न्ह्यज्या खलःको ६४औं स्थापना दिवस सम्पन्न, कविता संग्रह ‘मुक्तिको लागि’ विमोचन

0

भक्तपुर । भक्तपुरकै अग्रणी सामाजिक संस्था न्ह्यज्या खलः थिमिले आफ्नो ६४औं स्थापना दिवसका अवसरमा विशेष साहित्यिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ। बडादशैंको घटस्थापनाको दिन पारेर थिमिको यचु पार्टी भेन्यूमा सम्पन्न कार्यक्रममा साहित्य, संगीत र मातृभाषा प्रवर्द्धनमा योगदान पु‍र्‍याउने स्रष्टाहरूको उल्लेख्य सहभागिता रह्यो।

कार्यक्रममा साहित्यकार कृष्णमोहन जोशीको कविता संग्रह ‘मुक्तिको लागि’ को औपचारिक विमोचन गरिएको थियो। पञ्चायती शासनकालका विरोधमा चलेको चेतना अभियानको सन्दर्भमा लेखिएका कविता समावेश गरिएको यो संग्रह जोशीले दुई दशकभन्दा बढी समयसम्म संकलन गरेका थिए।

वि.सं. २०१८ सालमा स्थापित न्ह्यज्या खलः, भक्तपुरकै जेठो सामाजिक संस्था मानिन्छ। स्थापना कालदेखि नै संस्था भाषा, साहित्य, शिक्षा, सामाजिक र राजनीतिक चेतना अभिवृद्धिमा सक्रिय रहँदै आएको छ। विशेषतः थिमी क्षेत्रका नागरिकलाई लक्षित गर्दै शैक्षिक जागरण र सामाजिक उत्तरदायित्व वहन गर्दै आएको यस संस्थाले क्षेत्रीय विकासमा समेत महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

स्थापनाकालमा संस्था गठन गर्न अग्रसर हुनेमध्ये बैकुण्ठ हरि साहु श्रेष्ठ प्रमुख परिकल्पनाकार थिए। हाल न्ह्यज्या खलःसँगै विराट नेपालभाषा साहित्य सम्मेलन गुथि र नेपालभाषा साहित्य तःमुँज्या जस्ता अन्य संस्था पनि भाषा र साहित्यको प्रवर्द्धनमा क्रियाशील छन्। तीमध्ये विराट गुथि न्ह्यज्या खलःभन्दा केही दिन कान्छो र तःमुँज्या करिब १९ वर्ष पछाडि स्थापना भएको हो।

स्थापना दिवसको कार्यक्रममा नेपालभाषा एकेडेमीका भाइस चान्सलर डा. पुष्पराज राजकर्णिकार, साहित्यकारहरू डा. योगेन्द्र प्रधान, डा. जगदीश भण्डारी, मातृका पोखरेल, विराट नेपालभाषा साहित्य सम्मेलन गुठीका अध्यक्ष महेन्द्रगोपाल कर्माचार्य, तथा शहीद बैकुण्ठ हरि स्मृति प्रतिष्ठानका अध्यक्ष श्यामकृष्ण श्रेष्ठ लगायत थुप्रै साहित्यकार, संगीतकर्मी, पत्रकार तथा स्थानिय बासिन्दाहरूको उल्लेख्य उपस्थिति थियो।

कार्यक्रमको सञ्चालन जगत बहादुर श्रेष्ठले गरेको थियो भने सभापतित्व दामोदर श्रेष्ठले गरेको थियो। यस वर्षको कार्यक्रम २०८२ असोज ६ गते, नेपाल संवत् ११४५ कौलाथ्व पारु सोमबार सम्पन्न गरिएको हो।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top