भक्तपुर । संस्कृति, शिक्षा र सभ्यताको त्रिवेणीका रूपमा परिचित विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले आफ्नो सामाजिक तथा सांस्कृतिक उत्तरदायित्व वहन गर्दै परम्परागत ‘घिन्ताङ घिसी’ नृत्य भव्य रूपमा प्रदर्शन गरेको छ ।
साउन ३० शुक्रबार विद्यालय प्राङ्गणबाट सुरु भएको यो सांस्कृतिक र्याली भुलाङ्खेल, चोडे, निगूपखु, बालकुमारी, दिगुटोल, चपाचो, नासनानी, बाहखा बजार, पार्टीबिहार, गुङ्गचिवा हुँदै पुनः विद्यालय परिसरमै पुगे समापन भएको हो । ‘हाम्रो संस्कृति ः हाम्रो सम्पत्ति, पुर्खाको पौरख ः हाम्रो गौरव’ भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रमले विद्यार्थीहरूमा सांस्कृतिक पहिचानप्रति चेतना र समर्पणको भावना विकास गर्ने उद्देश्य बोकेको थियो ।
विनायक इन्टरेक्ट क्लब र विनायक सांस्कृतिक समूहको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा कक्षा ५ देखि १० सम्मका विभिन्न जातजाति र भाषाभाषीका २५० भन्दा बढी विद्यार्थी तथा शिक्षकहरू नेवारी सांस्कृतिक पहिरनमा सजिएर नृत्यमा सहभागी भएका थिए । बाजा–गाजासहितको जुलुसलाई स्थानीयवासीहरूले उत्साहपूर्वक अवलोकन गरेका थिए ।
विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाका अनुसार, विद्यालयले स्थानीय पाठ्यक्रम र समुदायसँगको समन्वयमा संस्कृतिप्रति विद्यार्थीसँग सरोकार राख्ने कार्यक्रमहरू निरन्तर गर्दै आएको छ । कार्यक्रमको उद्घाटन तथा समापन सत्रमा बोल्दै विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले विद्यालय स्थापना कालदेखि नै समावेशी संस्कृतिको संरक्षण र प्रवद्र्धनमा जोड दिइँदै आएको उल्लेख गर्दै विद्यार्थीहरूलाई संस्कृतिकर्मीको रूपमा समेत विकास गर्नुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रमका सहभागीहरूलाई बालकुमारीस्थित प्रिज्म सहकारी र चपाचोस्थित थिमी स्वावलम्बन सहकारीले पिउने पानी वितरण गरेका थिए । सांस्कृतिक कार्यक्रम विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक शिवहरी प्रजापति, नृत्य शिक्षक बालमुकुन्द प्रजापति, बाद्यवादन तथा गणित शिक्षक नरेन्द्र प्रजापति, र विनायक इन्टरेक्ट क्लब संयोजक एवं प्राइमरी इन्चार्ज रुकेश प्रजापतिको समन्वयमा सम्पन्न भएको हो ।
स्थानीय तहमा संस्कृतिप्रति चेतना अभिवृद्धि गर्ने र संरक्षणलाई प्रवद्र्धन गर्ने विद्यालयको यो प्रयासले थिमिको सांस्कृतिक पहिचान थप सुदृढ बनाएको स्थानीयवासीहरूको भनाइ छ ।