प्रम कार्कीद्वारा नेपाल लिपिमा गरिएको पोस्टलाई “बङ्गाली” भन्दै ट्रोल

0

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले नेपाल भाषामा गरिएको एक आधिकारिक पोस्टका कारण सामाजिक सञ्जालमा ट्रोलको शिकार हुनुपरेको छ । कार्य प्रगति विवरण सार्वजनिक गर्ने क्रममा प्रयोग गरिएको नेपाल भाषाको मौलिक नेपाल लिपि लाई केही प्रयोगकर्ताले ‘बङ्गाली भाषा’ भन्दै व्यंग्य गरेपछि विवाद उत्पन्न भएको हो ।

सरकारले कात्तिक १६ देखि २१ गतेसम्मका कार्य प्रगतिहरू क्रमशः अङ्ग्रेजी, नेपाली, मैथिली र नेपाल भाषामा प्रधानमन्त्रीको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गर्दै आएको थियो । नेपाल भाषाको पोस्ट दुई रूपमै गरिएको थियो—एक देवनागरी लिपिमा र अर्को नेपाल लिपि अर्थात् नेवा युनिकोडमा । यही मौलिक लिपिमा गरिएको पोस्टलाई चिन्दा नचिन्दै कतिपयले गलत व्याख्या गरेपछि प्रधानमन्त्रीमाथि नै सामाजिक सञ्जालमा ट्रोल सुरु भएको हो ।

फन्ट डिजाइनर तथा नेवा भाषाका अध्येता आनन्द महर्जनका अनुसार प्रधानमन्त्रीको पोस्टमा प्रयोग भएको लिपि नेपाल लिपि नै हो, जुन नेवाः समुदायको मौलिक लिपि हो र नवौँ शताब्दीदेखि प्रयोगमा रहेको छ । उनले भने, “यो लिपिको नाम नै नेपाल लिपि हो । जसरी हामी नेवारी भाषालाई नेपाल भाषा भन्छौँ, त्यसरी नै यसको लिपिलाई नेपाल लिपि भनिन्छ ।”

महर्जनका अनुसार उक्त पोस्टमा प्रयोग गरिएको फन्ट गुगलले सन् २०१८ मा सार्वजनिक गरेको ‘Noto Sans Newa’ हो, जसको निर्माण प्रक्रियामा उनी स्वयं संलग्न थिए । उनका अनुसार सन् २०१२ मा नेवा युनिकोडको प्रस्ताव पठाइएको थियो र सन् २०१६ मा यो युनिकोडको नवौँ भर्सनका रूपमा स्वीकृत भएको हो । त्यसपछि गुगलले ‘नोटो सन्स नेवा’ फन्ट उपलब्ध गराएसँगै मोबाइल र कम्प्युटरमा नेपाल लिपि प्रयोग सम्भव भएको थियो ।

महर्जनले समाजमा यो लिपि व्यापक रूपमा नचिनिएको र गुगल ट्रान्सलेटजस्ता उपकरणहरूले पनि यसलाई पहिचान गर्न नसक्ने भएकाले भ्रम फैलिएको बताए । उनका अनुसार सन् २०१८ पछि मोबाइलमा ‘नेपाल लिपि’मै च्याट गर्ने चलन सुरु भएको थियो, विशेष गरी एन्ड्रोइड ‘पाई’ भर्सनपछि ।

प्रधानमन्त्री स्तरबाट नेपाल लिपिमा आधिकारिक सामग्री सार्वजनिक हुनु ऐतिहासिक कदम भएको महर्जनले उल्लेख गरे । उनका शब्दमा, “नेपाल भाषाको मौलिक लिपि नै प्रयोग गरेर प्रधानमन्त्रीले कार्य प्रगति विवरण सार्वजनिक गर्नु पहिलोपटक हो । यसले भाषा र लिपि दुवैलाई सम्मानका साथ अघि सारेको संकेत गर्छ ।”


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top