भक्तपुरमा नवदुर्गा देवगणको १३ वटा नयाँ ‘ख्वापा’ तयार

0


भक्तपुर । भक्तपुरको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको तान्त्रिक नाच नवदुर्गा देवगणका लागि आवश्यक पर्ने १३ वटा ‘ख्वापा’ (मुकुण्डो) यस वर्षकाे लागि तयार भएका छन् । भक्तपुर याछेंका ८० वर्षीय वरिष्ठ चित्रकार पूर्ण चित्रकारले तीन महिनाको कठिन परिश्रमपछि ख्वापा निर्माण गरेका हुन् । नवदुर्गा देवगणकाे मुकुन्दाे हरेक वर्ष नयाँ  निर्माण गर्नुपर्ने परम्परा रहेकाे छ ।

ख्वापा निर्माण कार्य घण्टाकर्ण चतुर्दशीको दिन शुभारम्भ हुने परम्परा रहेको छ । महानवमीको साँझ तयार ख्वापाहरू सार्वजनिक रूपमा प्रदर्शन गरिन्छ, र त्यसपछि वनमाला समूहले विधिपूर्वक ग्रहण गरी नवदुर्गा नाचको तयारी थाल्ने परम्परा रहिआएको छ ।

चित्रकारका अनुसार, ख्वापा निर्माण अत्यन्तै जटिल र समयसापेक्ष प्रक्रिया हो । यसमा ‘बोचा’ नामक विशेष माटो प्रयोग गरिन्छ, जसलाई सुकाएर, कुटेर, मैदा र पानीको माडमा मुछिन्छ । त्यसपछि नेपाली कागज र कपासको प्रयोग गरी ख्वापालाई आकृति दिइन्छ । ख्वापाहरू घाममा होइन, केवल हावामा सुकाइनु पर्ने भएकाले एक मुकुण्डो सुकाउन झन्डै दुई हप्ता लाग्ने चित्रकारको भनाइ छ ।

नवदुर्गा नाच न केवल धार्मिक, सांस्कृतिक र तान्त्रिक दृष्टिले महत्वपूर्ण छ, यो भक्तपुरको मोहनी नखः पर्वसँग पनि गहिरो रूपमा गाँसिएको छ । संस्कृतिविद्हरूको विश्वास अनुसार, विजयादशमीका दिन नवदुर्गा देवगणले सिद्धि प्राप्त नगरे भक्तपुर र काठमाडौं उपत्यकाको सांस्कृतिक चक्र नै प्रभावित हुन सक्छ ।

चित्रकार पूर्णले उल्लेख गरेअनुसार, तान्त्रिक परम्परा अनुसार ख्वापा निर्माणको केही चरण सर्वसाधारणका लागि गोप्य रहनुपर्ने मानिन्छ । ख्वापा निर्माणको विशेष सीप उनलाई उनका काका विष्णुबहादुर चित्रकारले गोप्य रूपमा सिकाएका थिए । तर, जात्रा निरन्तरता संकटमा नपरोस् भन्ने सोचका साथ उनले केही विधि भने खुला गर्दै गएका छन् ।

यस वर्ष ख्वापा निर्माणमा करिब रु तीन लाख खर्च भएको छ । सबैभन्दा बढी खर्च कालिगढको ज्याला र रङरोगनमा भएको हो । ख्वापा निर्माणका लागि पहिले गुठी संस्थानबाट वार्षिक रु ६०४ मात्र सहयोग मिल्थ्यो भने हाल त्यो रकम बढेर रु १५ हजार पुगेको छ । यद्यपि, संस्कृति मन्त्रालयबाट प्राप्त हुने वार्षिक रु ५० हजार यस वर्ष प्राप्त नभएको चित्रकारले जानकारी दिए ।

नवदुर्गा परम्पराको संरक्षण तथा ख्वापा निर्माण खर्च धान्न हाल रु ३० लाखको अक्षयकोष समेत स्थापना गरिएको छ, जसमा आफन्त तथा शुभेच्छुकहरूको सहयोग संकलन भइरहेको छ ।

इतिहासविद् एवं संस्कृतिविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार, नवदुर्गा नाच मल्लकालीन संयुक्त परिवार व्यवस्थाको सांस्कृतिक रूप हो । यसले नेवार समुदायमा घरमुली (नंकी) को दायित्व र महत्वलाई उजागर गर्ने उद्देश्य बोकेको छ । नवदुर्गा देवगणको समूहमा बाजागाजासहित १९ जना सहभागी हुन्छन्, जसमा १३ जना देवी–देवताका ख्वापा लगाएर नृत्य प्रदर्शन गर्छन् । ती देवगणहरूमा भैरव, महाकाली, बाराही, ब्रम्हायणी, महेश्वरी, कुमारी, वैष्णवी, इन्द्रायणी, गणेश, महादेव, श्वेतभैरव र सिम्हदुम्ह (नन्दीभृङ्गी) रहेका छन् । साथै, नाचमा सिफोद्यः (महालक्ष्मीको प्रतीक) भनिने काठको सानो मन्दिरको प्रयोग समेत गरिन्छ ।

नवदुर्गा नाच मात्र होइन, यसको प्रत्येक पाटो—ख्वापा निर्माणदेखि नाच प्रदर्शनसम्म—नेवार समुदायको सांस्कृतिक गहिराइ र तान्त्रिक विधि अनुरूप संरक्षित परम्पराको उदाहरण हो ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top