काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्टट्र्याक) निर्माण कार्य तोकिएको म्यादभित्रै सम्पन्न हुने दाबी गरेका छन्। साथै, ललितपुरको खोकना क्षेत्रमा रहेको ऐतिहासिक तथा धार्मिक महत्त्वका स्थानहरूलाई संरक्षण गर्दै परियोजनाको नयाँ विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएको जानकारी पनि उनले दिएका छन्।
संघीयता सुदृढीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै प्रधानसेनापति सिग्देलले हालसम्म फास्टट्र्याकको झण्डै ४३ प्रतिशत काम सम्पन्न भइसकेको बताए। परियोजनालाई २०८३ सालको चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेको उल्लेख गर्दै उनले बाँकी काम तीव्र गतिमा अघि बढ्ने विश्वास व्यक्त गरे।
"हामीले समयमै काम सक्ने जिम्मेवारी लिएका छौं। प्रारम्भिक चरणमा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) र टेन्डर प्रक्रिया जस्ता कारणले केही ढिलाइ भए पनि अब काममा तीव्रता आउँछ," सिग्देलले भने, "सेनाले समयमै आयोजना सम्पन्न गर्छ भन्नेमा विश्वास राख्न आग्रह गर्दछु।"
धार्मिक क्षेत्रलाई जोगाउँदै डीपीआर परिमार्जन
ललितपुरस्थित खोकना प्रस्थानबिन्दु आसपास पर्ने करिब ६.५ किलोमिटर क्षेत्रको नयाँ डीपीआरमा सिकाली मन्दिर र किरियापुत्री स्थलजस्ता धार्मिक तथा सांस्कृतिक संवेदनशील स्थानहरूलाई संरक्षण गरिएको सिग्देलले जानकारी दिए।
"स्थानीयबासीको चिन्ता सम्बोधन गर्दै सिकाली मन्दिर क्षेत्र र किरियापुत्री स्थललाई जोगाइएको छ," उनले भने, "धार्मिक र सांस्कृतिक मूल्य मान्यतालाई सम्मान गर्दै परियोजनामा आवश्यक परिमार्जन गरिएको हो।"
प्रधानसेनापति सिग्देलले परियोजनाको सफल कार्यान्वयनमा नेपाली सेना पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउँदै सबै सरोकारवालालाई सकारात्मक सहयोगका लागि आग्रह गरे।