भक्तपुर । मध्यपुर थिमिको मरुटोेल स्थित पद्मपाणी लोकेश्वर अर्थात करुणामयको जात्रा सिथि नखःमा हुन्छ । तिथि अनुसार तछलाथ्व षष्ठी अर्थात सिथि नखःको बेलुका हरेक वर्ष थिमिको गार्चादेखि मरूटोलसम्म बाजागाजासहित जात्रा हुन्छ । अरूभन्दा पृथक देखिने यो जात्रालाई स्थानिय भाषामा ’लोकेश्वरलाई माइतबाट फर्काइएको’ भन्ने चलन छ । यसअघि प्रतिपदाको दिन मुर्तिलाई मन्दिरबाट निकालेर महास्नान गराई गार्चामा लगिने परम्परा छ ।
तत्कालीन नेपालमण्दलका विभिन्न ठाउँमा विराजमान भएका करूणामयलाई फरक नाउँबाट पुज्ने चलन छ । सोही बमोजिम काभ्रेको नालामा विराजमान भएकालाई सृष्टिकान्त लोकेश्वर, ललितपुरको बुंगमतीमा अवस्थित रक्तार्यावलोकितेश्वर वा रातो मच्छिन्द्रनाथ, काठमाडौंको जनबहालमा विराजमान भएकालाई आर्यावलोकितेश्वर वा अमोघपास लोकेश्वर वा सेतो मच्छिन्द्रनाथ, काठमाडौं दक्षिण भेग चोभारमा रहेको आदिनाथ वा आनन्दादी लोकेश्वर हुन् । ती बाहेक दोलखाको मच्छिन्द्रनाथलाई बुगदेउ र थिमिको करूणामयलाई पद्मपाणी लोकेश्वरको रूपमा पुज्ने चलन छ ।
दोलखा र थिमिमा गुरूजु (शाक्य र बज्राचार्य)हरूको बसाइँसराइसँगै करूणामय स्थापना गराइएको बताइन्छ । नेपाल संवत् ६८५ मा थिमिमा पद्मपाणी लोकेश्वर स्थापना गरिएको अभिलेख छ । पद्म कूलमा जन्मिएको हुनाले थिमिको करूणामयलाई पद्मपाणी लोकेश्वरको नाम दिइएको हो । सिथि नखःमा करूणामयको विशेष जात्रा हुनेभएकोले पद्मपाणी लोकेश्वरलाई सिथि द्यः अर्थात सिथि देवताको रूपमा पुज्छन् ।
जीवन निर्वाहको लागि न्यूनतम आवश्यकीय बस्तु पानी र अन्न उपलब्ध गराइदिने देवताको रूपमा पद्मपाणी लोकेश्वरलाई लिइन्छ । थिमिको पद्मपाणी र ललितपुरका गुरुजु सता श्री पद्मपाणी लोकेश्वर अर्थात रातो मच्छिन्द्रनाथको स्वरूप एउटै हो । त्यसो भएर पनि थिमिको पद्मपाणीलाई ललितपुरको रातो मच्छिन्द्रनाथलाई जस्तै कर्म र संस्कार गराइन्छ । तत्कालीन भक्तपुरमा फैलिएको महामारीलाई शान्तिस्वस्ति गरिदिने ललितपुरका गुरूजु (शाक्य र बज्राचार्य)हरूलाई गंगा महारानीले थिमिमा स्थापित गराएको लोकश्रुती छ । उहिले रातो मच्छिन्द्रनाथलाई नेपाल मण्दलमा ल्याएका भक्तपुरका राजा नरेन्द्रदेवले आफ्ना छोराहरू क्रमशः रत्नदेवलाई ललितपुर, पद्मदेवलाई काठमाडौं र भक्तपुर बलदेवलाई सुम्पेर आफु करूणामयको पाउमा लीन हुनुभएको बुंगद्यःको कथामा उल्लेख छ ।