुनिश्चित भएको दाबी गरे। उत्पादनको बजारीकरणका लागि पनि स्पष्ट योजना रहेको उनले बताए। अभियानमा करिब ३०० अभियन्ता सक्रिय रुपमा सहभागी भएका छन्। उनीहरुले आगामी दिनमा प्राविधिक र बजार व्यवस्थापनमा समेत स्थानीयलाई सहयोग पुर्याउने अभियान पक्षले जनाएको छ।
समारोहमा नेपाली काँग्रेसका नेता तथा बागमती प्रदेशका पूर्वमन्त्री कृष्णलाल भँडेल, प्रदेशसभा सदस्य अमृता नेपाल र भुवनकेशरी श्रेष्ठ, संविधानसभा सदस्य सत्यलाल मूल र उमा कपाली, चाँगुनारायण नगरपालिकाका संस्थापक मेयर सोमप्रसाद मिश्र, नेकपा माओवादी केन्द्रका भक्तपुर इञ्चार्ज दिलिप प्रजापति, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्य लगायत विशिष्ट अतिथिको उपस्थिति थियो।
त्यसैगरी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नगरपालिकाका वडाध्यक्षहरू, स्थानीय अगुवाहरूको उपस्थिति रहेको कार्यक्रममा सक्रिय अभियन्ताहरूलाई सम्मान गरिनुका साथै महिला समूहद्वारा उत्पादन गरिएका घरेलु सामग्रीहरूको प्रदर्शनी पनि गरिएको थियो।