चिकनगुनिया फैलिने क्रम युरोपसम्म, रोकथाममा जुटे स्वास्थ्य निकायहरू
काठमाडौं । विश्वभर करिब दुई दशकअघि महामारीको रूप लिएको चिकनगुनिया भाइरस फेरि सक्रिय भएको छ। लामखुट्टेबाट सर्ने यो भाइरसले हाल चीनमा तीव्र संक्रमण फैलाउँदै ७ हजारभन्दा बढीलाई प्रभावित बनाएको छ। यससँगै ७३ वर्षअघि पहिलोपटक पहिचान भएको यो भाइरसले फेरि महामारीको रूप लिने खतरा देखिएको छ।
चीनको ग्वाङडोङ प्रान्तमा सबैभन्दा बढी संक्रमित भेटिएका छन्। संक्रमण फैलिन नदिन चिनियाँ सरकारले नयाँ उपायस्वरूप जेनेटिक रूपमा परिवर्तन गरिएका ठूला लामखुट्टेहरू छुटाउँदैछ, जसले भाइरस फैलाउने साना लामखुट्टेहरूलाई निष्क्रिय पार्ने विश्वास गरिएको छ। साथै नागरिकहरूलाई घर वरिपरि पानी नजमाउन निर्देशन दिइएको छ। अटेर गर्नेहरूलाई १ लाख रुपैयाँभन्दा बढी जरिवाना गरिने चेतावनी दिइएको छ।
डब्लुएचओका विज्ञहरूले विशेषगरी एसिया र युरोपका देशहरूमा भाइरस फैलिने सम्भावनाबारे चिन्ता व्यक्त गरेका थिए। पछिल्लो केही महिनामा भाइरस मडगास्कर, मायोट, मौरिसस, सोमालिया र केन्यामा फैलिएपछि अब चीन र युरोपसम्म फैलिएको छ। फ्रान्समा मात्रै मे १ यता ८ सयभन्दा बढी केस पुष्टि भएका छन्। तीमध्ये १२ जना स्थानीय रूपमा संक्रमित भएका छन् भने इटालीमा पनि नयाँ केस देखा परिसकेको छ।
नयाँ दिल्लीस्थित सर गंगा राम अस्पतालकी रोकथाम तथा कल्याण विभागकी निर्देशक डा. सोनिया रावतका अनुसार यो भाइरस प्रत्यक्ष सम्पर्कबाट सर्दैन, तर एउटै क्षेत्रमा एकैपटक धेरै व्यक्तिलाई संक्रमित बनाउन सक्छ।
हालसम्म चिकनगुनियाको विशेष एन्टिभाइरल उपचार उपलब्ध छैन। उपचार लक्षणका आधारमा हुने गर्छ। सामान्यतया बिरामीलाई प्यारासिटामोल, दुखाइ निवारक औषधि, प्रशस्त आराम र पानी पिउन सल्लाह दिइन्छ। हल्का शारीरिक व्यायाम पनि पीडामा राहत दिन सक्छ।
- पुरै बाहुला भएका लुगा लगाउने
- लामखुट्टेको झुल प्रयोग गर्ने
- घर वरिपरि पानी जम्न नदिने
- भाँडाहरू छोपेर राख्ने
- लामखुट्टे भगाउने क्रिम वा स्प्रे प्रयोग गर्ने
- झ्यालढोका तथा भेन्टिलेसनमा जाली प्रयोग गर्ने
वर्षायाममा विशेष सतर्कता अपनाउन विज्ञहरूको सुझाव छ, किनभने यही समयमा लामखुट्टे बढी फस्टाउँछन्।
जलवायु परिवर्तन, जनघनत्व र अन्तरदेशीय आवागमनको वृद्धिका कारण लामखुट्टेबाट फैलिने रोगहरूको जोखिम बढ्दो छ। चिकनगुनियाको पछिल्लो प्रकोपले अझ सतर्क र जिम्मेवार बन्नुपर्ने सन्देश दिएको छ। समयमै सावधानी अपनाइएन भने महामारीको रूप लिन सक्ने डब्लुएचओको चेतावनीलाई हल्कासँग लिन नहुने देखिएको छ।