वागमती प्रदेशका सबै पत्रकारलाई निःशुल्क स्वास्थ्य बीमा

0



भक्तपुर । वागमती प्रदेश सरकारले प्रदेशभित्रका सबै १३ जिल्लामा कार्यरत सम्पूर्ण पत्रकारहरूलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने भएको छ । प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो ।

मन्त्री थापाका अनुसार पत्रकारहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै सरकारको तर्फबाट उनीहरूलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याउने निर्णय गरिएको हो । “पत्रकारहरूको स्वास्थ्यप्रति हामी गम्भीर छौं,” मन्त्री थापाले भने, “यसैले १३ वटै जिल्लाका पत्रकारलाई पाँच जनाको पारिवारिक समूहमा समेटेर बीमाको सम्पूर्ण प्रिमियम प्रदेश सरकारले बेहोर्नेछ ।”

उनका अनुसार चालु आर्थिक वर्षका लागि स्वास्थ्य मन्त्रालयले पत्रकार स्वास्थ्य बीमा कार्यक्रमका लागि २० लाख रुपैयाँको बजेट विनियोजन गरिसकेको छ । कार्यक्रम कार्यान्वयनका लागि आवश्यक कार्यविधि तयार गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको मन्त्री थापाले जानकारी दिए ।

स्वास्थ्य बीमाको प्रक्रिया पारदर्शी, सरल र डिजिटलमैत्री बनाइने योजना रहेको बताउँदै मन्त्री थापाले यस कार्यक्रमले पत्रकारहरूको स्वास्थ्य सुरक्षामा दीर्घकालीन सुधार ल्याउने विश्वास व्यक्त गरे ।

स्वास्थ्य क्षेत्र सुधारका लागि यस वर्षदेखि सञ्चालन हुने अन्य योजनाहरूको जानकारी दिंदै मन्त्री थापाले ’मेरो स्वास्थ्य, मेरो जिम्मेवारी– एक घण्टा मेरो लागि’ अभियान, ’एक जिल्ला, एक स्वस्थ सहर’ र ’एक स्थानीय तह, एक नमुना स्वास्थ्य संस्था’ कार्यक्रम पनि सार्वजनिक गरे ।

उनका अनुसार अब १३ वटै प्रादेशिक अस्पताल मात्र नभई, विकट ग्रामीण क्षेत्रका नागरिकसम्म प्रभावकारी रूपमा स्वास्थ्य सेवा पु¥याउने लक्ष्यसहित सरकारले काम अघि बढाएको छ । “स्वास्थ्य सामग्री, औषधि, र उपकरण लिएर सरकार आफैं गाउँ–गाउँमा पुग्नेछ,” मन्त्री थापाले भने, “जनताले सरकार गाउँमा आएको महसुस गर्ने गरी सेवा विस्तार गरिनेछ ।”


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top