पोखरा महानगरपालिकाद्वारा नगर ऊर्जा योजना सार्वजनिक, स्वच्छ र दिगो ऊर्जा लक्ष्यमा अगाडि बढ्ने घोषणा

0


पोखरा ।
 दिगो सहरी विकास र स्वच्छ ऊर्जातर्फको यात्रालाई थप गति दिने उद्देश्यसहित पोखरा महानगरपालिकाले पहिलो पटक नगर ऊर्जा योजना (Municipal Energy Plan – MEP) सार्वजनिक गरेको छ। मंगलबार एक औपचारिक समारोहका बीच पोखराका मेयर धनराज आचार्यले पाँच वर्षे यो योजना सार्वजनिक गरेका हुन्।

ऊर्जा पहुँच विस्तार, ऊर्जा दक्षता अभिवृद्धि र नवीकरणीय ऊर्जाको प्रवद्र्धनलाई प्राथमिकता दिइएको यस योजनाले पोखराको बढ्दो ऊर्जा आवश्यकतालाई सम्बोधन गर्दै नेपालको राष्ट्रिय ऊर्जा तथा जलवायु लक्ष्यमा योगदान दिने अपेक्षा गरिएको छ।

पोखरा महानगरपालिका परिसरमा आयोजित कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, काठमाडौंका उप कार्यकारी निर्देशक डा. नारायण प्रसाद अधिकारी, जिआइजेड नेपालका वरिष्ठ ऊर्जा विशेषज्ञ डा. नारायण प्रसाद चौलागाई, महानगरका पदाधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधि र सरोकारवाला निकायका सदस्यहरूको उपस्थिति रहेको थियो।

ऊर्जा विकास उप-समितिद्वारा तयार गरिएको यो योजना जर्मन विकास संस्था जिआइजेड नेपालको ‘रिप–ग्रीन’ कार्यक्रमको प्राविधिक सहयोगमा तयार गरिएको हो। नौ चरणमा आधारित समग्र प्रक्रिया अपनाई तयार पारिएको यो योजनालाई २०८१ सालको फागुन महिनामा महानगर सभाबाट औपचारिक स्वीकृति दिइएको थियो।

कुल अनुमानित लागत १ अर्ब ३३ करोड ३० लाख ८२ हजार रुपैयाँ रहेको योजनामा ‘समृद्ध पोखराका लागि प्रभावकारी र दिगो ऊर्जा’ को दीर्घकालीन परिकल्पना गरिएको छ। योजना अन्तर्गत घरायसी, व्यापारिक र औद्योगिक क्षेत्रमा स्वच्छ र नवीकरणीय ऊर्जा प्रवद्र्धन, ऊर्जा दक्षता अभिवृद्धि, हरितगृह ग्यास उत्सर्जन न्यूनीकरण, जनचेतना अभिवृद्धि तथा नीतिगत पहललाई प्रमुख कार्यक्षेत्रका रूपमा पहिचान गरिएको छ।

कार्यक्रममा बोल्दै मेयर आचार्यले पोखरालाई हरियाली र ऊर्जा–मैत्री सहर बनाउने महानगरको प्रतिबद्धता दोहोर्याउँदै योजनाको प्रभावकारी कार्यान्वयनमा सबै सरोकारवाला निकायसँग सहकार्य गरिने बताए। तीन वटै सरकारबीच समन्वय कायम गर्न सके यस्ता महत्त्वाकाङ्क्षी योजना कार्यान्वयन सम्भव हुने उनले उल्लेख गरे।

‘रिप–ग्रीन’ कार्यक्रम युरोपेली संघ (EU) र जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (BMZ) को संयुक्त वित्तीय सहयोगमा सञ्चालित कार्यक्रम हो। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र जिआइजेड नेपालको सहकार्यमा सञ्चालनमा रहेको कार्यक्रमले स्थानीय सरकारहरूसँग सहकार्य गर्दै समावेशी, दिगो र लैङ्गिक उत्तरदायी ऊर्जा योजना निर्माणमा सहयोग पुर्‍याउँदै आएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top