भक्तपुर । शिक्षा, संस्कार र अनुशासनलाई समाहित गर्दै प्रगतिशील सोचको विकासमा क्रियाशील मध्यपुर ठिमीस्थित विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले कक्षा १० का विद्यार्थीहरूका लागि दुई दिने आवासीय जीवन शिक्षा गोष्ठी सम्पन्न गरेको छ।
“जीवन शिक्षा एवं संस्कार तथा कर्तव्य बोध” भन्ने मूल उद्देश्यसहित आयोजित कार्यक्रम साउन १७ र १८ गते ललितपुरको चापागाउँस्थित नेपाल मैत्रीय गुठीको भवनमा सम्पन्न भएको हो। गोष्ठीमा विद्यार्थीहरूलाई जीवनमा सफलता प्राप्त गर्न आवश्यक जीवन मूल्य, शिष्टता, अनुशासन, विनयशीलता र असल संस्कारबारे अन्तरक्रियात्मक शैलीमा ज्ञान प्रदान गरिएको थियो।
विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरूले जीवन उपयोगी, व्यवहारिक र नैतिक शिक्षा प्राप्त गरेका थिए। कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक तथा नेपाल मैत्रीय गुठीका गुरु फानले जीवन मूल्य र मान्यताबारे प्रेरणादायी दीक्षा दिएका थिए।
त्यस्तै गुठीका संरक्षक सानुकाजी डंगोल, प्रशिक्षकहरू डोलराज घिमिरे, सुजन बजगाई, सृष्टि डंगोल, रश्मी केसी र पुनम जोशीले रमाइलो र प्रभावशाली शैलीमा जीवन शिक्षासम्बन्धी विविध विषयमा प्रशिक्षण दिएका थिए।
वक्ताहरूले विशेषगरी जीवनको सार र उद्देश्य, सफलताका सूत्रहरू, आमाबुबाप्रतिको कर्तव्य, विश्वास र अभ्यासका महत्व लगायतका विषयमा व्याख्यान दिएका थिए।
कार्यक्रमको समापनमा सहभागी विद्यार्थीहरूले आफूले प्राप्त गरेको ज्ञान, अनुभव र प्रेरणाका भाव व्यक्त गर्दै आयोजक तथा प्रशिक्षकहरूलाई धन्यवाद ज्ञापन गरेका थिए।
कार्यक्रमको अन्त्यमा विद्यालयको तर्फबाट सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले नेपाल मैत्रीय गुठी परिवारप्रति आभार व्यक्त गर्दै यस्ता जीवन उपयोगी ज्ञान कार्यक्रमले विद्यार्थीको असल चरित्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।