काठमाडौं । अमर बन्ने सपना मानव इतिहासको आरम्भदेखि नै पाइन्छ। वैदिक कालदेखि पौराणिक ग्रन्थहरूमा ऋषिमुनिहरूले अमरता प्राप्त गर्न तपस्या गरेको उल्लेख पाइन्छ। उनीहरूले अमरतालाई ईश्वरीय वरदान मानेका थिए, जुन केवल देवताहरूको कृपाले मात्र सम्भव हुने विश्वास गरिन्थ्यो। तर विज्ञान र प्रविधिको तीव्र विकाससँगै अब यो कल्पना वास्तविकतामा रूपान्तरण हुने दिशातर्फ अग्रसर हुँदैछ।
यसै सन्दर्भमा बेलायती भविष्यविद् डा. इयान पियर्सनले चमत्कारी दावी गरेका छन्— सन् २०५० सम्ममा मानिसहरू प्राविधिक रूपमा अमर बन्न सक्छन्। उनका अनुसार भविष्यमा मानिसले आफ्नो सोच, सम्झना र सम्पूर्ण चेतनालाई कम्प्युटरमा ‘अपलोड’ गर्न सक्नेछन्, जसले शारीरिक मृत्युको बाबजुद पनि उनीहरूको अस्तित्वलाई डिजिटल रूपमै जोगाइराख्नेछ।
यस प्रविधिलाई 'माइन्ड अपलोडिङ' भनिन्छ। डा. पियर्सनका अनुसार सन् २०५० सम्म यो प्रविधि मुख्यत: धनी वर्गका लागि उपलब्ध हुनेछ भने सन् २०६० भित्रै मध्यम वर्गका मानिसहरू पनि यसको प्रयोग गर्न सक्नेछन्। उनी भन्छन्, “यदि तपाईंको मस्तिष्कको डाटा डिजिटल रूपमा सुरक्षित रहन्छ भने तपाईं प्रविधिको माध्यमबाट अमर रहन सक्नुहुन्छ, शरीर नभए पनि।”
डा. पियर्सनको दावीलाई थप बल दिने व्यक्ति हुन्— गुगलका पूर्व इन्जिनियर तथा चर्चित भविष्यविद् रे कुर्जवेल। उनका अनुसार सन् २०२९ सम्ममा कृत्रिम बौद्धिकता (AI) मानव मस्तिष्कको बराबरीमा पुग्नेछ, र सन् २०३० भित्रै मानव मस्तिष्कलाई क्लाउड सिस्टमसँग प्रत्यक्ष जडान गर्न सकिनेछ।
कुर्जवेल विश्वास गर्छन् कि सन् २०४५ सम्म मानव–मेसिनको समिश्रणले मानिसलाई ‘साइबोर्ग’ मा रुपान्तरण गर्नेछ। अर्थात्, आधा मानव र आधा मेसिन जस्तो जीवनशैली सम्भव हुनेछ। कुर्जवेलका विगतका धेरै भविष्यवाणीहरू, जस्तै कम्प्युटरद्वारा चेसमा मान्छेलाई हराउने वा स्मार्टफोनको क्रान्तिकारी प्रभाव, सही सावित भइसकेका छन्।
विशेषज्ञहरूका अनुसार मस्तिष्क–कम्प्युटर इन्टरफेस (BCI) जस्ता प्रविधिहरूको प्रयोगले मानव चेतनालाई डिजिटल रूपमा स्थानान्तरण गर्नु सम्भव हुने देखिन्छ। बायोटेक्नोलोजी र जेनेटिक इन्जिनियरिङको सहायताले बुढ्यौली प्रक्रिया पनि सुस्त पार्न सकिने आशा गरिएको छ।
यद्यपि यो सब हालको अवस्थामा एक दूरगामी कल्पना जस्तो लागे पनि प्रविधिको तीव्र विकासले यस्तो भविष्य अकल्पनीय भने रहेन। यदि वैज्ञानिकहरूले मानिसको चेतना डिजिटल रूपमा संरक्षित राख्न सफल भए, भने आगामी पुस्ताले ‘अमरता’ लाई केवल मिथक होइन, एउटा सम्भावना भनेर हेर्नेछ।