भक्तपुर । सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेटमा स्थानीय सञ्चारमाध्यमको संरक्षण र प्रवर्द्धनको गर्ने नीति लिएको छ । नगरपालिकाले त्यसका लागि मिडिया क्षेत्र परिचालन नीति तर्जुमा गरी कार्यान्वयन गर्ने जनाएको हो । बुधवार पत्रकार भेटघाट कार्यक्रम गर्दै नगरपालिकाका प्रमुख बासुदेव थापाले स्थानीय सञ्चारमाध्यमलाई प्रवर्द्धन गर्न रु २५ लाख बजेट विनियोजन गरेको बताए । उनले नेपाल पत्रकार महासंघ र विभिन्न सञ्चारकर्मीहरुको सुझावमा आगामी वर्ष मिडिया परिचालन नीति निर्माण र लागू गर्ने जानकारी गराएका हुन् ।
उक्त अवसरमा नगर प्रमुख थापाले पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको भवन निर्माणका लागि समेत आवश्यक बजेट दिने प्रतिवद्धता प्रकट गरेका छन् । उनले बजेटमा विनियोजन नगरे पनि कार्यपालिका बैठकबाट निर्णय गरेर भवन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसैगरी सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि २ अर्ब १० करोड ५० लाखको बजेट विनियोजन गरेको नगर प्रवक्ता एवम् वडा नं. ७ का वडाअध्यक्ष रविन्द्र सापकोटाले बताए । जसमध्ये १ अर्ब ११ करोड ९२ लाख ३३ हजार पुँजीगततर्फ र ९८ करोड ५७ लाख ६७ हजार चालुखर्च रहेको छ ।
खर्च व्यहोर्ने स्रोत मध्ये राजश्व परिचालनबाट २८ करोड ९८ लाख, घरजग्गा रजिष्ट्रेसनबाट ३८ करोड, चालु आर्थिक वर्षको वचतबाट ४० करोड, नगद लागत सहभागिताबाट ३ करोड ७१ लाख ३८ हजार, संघ र प्रदेशबाट प्राप्त वित्तिय समानीकरण अनुदान २१ करोड ६६ लाख ७६ हजार, संघ र प्रदेशबाट प्राप्त सशर्त अनुदान ३८ करोड १२ लाख ९४ हजार, प्रदेशबाट प्राप्त विशेष अनुदान ५० लाख, संघ तथा प्रदेशको राजश्व बाँडफाँडबाट १५ करोड ५५ लाख ७२ हजार समपुरक योजना कार्यान्वयनको लागि जिल्ला समन्वय समिति र प्रदेशबाट ३ करोड, सामाजिक समपुरक कार्यक्रमबाट १७ करोड ३२ लाख २० हजार, सडकबोर्डबाट ६३ लाख प्राप्त हुने सापकोटाले जानकारी दिए ।
सूर्यविनायकले शिक्षा तथा खेलकुदमा २५ करोड ९७ लाख ६८ हजार, स्वास्थ्यमा ८ करोड ३२ लाख ३० हजार, प्रधानमन्त्री रोजगार कार्यक्रम ९० लाख ५० हजार, युवा खेलकुद ४ करोड २१ लाख, कृषि २ करोड ३७ लाख ७५ हजार, महिला, बालबालिका, विपन्न्, अपांगता र ज्येष्ठ नागरिक एक करोड २१ लाख १६ हजार, नगर अस्पताल सञ्चालन र व्यवस्थापन ९ करोड ५४ लाख, सबै प्रकारका पूर्वाधारमा ६३ करोड विनियोजन गरेको छ ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
