ललितपुर । ललितपुर महानगरपालिका–१६ वडा कार्यालयले यस वर्षको परम्परागत अष्टमातृका नाच सञ्चालनका लागि ४ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। साथमा, वडा कार्यालयले १ सय थान टिसर्ट पनि उपलब्ध गराएको वडाध्यक्ष निर्मलरत्न शाक्यले जानकारी दिए।
प्रत्येक वर्ष घटस्थापनादेखि एकादशीसम्म आयोजना हुने अष्टमातृका नाच स्थानीय नकबहीलबाट शुरू भई पाटन दरबार क्षेत्रको मुलचोकमा समापन हुने परम्परा छ। नाचमा विभिन्न १३ देवीदेवताहरूका मखुण्डो र तदनुसारको भेषभूषा, गरगहना प्रयोग गरी मण्डलकार बनाइन्छ र तान्त्रिक विधिअनुसार नृत्य प्रस्तुत गरिन्छ।
नाच शुरूको चार दिन नकबहीलमा प्रदर्शनपछि, बाँकी पाँच दिन कात्तिक डबलीमा राति प्रदर्शन गरिन्छ। फूलपाती र विजयादशमीको दिन मूलचोकमा दिउँसो नाच देखाइन्छ भने अन्तिम दिन एकादशीका दिन नकबही डबलीमा समापन गरिन्छ।
यस नाचको समुचित व्यवस्थापनका लागि अष्टमातृका नाच प्रबन्ध समितिले थप बजेट आवश्यक रहेको भन्दै वडा कार्यालयमा अनुरोध गरेको थियो। उक्त अनुरोधअनुसार सहयोग गरिएको वडाध्यक्ष शाक्यले बताए।
यसैबीच, ललितपुर महानगरपालिका संस्कृति, पर्यटन तथा उद्योग समितिले पनि अष्टमातृका नाचको लागि ६ लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ। नाचको निरन्तरता र व्यवस्थापन सुनिश्चित गर्न समितिले श्रद्धालु दाताहरूलाई पनि सहयोगको लागि आग्रह गर्दै आएको छ।