भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ मा अवस्थित ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वको तिर्थस्थल नीलबाराही क्षेत्रको संरक्षण र विकासका लागि नयाँ योजनाको थ्रीडी नक्सासहितको डिजाइन सार्वजनिक भएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरण (केभिडिए) र नगरपालिकाको सहकार्यमा अगाडि बढाइएको यो परियोजना झण्डै २० करोड रुपैयाँको लागतमा धार्मिक, पर्यटकीय र वातावरणीय दृष्टिले महत्वपूर्ण क्षेत्रमा दीर्घकालीन पहिरो तथा भू–क्षय नियन्त्रण गर्ने लक्ष्यमा आधारित छ ।
मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको योजनाले नीलबाराही मन्दिर परिसरको पूर्व र पश्चिम भागमा बायो इञ्जिनियरिङ, पाइलिङ, नेलिङ, ग्राउटिङ, ग्रिड बिम लगायतका वातावरणमैत्री प्रविधिहरूको प्रयोगमार्फत भू–सुरक्षा सुनिश्चित गर्ने दाबी गरिएको छ । पहिलो चरणमा करिब ९ करोड ४३ लाख रुपैयाँको लागतमा कार्य सुरु हुने जनाइएको छ भने दुई वर्षभित्र नीलबाराही क्षेत्रलाई एक आकर्षक धार्मिक–पर्यटकीय गन्तव्यमा रुपान्तरण गर्ने लक्ष्य लिइएको छ ।
योजना तथा डिजाइन सार्वजनिक गर्नु सकारात्मक पाइला हो । तर यो विकासको उत्साहसँगै केही गम्भीर प्रश्नहरू पनि सतहमा आएका छन् । विशेषगरी स्थानीय सरोकारवालाहरू, नीलबाराही संरक्षण तथा सरोकार समिति, र जनश्रमदाता समूहले परियोजनाको शैलीप्रति असहमति जनाउँदै आयोजना सार्वजनिक गर्ने प्रारम्भिक कार्यक्रम अवरुद्ध गरेका छन् । उनीहरूले यान्त्रिक हस्तक्षेप, डोजरको प्रयोग र मन्दिर क्षेत्रको भौगोलिक तथा जैविक संरचनामा हुने प्रभावबारे गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
विकास र संरक्षणबीचको द्वन्द्व कुनै नयाँ विषय होइन । तर नीलबाराही जस्तो संवेदनशील, ऐतिहासिक तथा आस्थासँग गाँसिएको क्षेत्रमा परियोजना अघि बढाउँदा विशेष संवेदनशीलता आवश्यक हुन्छ । स्थानीय समुदायको विश्वास, सहमति र सहभागिता विना यस्ता परियोजनाहरू दीगो बन्न सक्दैनन् ।
नगरपालिका र सम्बन्धित निकायले जनताको आवाज सुन्ने, योजनाको पूर्ण विवरण पारदर्शी ढंगले सार्वजनिक गर्ने र सहभागी निर्णय प्रक्रियालाई आत्मसात् गर्नुपर्ने आवश्यकता अहिलेको प्रमुख प्राथमिकता हो । विकासको नाममा जनभावनाको अवमूल्यन गर्ने प्रवृत्ति कुनै पनि अवस्थामा स्वीकार्य हुन सक्दैन ।
नीलबाराही क्षेत्रमा हाल भइरहेका जनश्रमदान, संरक्षण अभियान र स्थानीयको सक्रियता स्वयंमा विकासको एउटा बलियो आधार हुन् । यसलाई बेवास्ता गर्दै यान्त्रिक समाधान थोपर्न खोज्नु दीर्घकालीन असन्तोष र विवादको बीउ रोप्नु हो । परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय सरोकारवालासँग निरन्तर संवाद, सहकार्य र सम्मानजनक साझेदारी अनिवार्य छ ।
नीलबाराही क्षेत्रको संरक्षण र विकास केवल संरचनात्मक हस्तक्षेपले सम्भव छैन; यसमा सांस्कृतिक आत्मीयता, पर्यावरणीय चेतना र स्थानीय सहभागिताको समन्वय हुनुपर्छ । सम्पदा संरक्षणको मूलमन्त्र भनेकै सम्मानयुक्त हस्तक्षेप हो—नीलबाराहीको सन्दर्भमा पनि यही सिद्धान्त मार्गदर्शक बन्ने अपेक्षा गरिन्छ ।