एजेन्सी । वैज्ञानिकहरूले दुई हजार वर्ष पुरानो इजिप्टको ‘मिस्ट्रियस लेडी’ नामको ममी फेला पारेका छन् । यो ममी गर्भवती महिलाको थियो । यसको गर्भमा भु्रण पनि भेटिएको थियो जुन राम्रोसँग संरक्षित थियो ।
केही समयदेखि वैज्ञानिकहरू यी महिलाको मृत्युको कारण पत्ता लगाउने प्रयासमा व्यस्त थिए । यस ममीको खोपडीको अनुसन्धानबाट महिलाको मृत्यु क्यान्सरका कारण भएको अनुमान गरेको छ । यो एउटा खोज हो जसले क्यान्सर विशेषज्ञहरू र इजिप्टका वैज्ञानिकहरूलाई हैरान पारेको छ ।
१९ औं र २० औं शताब्दीमा, यो ममी पुरुष पुजारीको हो भनेर अनुमान गरिएको थियो । तर जब वारसा ममी प्रोजेक्टले यसको अनुसन्धान गर्यो, यो वास्तवमा एक महिलाको ममी भएको पत्ता लागेको थियो । अझ अचम्मको कुरा त यो संसारको पहिलो गर्भवती ममी हो । यसअघि कुनै पनि गर्भवती आमा भेटिएको थिएन ।
गर्भमा भ्रुण सुरक्षित गरिएको थियो
यस वर्षको सुरुमा, रहस्यमय महिलाको सीटी स्क्यानले उनको गर्भमा भु्रण भएको प्रमाण फेला पारेको थियो । विशेष के छ भने ममीको पाठेघर अत्याधिक अम्लीय थियो र अक्सिजनको मात्रा कम भएकाले भु्रण राम्रोसँग सुरक्षित थियो ।
अनुसन्धानकर्ताहरुका अनुसार उनीहरुमा महिलाको मृत्युको कारणलाई लिएर धेरै प्रश्नहरु आइरहेका थिए, त्यसैले उनीहरुले यसको बारेमा पत्ता लगाउने निर्णय गरेका हुन् ।
खोपडीको स्क्यान गर्दा मृत्युको कारण खुल्यो
गर्भवती महिलाको खोपडी स्क्यान गरिएको थियो । हड्डीमा ती महिला क्यान्सरबाट पीडित भएको संकेत देखियो । सीटी स्क्यानले खोपडीको बायाँ छेउमा दाग देखायो जुन आजकल डाक्टरहरूले नासोफेरिन्जियल क्यान्सर भएका बिरामीहरूमा देख्छन् । यो एक दुर्लभ क्यान्सर हो जसले नाक र मुखको पछाडि असर गर्छ । यहाँ ७ एमएम व्यासको गोलो घाउ देखियो । जुन ट्युमरको कारणले भएको हुनसक्छ ।
साथै, अनुहारको हड्डीमा ठूलो गढ्दा फेला परेको थियो । बिरामीहरूमा क्रेनियोफेसियल हड्डीमा परिवर्तन पनि नासोफेरिन्जियल क्यान्सरको कारणले हुन्छ । यद्यपि, क्यान्सर पत्ता लगाउन अनुसन्धानकर्ताहरूले ममीको तन्तुलाई राम्ररी जाँच्नुपर्छ ।
विगतमा क्यान्सरको सम्भावित लक्षण देखाउने ममीहरू फेला परेका छन् । २०१७ मा, वैज्ञानिकहरूले दुई पुरातन इजिप्शियन ममीहरूमा स्तन क्यान्सर र मल्टिपल माइलोमा पत्ता लगाए, जुन संसारमा क्यान्सरको सबैभन्दा पुरानो ज्ञात केसहरू हुन् ।