विनायकमा युकेका आँखा विशेषज्ञहरूद्वारा दुई दिने आँखा स्वास्थ्य शिविर सम्पन्न

0



मध्यपुर थिमि । स्वस्थ शरीर, स्वच्छ दिमाग भन्ने मूल नारालाई आत्मसात गर्दै गुणस्तरीय शिक्षा र विद्यार्थीको सर्वाङ्गिण विकासमा निरन्तर अग्रसर विनायक शिक्षा निकेतन इङ्लिस सेकेन्डरी स्कुलले दुई दिने आँखा स्वास्थ्य शिविर भव्य रूपमा सम्पन्न गरेको छ । विद्यालयले शैक्षिक उत्कृष्टताका साथै विद्यार्थीको स्वास्थ्य र जीवनशैलीमा सुधार ल्याउने उद्देश्यले यस्ता स्वास्थ्य–सम्बन्धी कार्यक्रमलाई आफ्नो नियमित गतिविधिको हिस्सा बनाउँदै आएको छ ।

विद्यालय परिसरमै आयोजित शिविर कार्तिक १८ र १९ गते दुई दिनसम्म सञ्चालन गरिएको थियो । यस कार्यक्रम विद्यालयको विशेष पहलमा र बेलायत (यूके)बाट आएका स्वंयसेवक चिकित्सक डा. लुसीडा. एलिजाबेथको प्राविधिक तथा चिकित्सकीय सहयोगमा सम्पन्न गरिएको हो । विद्यालयका अनुसार, उनीहरूले विद्यार्थीहरूलाई आँखा परीक्षणका साथै आँखाको संरचना, स्वास्थ्य र हेरचाहका उपायहरूबारे व्यावहारिक जानकारीसमेत प्रदान गरेका थिए ।

शिविरमा विद्यार्थी, शिक्षक–शिक्षिका, विद्यालयका कर्मचारी र अभिभावक गरी करिब ६५० जनाको आँखा परीक्षण गरिएको थियो । सहभागीहरूलाई आवश्यक परामर्श, औषधि वितरण तथा दृष्टिदोष भएका विद्यार्थीहरूलाई चश्मा समेत वितरण गरिएको थियो । केही विद्यार्थीहरूमा आँखा सुख्खा हुने, दृष्टि धुम्मिने, एलर्जी र आँखाको असन्तुलनजस्ता समस्या फेला परेपछि उनीहरूलाई थप उपचारका लागि परामर्श पत्र प्रदान गरिएको थियो ।

विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिका अनुसार, पछिल्ला वर्षहरूमा मोबाइल फोन, ट्याब्लेट, ल्यापटप तथा अन्य डिजिटल उपकरणको अत्यधिक प्रयोगले विद्यार्थीहरूमा आँखासम्बन्धी समस्या तीव्र रूपमा बढिरहेको छ । उनले यस प्रवृत्तिले दीर्घकालीन रूपमा दृष्टि क्षति पु¥याउने सम्भावना रहेको उल्लेख गर्दै समयमै आँखाको परीक्षण र हेरचाह गर्न अभिभावकहरूलाई आग्रह गरे । उनले भने, “हामीले विद्यार्थीहरूलाई शिक्षामा मात्र होइन, स्वास्थ्य र जिम्मेवार जीवनशैलीमा पनि सचेत बनाउनुपर्छ, जसले उनीहरूको भविष्य सुरक्षित रहोस् ।”

शिविरमा सहभागी विद्यार्थीहरूले पनि कार्यक्रमबाट धेरै उपयोगी ज्ञान प्राप्त गरेको प्रतिक्रिया दिएका छन् । उनीहरूले आँखाको हेरचाहका बिषयमा पहिले थोरै जानकारी भए पनि अब नियमित परीक्षण र स्वस्थ अभ्यास गर्ने प्रतिबद्धता जनाएका छन् । शिविरमा विद्यालय प्रशासन, शिक्षक–शिक्षिका र अभिभावकबीच पनि स्वास्थ्यका विषयमा अन्तरक्रिया भएको थियो ।

विद्यालयले जनाएको छ कि यस्ता स्वास्थ्य शिविरहरूले विद्यार्थीहरूमा चेतना अभिवृद्धि गर्ने, स्वास्थ्यप्रति जिम्मेवार बनाउने र समुदायमा सकारात्मक सन्देश फैलाउने कार्य गर्छन् । विनायक शिक्षा निकेतनले आफ्नो सामाजिक दायित्व कार्यक्रम (Social Responsibility Program) अन्तर्गत विभिन्न स्वास्थ्य, सरसफाइ, वातावरण र समाजसेवामूलक क्रियाकलापहरू नियमित रूपमा सञ्चालन गर्दै आएको छ । विद्यालयले आगामी महिनाहरूमा दन्त स्वास्थ्य र मानसिक स्वास्थ्य सम्बन्धी शिविर पनि आयोजना गर्ने योजना बनाएको जनाएको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top