भक्तपुरको छ लेन सडकमा भाडाका सवारीसाधन दायाँ लेनमा गुड्न नपाउने

0

 

भक्तपुरको छ लेन सडकमा भाडाका सवारीसाधन दायाँ लेनमा गुड्न नपाउने

भक्तपुर । भक्तपुरस्थित छ लेन अरनिको राजमार्गमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि भाडामा चल्ने बस र माइक्रोबसका लागि बायाँ तर्फको लेनमा मात्र गुड्न पाइने ब्यवस्था गरिएको छ । बसहरु दायाँ लेनबाट हुइकियर बायाँ लेनमा प्रवेश गर्दा दुर्घटना बढेको निष्कर्षसहित यस्तो ब्यवस्था गरिएको हो ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा जिल्लाका चारै स्थानीय तहका नगरप्रमुख÷उपप्रमुख सहित ट्राफिक कार्यालय एवं यातायात ब्यवसायीका प्रतिनिधि र सरोकारवाला सम्मिलित बैठकले भाडाका सवारीलाई बायाँ लेनमा मात्र गुड्न पाउने निर्णय गरेको जिल्ला ट्राफिक प्रहरी परिसरका प्रमुख राजु कार्कीले जानकारी गराए । उक्त निर्णय यथाशीघ्र कार्यान्वयन गरिने उनको भनाइ छ ।

उक्त बैठकले उच्च गतिलाई नियन्त्रण गर्ने र लेन अनुशासन पालना गर्नेकुरामा जोड दिदै यसका लागि सरप्राइज अनुगमन र कार्वाहीलाई नियमित र कडाइ गर्ने समेत निर्णय गरेको बताइएको छ । बैठकले बस पोकेटमा बस नरोकी सडकमै रोक्ने चालकलाई कार्वाहीको दायरामा ल्याउने र यात्रुलाई पनि प्रतिक्षालयमा रोकिएको बसमा मात्र चढ्न प्रोत्साहित गर्ने र जथाभावी बाटो नकाट्न जनचेतनामुलक संदेश प्रसारणलाई स्थानीय तहको सहयोगमा अघि बढाउने निर्णय गरेको छ ।


बैठकले जिल्लामा यातायात ब्यवस्थालाई यात्रुमैत्री बनाउन १४ बुदे निर्णय समेत गरेको जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख राजु कार्कीले बताए  । बैठकमा जिल्ला समन्वय समितिका प्रमुख ईश्वरबहादुर थापाले सबैको सहकार्यमा मात्र सडक दुर्घटना न्यूनीकरण सम्भव हुने भन्दै आफ्नो कार्यालयले यसको लागि समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता प्रकट गरेका थिए । मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, चागुनारायणका प्रमुख जीवन खत्री त्यसैगरी भक्तपुरकी उप प्रमुख रजनी जोशी र सूर्यविनायककी उप प्रमुख सरिता तिम्सिना भट्टराईले सडक सुरक्षाको लागि स्थानीय सरकारले आवश्यक बजेट ब्यवस्था गर्न कन्जुस्याइँ नगर्ने जानकारी गराउदै जनताको जीउधनको रक्षा गर्न ट्राफिक प्रहरीलाई सक्दो सहयोग गर्ने बताए । बैठकमा भक्तपुर उद्योग बाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धर र नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत कृष्ण प्रजापतिले जनचेतनामूलक कार्यक्रम संचालनमा सहयोग गर्ने प्रतिवद्धता प्रकट गरेका थिए ।

बैठकमा उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट, ट्राफिक प्रहरी उपरीक्षक अवदेश बिष्ट, जिल्ला प्रहरी परिसरका प्रमुख प्रजित केसी, अनुसन्धान उपनिर्देशक प्रकाश आचार्य लगायतले सडक सुरक्षामा सुरक्षाकर्मीले गरेका कार्याबारे जानकारी गराएका थिए भने पूर्व अरनिको यातायातका अध्यक्ष केदार क्षेत्री, काभ्रे यातायात, स्वपः यातायात, मयुर यातायात लगायत यातायात प्रालिका प्रतिनिधिहरुले दुर्घटनाको प्रमुख कारण तीब्र गतिका मोटरसाइकल भएपनि सम्पूर्ण दोष यातायात ब्यवसायीले ब्योहोर्नुपरेको भन्दै पिडा पोखेका थिए । उक्त अवसरमा नेपाली कांग्रेस भक्तपुरका सचिव सुशील बस्नेत, नेकपा एमालेका सचिव मोहनवीर श्रेष्ठ लगायत राजनीतिक दलका प्रतिनिधिहरुले यातायात ब्यवस्थापन र सडक दुर्घटना न्यूनीकरणमा राजनीतिक दलहरुले सक्दो सहयोग गर्ने बताए ।

बैठकमा सिडिओ शर्माले सडक आयोजनाका प्रमुख रविन्द्रलाल दास, पूर्वाधार कार्यालयका प्रमुख भरत यादव, डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख मेघराज मरासिनीलाई सडक मर्मत सम्भार र सुरक्षा संकेत जडानका लागि निर्देशन समेत दिएकी छन् ।



Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top