दिब्यश्वरी साकोसको १८औं वार्षिक साधारण सभा सम्पन्न

0



मध्यपुर थिमि । दिब्यश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, लौहकिल्थलीको १८औं वार्षिक साधारण सभा विशेष समारोहका साथ सम्पन्न भएको छ । संस्थाका संस्थापक अध्यक्ष हरिलाल कुटुको प्रमुख आतिथ्यमा सम्पन्न सभाको उद्घाटन सत्रमा उनले सहकारीको प्रारम्भकालदेखि नै सदस्यकेन्द्रित व्यवस्थापनलाई प्राथमिकता दिइएको उल्लेख गर्दै वर्तमान चुनौतीपूर्ण सहकारी वातावरणमा पनि समयानुकूल सदस्यमैत्री अभियानलाई अझ सशक्त रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।

सभाको अध्यक्षता संस्थाका वर्तमान अध्यक्ष तीर्थलाल कुटुले गरेको थियो । उनले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्था सहकारी मूल्य, मान्यता र सिद्धान्तहरूमा आधारित रही स्थानीय समुदायमा छरिएर रहेका स–साना पुँजीलाई संकलन गरी उत्पादनशील क्षेत्रमा लगानी गर्दै सदस्यहरूको आर्थिक हितमा क्रियाशील रहँदै आएको जानकारी दिए । उनले संस्था विगत १८ वर्षको अवधिमा सुरक्षित, प्रविधिमैत्री र भरपर्दो सहकारीका रूपमा स्थापित भएको दावी गरे ।

संस्थाका कोषाध्यक्ष जगतकृष्ण प्रजापतिले आर्थिक वर्ष २०८१÷८२ को वित्तीय विवरण प्रस्तुत गर्दै हाल संस्थामा २०६ जना शेयर सदस्य रहेको र ती सदस्यबाट २ करोड ५० लाख २१ हजार २ सय रुपैयाँ बराबरको शेयर पुँजी संकलन भएको जानकारी दिए । त्यसैगरी सो अवधिमा विभिन्न शीर्षकका बचत खाताबाट १८ करोड ८५ लाख २६ हजार २ सय ५२ रुपैयाँ संकलन भएको र १४ करोड ४२ लाख २८ हजार २ सय ९९ रुपैयाँ बराबरको ऋण लगानी गरिएको जानकारी दिए ।

साथै संस्था १२ लाख २९ हजार ९ सय ६३ रुपैयाँ सञ्चालन नाफामा रहेको र कुल सम्पत्ति २३ करोड ८९ लाख १८ हजार ४ सय ७८ रुपैयाँ पुगेको जानकारी दिए । संस्थाको जगेडा तथा अन्य कोषमा १ करोड २४ लाख १८ हजार २ सय ३५ रुपैयाँ सञ्चित रहेको पनि कोषाध्यक्ष प्रजापतिले प्रतिवेदन मार्फत जानकारी दिए ।

सभामा संस्थाका सचिव अमृतप्रसाद श्रेष्ठले सामाजिक गतिविधिसहितको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेको थियो । साथै लेखा समिति संयोजक जितबहादुर थापा, ऋण उपसमिति सदस्य सुरेशकुमार था श्रेष्ठलगायतले सहकारीको हालको अवस्था, चुनौती र आगामी योजनासम्बन्धी विचार राखेको थियो ।

सभामा जेष्ठ महिला सदस्य नजरीमाया कुटु र जेष्ठ पुरुष सदस्य न्हुछेलाल द्वारेलाई नगद, मायाको चिनो र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । त्यस्तै, उत्कृष्ट बचतकर्ता रिता प्रजापति र उत्कृष्ट ऋणी कुशल कुटुलाई पनि विशेष सम्मान गरिएको थियो ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top