भक्तपुर । इन्द्रजात्राको अन्तिम दिन बुधबार भक्तपुरमा परम्परागत पुलुकिसी (ऐरावत हात्ती) जात्रा मनाइएको छ । पुलुकिसी जात्रा मनाएसँगै भक्तपुरमा इन्द्रजात्रा पनि सम्पन्न भएकोछ ।
स्थानीय लाकुलाछें टोलबाट सुरु गरिने पुलुकिसी जात्रा भक्तपुरको बुलुचा, नासमना, वंशगोपाल, इटाछे, खौमा, दरबार स्क्वायर, भोलाछें, महालक्ष्मीस्थान, थालाँछें, गछें, सुर्जमारी, तचपाल, इनाचो, गोल्मढी, तिबुक्छेंलगायतका ठाउँमा परिक्रमा गर्ने प्रचलन रहेको छ ।
पुलुकिसी जात्रा गर्नुपूर्व गुठी संस्थानबाट तमारीको भैरवनाथलाई विधिवतरूपमा बलिसहितको पूजा गरिन्छ । पूजा सकेपछि स्थानीय तल्लो टोलको तेखाचोका मानन्धर समुदायले भैरवनाथको मन्दिरबाट सुकुन्दा बालेर आएपछि बुलुचास्थित चखुन्चा फल्चा (पाटीको नाम) तिर अभिमुख गरी एक जोडा याँमता (आकाशदीप) बालिन्छ । दीप बालिसकेपछि भैरवनाथको मन्दिरमा झुण्डाइराखेको पुलुभैलद्योः (मान्द्रोमा चित्रित मसान भैरव) लाई नायखिङ (खड्गी समुदायको विशेष बाजा) बाजा बजाएर विधिवत् पूजा गरिन्छ । यो पूजा सम्पन्न गरेसँगै अगाडि याँमता र पछाडि नायखिङ बाजा बजाएर पुलुभैलद्योःको जात्रा सुरु गरिन्छ ।
यो जात्रा गरेसँगै भक्तपुरको लाकुलाछें टोलका स्थानीयवासीले बाँसको मान्द्रोमाथि नीलो कपडाले छोपेर अगाडिको भागमा हात्तीको जस्तै सुँढ राखेर तयार गरिएको पुलुकिसीलाई चारजना मानिसले बोकेर एक जना पुलुकिसीको भित्रबाट घण्टा बजाएर पुलुकिसी तानाङ तानाङ गरी आकाश भैरव मन्दिर अगाडि तीन पटक घुमेर जात्रा सुरु गरिन्छ । जात्राको क्रममा पुलुकिसीलाई बाटो देखाउन स्थानीयवासीले छ्वाली बालेर अगाडि जाने चलन छ ।
देवराज इन्द्रका विश्वासिलो सेवक ऐरावत हात्तीको रूपमा लिइने पुलुकिसीलाई वंशगोपाल, इटाछें, चोछें, भोलाछेंलगायतका दोबाटो चौबाटोमा धान खुवाउने, ठाउँ ठाउँमा ओहोरदोहोर गराउने, तमारी, दरवार स्क्वायर र तचपालको डबलीमा आगो तपाउने, सुर्जमारीको तला तुन्छी (इनार)मा पानी खुवाउने परम्परा रहेको छ । जात्रामा पुलुकिसीको सुँढले मानिसलाई छोएमा दशा लाग्छ भन्ने धार्मिक विश्वासअनुसार पुलुकिसी आउँदा सुँढले छुन्छ कि भनी स्थानीयवासी परपर भाग्ने गर्दछन् ।
जात्राका क्रममा पुलुकिसीले कथंकदाचित मूपात्रलाई भेट्यो भने कुल्चेर मार्दा पनि हात्ती बन्ने पात्र र उनका सहयोगीलाई कुनै बात नलाग्ने भएकाले पुलुकिसी जात्रा नगरको आधाभन्दा बढी ठाउँमा परिक्रमा गरेपछि मात्र मूपात्र जात्रा निकाल्ने गरिन्छ । यस दिन भैरवनाथको मुख्यद्वारबाट मूपात्र जात्रा निकाल्ने परम्परा छ । मूपात्र जात्रा निकालेसँगै भक्तपुरमा तीन दिन मनाइने मूपात्र र याँमता जात्रा सम्पन्न गरिन्छ ।
देवीपुराण गन्थ्रअनुसार इन्द्रजात्रासँग सम्बन्धित यस पुलुकिसी जात्रा देवराज इन्द्रका पुत्र जयन्तलाई खोज्न हिँडेको सम्झनामा मनाइने गरेको इतिहास संस्कृतिकर्मी प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
