काठमाडौं । अछामका साहित्यकार कण्ठराज गिरीद्वारा लिखित ‘रसरङ्गको सौगात’ नामक पुस्तक शुक्रबार एक विशेष समारोहबीच काठमाडौंमा सार्वजनिक गरिएको छ। नेपाल लाइब्रेरी फाउन्डेसन नेपाल जडिबुटीको सभाकक्षमा आयोजित लोकार्पण कार्यक्रम अक्षरधाम प्रकाशनको आयोजनामा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य डा. मधुसूदन गिरीले पुस्तकमा कर्णाली सभ्यता, लोकसाहित्य र देउडाको सांस्कृतिक पक्षमा आधारित गहन विश्लेषण गरिएको उल्लेख गरे। उनले न्याउला प्रथामार्फत महिलाहरूको पीडादायी अभिव्यक्तिमा प्रयोग भएका रस, अलंकार, बिम्ब र प्रतीकहरूको विश्लेषण पुस्तकको विशेषता रहेको धारणा राखे।
पुस्तकका लेखक कण्ठराज गिरीले देउडा नाचको उत्पत्ति, विशेषगरी पश्चिम नेपालका महिलाहरूको पीडामा आधारित न्याउली प्रथाको सांस्कृतिक महत्वलाई अनुसन्धानात्मक शैलीमा प्रस्तुत गरिएको जानकारी दिए। उनका अनुसार पुस्तकमा अलिखित, मौलिक र संकलित शब्दहरूको प्रयोगमार्फत साहित्यिक सौन्दर्य प्रस्तुत गरिएको छ।
सो अवसरमा नेपाल राष्ट्र बैंकका पूर्व उपनिर्देशक नरबहादुर थापाले सामाजिक कुरीति अन्त्य गर्न साहित्य र संस्कृतिले खेल्न सक्ने सकारात्मक भूमिकाको चर्चा गरे।
नेपाल लाइब्रेरी फाउन्डेसन नेपालका अध्यक्ष तथा कार्यक्रमका सभापति डा. छायादत्त न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रृङ्खला का सम्पादक प्रवीणराज जोशी, साहित्यकार शिवराज जैसी, टीकापुर नगरपालिकाका पूर्व प्रमुख तपेन्द्र बहादुर रावल, खडक बहादुर बिष्टलगायतले पुस्तकको समालोचना गर्दै शुभकामना व्यक्त गरेको थियो।
साहित्य र संस्कृति केन्द्रित यस कृति ‘रसरङ्गको सौगात’लाई नेपाली लोकजीवन, विशेषतः कर्णाली क्षेत्रको सांस्कृतिक पहिचानसँग गहिरो सम्बन्धित महत्वपूर्ण दस्तावेजको रूपमा लिइएको छ। उक्त कार्यक्रममा स्वागत मन्तव्य नेलाफाका महासचिव धनकुमार श्रेष्ठले र देवराज सिम्खडाले सञ्चालन गरेका थिए।