आदिवासी भाषालाई डिजिटल माध्यममा लैजान जरुरी : राष्ट्रिय सभाका अध्यक्ष दाहाल

0



काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आदिवासी जनजातिका भाषा, लिपि र परम्परागत ज्ञानलाई डिजिटल माध्यममार्फत संरक्षण र प्रवर्द्धन गर्न जरुरी रहेको बताएका छन्।

बिहीबार वसन्तपुर डबलीमा आयोजित ‘प्रोमोटिङ इन्डिजिनियस नलेज सिस्टम’ (आदिवासी ज्ञान प्रवर्द्धन) कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले कृत्रिम बौद्धिकता (एआई) र प्रविधिको माध्यमबाट हराउँदै गएका भाषा, मौखिक परम्परा, कथा, गीत, वस्तुकला र औषधीय ज्ञानजस्ता सम्पदालाई सुरक्षित राख्न सकिने उल्लेख गरे।

“उदाहरणका लागि, नेवार समुदायको नेपाल भाषा अहिले गुगलमा उपलब्ध छ, जुन प्रविधिको सकारात्मक प्रयोग हो,” उनले भने, “यसरी डिजिटल प्रविधिमार्फत आदिवासी सम्पदालाई विश्व सामु चिनाउन सकिन्छ।”

कार्यक्रम ३१औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, युनेस्को नेपाल र एफएओ नेपालको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

अध्यक्ष दाहालले यस वर्षको दिवस आदिवासी भाषासँगै परम्परागत खानालाई केन्द्रमा राखेर मनाइएको जानकारी पनि दिए।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले यो पटकको आदिवासी दिवस एक हप्तासम्म विभिन्न कार्यक्रम गरी भव्य रूपमा मनाइने जानकारी दिए। उनले सरकार र सरोकारवाला निकायसमक्ष आदिवासी मुद्दा उठाउने यो अवसर महत्वपूर्ण रहेको बताए।

त्यस्तै, आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले विश्वका ८० प्रतिशत खाद्यान्नसम्बन्धी ज्ञान आदिवासीको परम्परागत सीपमा आधारित रहेको बताए। उनले आदिवासी समुदायले आफ्नो अधिकारका लागि निरन्तर संघर्ष गर्दै आएको उल्लेख गरे।

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष ङिमी शेर्पाले आदिवासी खाद्यान्न र परम्परागत ज्ञानको संरक्षणमा महिलाको भूमिका महत्त्वपूर्ण रहेको बताइन्। विकासको नाममा आदिवासीहरू आफ्नो थलोबाट विस्थापित हुँदै गएकाले सबैले यसको गम्भीरता बुझेको हुनुपर्नेमा उनले जोड दिइन्।

नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषा सरकारी कामकाजको भाषाका रूपमा प्रयोगमा ल्याइएको र गण्डकी प्रदेशमा मगर तथा गुरुङ भाषालाई पनि त्यही स्थान दिन पहल भइरहेको जानकारी दिए।

कार्यक्रममा नेवार, थारु, तामाङ, गुरुङ, मगर, सुनुवार, भुजेल, माझी, छन्त्याल र थामी समुदायका सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो।

थारु कल्याणकारिणी सभा (थाकस)ले थारु समुदायका परम्परागत खानाका परिकारहरू प्रदर्शन गरेको थियो। घोङ्घी, अनदीको भात, भक्का, गंगटा, महुवाको रक्सी, ढिक्री, बरिया, बयरको चटनी, चिच्चर, खुर्मा र जाँरको झोलजस्ता परिकारहरू प्रदर्शनीमा राखिएको थियो। थाकसका अध्यक्ष प्रेमीलाल चौधरीका अनुसार, पूर्वदेखि पश्चिमसम्मका थारु परिकार समेटिएको थियो। साथै, नेवार समुदायका परम्परागत खाजाहरू पनि प्रदर्शन गरिएका थिए।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य सुरेश आले मगर, सांसद उर्मिला माझी, आदिवासी जनजाति महासंघका पूर्व अध्यक्षहरू नगेन्द्रकुमार कुमाल, जगत बराम, पत्रकार महासंघ (फोनिज) का अध्यक्ष लक्की चौधरी, विद्यार्थी महासंघका अध्यक्ष चन्द्रप्रसाद चौधरीलगायतको उपस्थिति थियो।

कार्यक्रम सञ्चालन प्रतिष्ठानका सदस्य सचिव ज्ञानेन्द्र पुनले गरेका थिए।










Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top