भक्तपुर। “आँटे के हुँदैन” भन्ने भनाइलाई व्यवहारिक रूपमा साकार पार्दै भक्तपुरकी प्रिता वल्लले असाधारण उपलब्धि हासिल गरेकी छिन्। शारीरिक अपांगता भए पनि उनले हिम्मत नहार्दै मानविकी संकायबाट स्नातक तह उत्तीर्ण गर्दै सबैका लागि प्रेरणाको स्रोत बनेकी छिन्।
भक्तपुर नगरपालिका–३ तेखापुखूकी ३७ वर्षीया प्रिता मस्तिष्क पक्षघात (Cerebral Palsy) का कारण पूर्ण रूपमा ह्विलचियरमा आश्रित छन्। उनको हातखुटा चल्दैन, लेख्न वा हिँडडुल गर्न सक्दिनन्। तर दृढ इच्छाशक्ति र परिवारको साथले उनले शिक्षा हासिल गर्न नसक्ने ठानिएको अवस्था तोड्न सफल भएकी हुन्।
ख्वप कलेज, देकोचा भक्तपुरबाट उनले यसै वर्ष स्नातक तह उत्तीर्ण गरेकी हुन्। कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठका अनुसार प्रिता ह्विलचियरमै बसेर पढाइमा सहभागी हुन्थिन्। “उनी कक्षामा ध्यानपूर्वक सुन्ने गर्थिन्। लेख्न नसक्ने भएकाले नोटबुक वा किताब लिएर आउँदिनथिन्। परीक्षामा भने दोभाषे अर्थात् लेखिदिने सहयोगीको माध्यमबाट उत्तर लेख्थिन्,” प्राचार्य श्रेष्ठले बताए।
प्रिताको संघर्षमय जीवन बाल्यकालदेखि नै सुरु भएको थियो। उनका पिता पवनकुमारका अनुसार सन् १९९१ (वि.सं. २०४८) असार ३१ गते जन्मिएकी प्रिता दस वर्षसम्म हिँडडुल गर्न नसक्ने अवस्थामा थिइन्। केही समयपछि बांगोबांगो गरी हिँड्न थालेकी थिइन्, तर पछि पूर्ण रूपमा अशक्त भइन्।
अपांगता हुँदाहुँदै पनि उनले अध्ययनप्रति अटुट लगाव देखाइन्। उनले २०५२ सालमा सुस्त मनस्थिति कल्याण संस्थाको सहयोगमा भक्तपुर स्काउटबाट अध्ययन सुरु गरिन्। त्यसपछि समुदायमा आधारित पुनःस्थापना केन्द्र (CBR) अन्तर्गतको इन्द्रायणी बहुअपांगता विशेष विद्यालयमा नौ वर्ष अध्ययन गरिन्। एभरेस्ट इङ्लिश स्कुल मिवाछे, शान्ति निकेतन मावि र शारदा उच्च माविमा अध्ययन गर्दै उनले क्रमशः एसईई र +२ तह उत्तीर्ण गरेकी थिइन्।
प्रिताकी आमाः रामेश्वरीका अनुसार प्रिताले अहिले मोबाइल प्रयोग गरेर आफ्नै खुट्टाको सहाराले नेपालीमा टाइप गर्न सिकेकी छन्। उनले हालसम्म २४२ पृष्ठको पुस्तक लेखी प्रकाशन समेत गरेकी छन्। बोली स्पष्ट नहुने भएकाले अरुका लागि बुझ्न गाह्रो पर्छ, तर परिवारले सजिलै बुझ्ने गर्छ।
अब प्रिता स्नातकोत्तर तह (एमए) अध्ययनका लागि भक्तपुर बहुमुखी क्याम्पस, दूधपाटीमा भर्ना हुने तयारीमा छिन्। साथै उनले आफ्नो दोस्रो पुस्तक—कविता सङ्ग्रह—प्रकाशनको अन्तिम तयारी गरिरहेकी छिन्।
शारीरिक सीमालाई आत्मबलले जितेकी प्रिता वल्ल आज अनेकौं युवाका लागि प्रेरणाको स्रोत बनेकी छिन्। उनका शब्दहरूमा, “शरीरले साथ नदिए पनि मनले कहिल्यै हार मान्नु हुँदैन।”




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
