काठमाडौं । गत भदौ २४ गते ‘जेनजी आन्दोलन’ का क्रममा विभिन्न दलका शीर्ष नेताहरूका घरमा भएको तोडफोड र आगजनीपछि सम्पत्ति शुद्धीकरण विभागले ती घरहरूमा भेटिएका जलेका नोट र बहुमूल्य सम्पत्तिको अनुसन्धानलाई तीव्र बनाएको छ ।
विभागको टोलीले सोमबार भक्तपुरस्थित नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासमा पुगेर प्रमाण संकलन गरेको छ । त्यहाँबाट जलेका नोटका टुक्रा र अन्य सामग्री संकलन गरी टोली त्यसपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ को ललितपुरको खुमलटारस्थित निवासतर्फ लागेको विभाग स्रोतले जानकारी दिएको छ ।
यसअघि आइतबार विभागले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता पूर्णबहादुर खड्काको निवासमा पुगेर अनुसन्धान गरेको थियो । ती घरहरूबाट पनि जलेका नोटका टुक्रा र खरानी संकलन गरिएको छ । घटनाको अनुसन्धान क्रमशः अन्य दलका नेताहरूका घरसम्म विस्तार गरिँदै जाने स्रोतले जनाएको छ ।
घटनामा नेताहरूका घरमा राखिएको नगद, सुन, चाँदीजस्ता बहुमूल्य धातु जलेको आशंका गरिएको छ । आगजनीपछि केही स्थानमा स्थानीयले खरानी खनालेर सुन खोजेको भिडियोसमेत सार्वजनिक भएको थियो । यस्तै सामाजिक सञ्जालमा घरभित्र जलेको अवस्थामा भेटिएका नेपाली तथा विदेशी मुद्राका नोटका भिडियो र तस्बिरहरू व्यापक रुपमा भाइरल भएका थिए । सम्पत्ति शुद्धीकरण विभागले ती दृश्यहरूको फरेन्सिक परीक्षण गर्ने तयारीसमेत गरिरहेको जनाएको छ । विभागले संकलन गरेको खरानी र नोटका टुक्राहरूको स्क्रिनिङपछि यदि ती सक्कली नोट ठहरिए भने सो सम्पत्तिको स्रोतबारे विस्तृत छानबिन गरिने बताइएको छ ।
राजस्व अनुसन्धान विभाग पनि उक्त घटनासँग सम्बन्धित नोटहरूको अनुसन्धानमा संलग्न रहेको छ । विभागका अनुसार जलेका नोटहरू अवैध सम्पत्तिको संकेत हुन सक्ने भएकाले सम्पत्ति शुद्धीकरण ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ ।
प्रदर्शनकारीहरूले केही नेताका घरमा जलेका नोटहरू फेला पारेको, केही सग्ला नोट भने आफैंसहित लगेको भन्ने दाबी विभिन्न तस्बिर र भिडियोमा देखिएको छ । घटनास्थलको प्रत्यक्ष अवलोकनपछि विभागले थप अनुसन्धान अघि बढाउने तयारी गरेको छ ।
सम्बन्धित निकायहरूले घटनाको प्रकृति हेर्दै निष्कर्षमा पुग्न अझै केही समय लाग्ने जनाएका छन् । यद्यपि, प्रारम्भिक तथ्यहरूले नेताहरूको घरमा नगद संचित गरिएको देखिएको संकेत दिएको छ ।