मध्यपुरथिमि । उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३१ औं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। शुक्रबार सम्पन्न सभामा संस्थापक अध्यक्ष कृष्णबहादुर घःजुको प्रमुख आतिथ्य तथा अध्यक्ष जयकृष्ण दुवालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
सभामा संस्थापक अध्यक्ष घःजुले उपकार साकोस स्थापनाकालदेखि नै आर्थिक, सामाजिक र साँस्कृतिक उन्नतिमा समर्पित रहँदै आएको उल्लेख गर्दै “जन्मदेखि मृत्युसम्म, उपकार बचत घरघरमा” भन्ने नारासहित संस्था समुदायको सुखदुःखमा साथ दिँदै अगाडि बढिरहेको बताउनुभयो।
सहकारीमा देखिएको विचलनप्रति गम्भीर चिन्ता
सहकारी क्षेत्रको हालको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष घःजुले केही वर्षयता स्वार्थपूर्तिमा लिप्त केही तत्वहरू सहकारी क्षेत्रमा प्रवेश गरी सहकारी ऐन, नियम, मूल्य र मान्यतामाथि नै आघात पुर्याएको आरोप लगाउनुभयो। उहाँले यस्ता व्यक्तिहरूले सदस्यहरूको बचतलाई व्यक्तिगत सम्पत्ति बनाउन खोजेको भन्दै कडा आलोचना गर्नुभयो।
त्यस्तै, वर्तमान सहकारी संकटप्रति प्रकाश पार्दै अध्यक्ष जयकृष्ण दुवालले ऋण असुलीमा देखिएको समस्या, अत्यधिक तरलता वृद्धि र सरकारको कमजोर नियमनका कारण सहकारी संस्थाहरू थप संकटमा परेको बताउनुभयो। उहाँले सहकारीहरूलाई उत्साहित गर्नेभन्दा पनि अनुशासनात्मक निर्देशन मात्र दिइने प्रवृत्तिले स्वस्थ सहकारी प्रणालीलाई असर पुर्याइरहेको टिप्पणी गर्नुभयो।
५ हजार २ सयभन्दा बढी सदस्य, १ अर्ब १० करोड बचत संकलन
संस्थाका कोषाध्यक्ष रबि घःजुले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै हालसम्म संस्थामा ५,२३३ जना शेयर सदस्य (२,७६७ महिला र २,४६६ पुरुष) रहेको जानकारी दिनुभयो। उहाँका अनुसार आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा संस्थाले ८ करोड ८४ लाख ७२ हजार २ सय रुपैयाँ बराबरको शेयर पुँजी संकलन गरेको छ।
त्यसैगरी, विभिन्न शिर्षकमा कूल १ अर्ब १० करोड २२ लाख ४८ हजार ९ सय २ रुपैयाँ बचत संकलन गरिँदा सोही अवधिमा ६० करोड ९७ लाख रुपैयाँभन्दा बढी ऋण लगानी गरिएको छ। संस्थाले सो आर्थिक वर्षमा १ करोड ७५ लाख २८ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ भने कुल सम्पत्ति, दायित्व वासलात १ अर्ब ३१ करोड ६० लाख रुपैयाँ पुगेको छ।
सदस्यहरूको बचत सुरक्षित रहेको दावी
कार्यक्रममा उपाध्यक्ष बाबुकाजी छुजुले स्वागत मन्तव्य दिँदै वर्तमान चुनौतीबीच पनि संस्थाले सदस्यहरूको बचत सुरक्षित रूपमा व्यवस्थापन गरिरहेको दावी गर्नुभयो। संस्थाका सचिव तुल्सिकृष्ण छुँजु, लेखा सुपरिवेक्षण समितिका संयोजक कान्छाभक्त घःजु लगायत वक्ताहरूले मुलुकमा देखा परेका सहकारी संकटका कारण र समाधानका उपायबारे धारणा राख्नुभएको थियो।
उक्त साधारण सभाले सहकारी क्षेत्रको सुदृढीकरण, सदस्यहित केन्द्रित सेवा विस्तार र उत्तरदायी सहकारी सञ्चालनमा प्रतिबद्धता व्यक्त गर्दै सम्पन्न भएको थियो।