अमेरिका । नेपाली उद्यमीहरूको अन्तर्राष्ट्रिय सञ्जाल फेडरेशन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (फिन्ये) अमेरिकाको वार्षिक साधारण सभा तथा उद्यमी सम्मेलन टेक्सास राज्यको डलासमा भव्यतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा अमेरिका भरिका करिब २०० जना नेपाली उद्यमीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन एक विशेष शैलीमा गरिएको थियो, जहाँ आठ वर्षीया बालिका अन्या श्रेष्ठले प्रमुख अतिथिको रूपमा बिरुवामा पानी हालेर सम्मेलनको औपचारिक सुरुआत गरिन्।
समारोहमा नेपाल तथा अन्तर्राष्ट्रिय क्षेत्रका विशिष्ट वक्ताहरूले उद्यमशीलता तथा प्रविधिका विविध पक्षमा आफ्ना अनुभवहरू साटासाट गरेका थिए। नेपालबाट ‘खल्ती’ डिजिटल वालेटका संस्थापक अमित अग्रवाल र नेपाल राष्ट्र बैंकका निर्देशक प्रल्हाद गिरी विशेष अतिथिका रूपमा सहभागी थिए। त्यसैगरी, अन्तर्राष्ट्रिय वक्ता रायन म्यानली, फिन्ये आईईसीका उपाध्यक्ष प्रकाश थापा, र प्रबुद्ध दाहालले पनि विचार प्रस्तुत गरे।
कार्यक्रम अन्तर्गत सजन गौतमको सहजीकरणमा आयोजित प्यानल छलफलमा सतीश गैरे, सुनिल साह, सुमन थापा, अनु तामाङ र प्रल्हाद गिरीले उद्यमशीलता र आर्थिक वृद्धिका विविध आयाममा प्रकाश पारे।
साधारण सभाले आगामी कार्यकाल (२०२५–२०२७) का लागि फिन्ये अमेरिका च्याप्टरको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। समितिको अध्यक्षमा सविन्द्र थापा चयन भएका छन्। यस्तै, वरिष्ठ उपाध्यक्षमा नारायण खकुरेल, उपाध्यक्षहरूमा राज प्रकाश भण्डारी र राम हरि थापा रहेका छन्। महासचिवमा अनु तामाङ, सचिवमा सोनी थापा र कोषाध्यक्षमा श्रद्धा थाकुरी चयन भएका छन्।
कार्यसमितिका सदस्यहरूमा अनिता गुरुङ, दीपक खरेल, चानी लामा, चक्रपाणि अधिकारी, नवराज आचार्य, रविन कार्की, सुनिल गौतम र रेश्मा ताम्राकार रहेका छन्। साथै, सञ्चार संयोजक तथा प्रवक्ताको जिम्मेवारी यूएस खबरका अध्यक्ष तथा प्रधान सम्पादक ओम आचार्यलाई दिइएको छ।
सम्मेलनले उत्तर अमेरिकामा रहेका नेपाली उद्यमीहरूबीच सञ्जाल विस्तार गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।