सुन्दर साकोसको १५ औं साधारणसभा सम्पन्न

0

 

सुन्दर साकोसको १५ औं साधारणसभा सम्पन्न

भक्तपुर । सुन्दर वचत ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभा शनिवार थिमि बैंक्वेटमा सम्पन्न भएको छ । संस्थाको १५ औं वार्षिक साधारणसभा मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतमा सम्पन्न भएको थियो । कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष दिगम्बर श्रेष्ठले गरेको कार्यक्रमको विशेष अतिथिमा मध्यपुर थिमि नगरपालिकाका उपमेयर विजयकृष्ण श्रेष्ठ, अन्य अतितिहरु मध्यपुर थिमि नगपालिका वडा नं.४ का अध्यक्ष बालकृष्ण श्रेष्ठ, मध्यपुर थिमि नपाका पूर्व नगरप्रमुख तथा राजनीतिककर्मी मदनकृष्ण श्रेष्ठ र भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका सदस्य एवं बालकुमारी बचत तथा ऋण सहकारीका अध्यक्ष पञ्चकृष्ण श्रेष्ठ सहभागी थिए ।

कार्यक्रममा अतिथिहरु तथा सहभागीहरुलाई संस्थाका उपाध्यक्ष कविन्द्र थिकु श्रेष्ठले स्वागत मन्तव्यबाट स्वागत गरेको कार्यक्रममा लेखा समिति संयोजक मोनिका श्रेष्ठले लेखापरीक्षण समितिको तर्फबाट आ.व.२०७८÷७९ को प्रतिवेदन प्रस्तुत गरेकोे थियो भने संस्थाको आ.व.२०७८÷७९ को आय–व्यय विवरणसहित संस्थाको प्रगति विवरण संस्थाका अध्यक्ष दिगम्बर श्रेष्ठले प्रस्तुत गरेको थियो । प्रतिवेदनमा संस्थाका अध्यक्ष श्रेष्ठले कूल पूँजी ६२ लाख ८० हजार ६ सय र कूल कर्जा लगानी रु.१ करोड ६८ लाख ७४ हजार ९ सय ५४ रुपैयाँ र यसवर्ष रु.४८ लाख ४१ हजार २ सय २८ रुपैयाँ आम्दानी र बैंक मौज्दात रु.५३ लाख २७ हजार २ सय ६४ र नगद मौज्दात रु.७ लाख ११ हजार ९ सय ६८ रुपैयाँ रहेको तथ्याङ्क प्रस्तुत गरेको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका सदस्य एवं बालकुमारी बचत तथा ऋण सहकारीका संचालक पञ्चकृष्ण श्रेष्ठले सहकारी ऐन, नियम र संस्थाको विनियमअनुसार नचल्ने सहकारीहरु धरापमा पर्ने कुरा बताउँदै सहकारीले ऋणभन्दा वचत फिर्तामा सजग हुनुपर्ने कुरा औंल्याए । बाहिरबाट आएर वचत संकलन गर्नेलाई निरुत्साहित गर्नुपर्ने र जुन सहकारीमा वचत गरिन्छ सोही सहकारीबाट ऋण लिनुपर्ने बताए । यसैगरी मध्यपुर थिमि नगरपालिकाका पूर्व मेयर, राजनीतिककर्मी तथा संस्थाका सल्लाहकार मदनकृष्ण श्रेष्ठले एउटा सहकारीमा २ कार्यकालभन्दा बढी प्रतिनिधित्व गर्न नहुने र सो कुरा ऐन नियममा नै व्यवस्था गर्नुपर्ने कुरा औंल्याए । उनले सहकारीहरुको क्षमता अभिवृद्धिका लागि बढीभन्दा बढी तालिम कार्यक्रम सञ्चालन गर्नुपर्ने कुरा पनि बताए ।

कार्यक्रमको विशेष अतिथि मध्यपुर थिमी नगरपालिकाका उपमेयर विजयकृष्ण श्रेष्ठले सहकारी अभियान विश्वभर फैलिएको र छरिएर रहेको ससानो पूँजी एकीकृत गरेर लगानीयोग्य पूँजीको निर्माण गर्न सहकारीले ठूलो भूमिका खेलेको बताउँदै नेपालभर ३५००० सहकारी रहेको र यी सहकारीमा करिब ६० लाख जनता जोडिएको र बेरोजगारी घटाउन सहकारीले सहयोग गरेको कुरा बताए । मध्यपुर थिमि नगरपालिकाभित्र १२८ सहकारी रहेका र ती सहकारीहरुले करिब १६ अर्ब रकम परिचालन गरेको बताउँदै नगरपालिकाभित्रका सहकारीहरुलाई नियमन, सुपरीवेक्षण र व्यवस्थित गर्न सहकारी ऐन निर्माण गरी लागू गरेको, कर्जा सूचना केन्द्र, ऋण असुली न्यायाधिकरण, अनुगमन समिति र स्थिरीकरण कोष बनेको जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि तथा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले अहिले मुलुकका सबै वित्तीय संस्थाहरुमा तरलता अभाव रहेको र यस्तो स्थिति आउनुमा सरकारले स्थानीय निकायहरुलाई विनियोजन गरेको वजेट निकासा नगर्नु तरलता अभावको प्रमुख कारण रहेको कुरा बताउँदै उनले नगरपालिकामा थुप्रै विकास निर्माणका कार्यहरु गरेको फेहरिस्त प्रस्तुत गरे । नगरपालिकाले स्वास्थ्य, शिक्षा र विकास निर्माणका कार्यमा आफूले सक्दो काम गरेको बताउँदै यस क्षेत्रका वृद्धहरुको निःशुल्क बीमा, ५ जनासम्म रहेका घरपरिवारको निःशुल्क बीमा र थिमिबासीको लागि रक्त संचार केन्द्रद्वारा निःशुल्क रगत पायनुका साथै नेपाल –कोरिया मैत्री नगरपालिका अस्पताललाई मध्यपुर थिमिकै नमूना अस्पतालका रुपमा विकास गर्ने बताए । आगामी ५ वर्षभित्र यस क्षेत्रका सबै जनतालाई बीमा गर्ने योजना रहेको र सामुदायिक विद्यालयहरुको स्तरोन्नतिका लागि थप पहल भइरहेको जानकारी समेत दिए । कार्यक्रम सञ्चालन संस्थाका सचिव शिवसुन्दर श्रेष्ठले गरेको थियो ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top