मध्यपुर थिमि । सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मध्यपुर थिमिको १६औं वार्षिक साधारण सभा शनिवार, असोज ११ गते संस्थाका अध्यक्ष राजेश श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको छ ।
कार्यक्रममा अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले वित्तीय कारोबारसँगै सामाजिक उत्तरदायित्व निर्वाहमा पनि सक्रिय भूमिका खेलेको जानकारी दिर्दै उनले संस्थालाई स्मार्ट सदस्यहरू सहितको उत्कृष्ट सहकारीमा रूपान्तरण गर्ने लक्ष्यसाथ नीति, विधि र प्रविधिमा आधारित वित्तीय सेवा विस्तार भइरहेको जानकारी दिए ।
साधारण सभामा संस्थाका कोषाध्यक्ष हिरामान शंखदेवले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै चालू आवको अन्त्यसम्ममा संस्थामा १,६३४ जना शेयर सदस्यबाट ३ करोड ७७ लाख ८३ हजार २ सय रुपैयाँ बराबरको शेयर पुँजी संकलन गरिएको जानकारी दिए । साथै सोही अवधिमा ३७ करोड १३ लाख ७९ हजार २ सय २९ रुपैयाँ बचत संकलन र २२ करोड २५ लाख ८४ हजार ३ सय ३१ रुपैयाँ ऋण लगानी गरिएको र संस्थाले कर पूर्व ९ लाख ६५ हजार ८ सय १२ रुपैयाँ नाफा आर्जन गर्न सफल रहेको जानकारी दिर्दैे कुल सम्पत्ति ४२ करोड ५० लाख २९ हजार ७ सय ८७ रुपैयाँ पुगेको बताए ।
सभामा सचिव सोहन कायस्थले सामाजिक क्रियाकलापहरूसहितको प्रगति प्रतिवेदन प्रस्तुत गरेको थियो । साथै, राष्ट्रिय सहकारी महासंघका सञ्चालक सुमन नेपालले सहकारी शिक्षामूलक मन्तव्य व्यक्त गरेको थियो । कार्यक्रममा उपाध्यक्ष इन्द्रकृष्ण श्रेष्ठ, लेखा सुपरिवेक्षण समितिका संयोजक तुलसीभक्त श्रेष्ठ लगायतले सहकारीको भूमिका र महत्वबारे आफ्ना विचार राखेको थियो ।
कार्यक्रमको उद्घाटन संस्थाका जेष्ठ नागरिक सदस्य धर्मबहादुर श्रेष्ठले गरेको थियो । सभामा उत्कृष्ट बचतकर्ता रोहिणी श्रेष्ठ, उत्कृष्ट ऋणी भाईराजा कार्की र उत्कृष्ट कारोबारी नरेश बज्राचार्यलाई सम्मान गरिएको थियो । साथै, साँस्कृतिक सम्मान अन्तर्गत लायकु भैलःका गुरुहरुका साथमा कलाकारहरुलाई संस्थाका संस्थापक अध्यक्ष लक्ष्मीभक्त लाखेको स्मुतिमा स्थापित अक्षयकोषबाट नगद रु. १० हजार रुपैयाँ सहित सांस्कृतिक सम्मान प्रदान गरिएको थियो ।