* बिजय शर्मा राजोपाध्याय
यो कुरा सबै जसो गैर–नेवारमा मात्र नभई धेरै जसो नेवारहरुलाई पनि थाहा नहोला । यज्ञोपवित वा जनै÷ज्वना धारण गर्ने संस्कार नेवार समुदायमा पनि यथावत रहँदै आएको छ । हुन त कय्ता पुजा र उपनयनलाई आजकल एउटै मानिन्छ र धेरै जनाले यी दुबैलाई ब्रतबन्ध भनि एउटै ठान्दछन । तर पहिला पहिला यी दुईलाई फरक फरक संस्कार मानिन्थ्यो, र उपनयनमा हिन्दू धर्म अन्तर्गतका द्विज जाती (ब्राह्मण, क्षत्रीय, वैश्य) लाई यज्ञोपवित यानी जनै/ज्वना धारण गराई वेद ज्ञानको सुरुवात गराईन्थ्यो । शाह र राणाकालसम्म आईपुग्दा यो संस्कार नेवार समुदायको ब्राह्मण र क्षत्रीय जातिसम्ममा मात्र सीमित हुनपुग्यो, वैश्यहरुमा केही कारणवश यो परम्परा बिलीन भयो । शाह र राणा शासन नेवार समुदायलाई समग्र रुपमा फाईदाजनक थिएन भन्नु कुनै नौलो कुरा होइन । एकिकरणमा पर्बतेहरुले हराएका नेवार समुदाय र नेवारका शिष्ट र दरवारिया वर्गले बिद्रोह र स्वन्तन्त्रताका लागि क्रान्ति गर्ने डरले नेवारहरुलाई कुनै पनि राज्यको प्रशासन र सेनामा परिचालन गरिएन, २००७ साल सम्म त ईन्द्रजात्रालाई गोर्खालीहरुको “विजय दिवस“ कै रुपमा मनाउँदथे । जहाँनीय राणा शासनमा नेवारहरु प्रति गरिएको भाषिक र साँस्कृतिक (बौध धर्मलाई) अपहेलना हुने गरेको सबैलाई थाहा भएकै कुरा हो ।
यसै दमनकारी नीति अन्तर्गत नेवार समुदायमा जनै लगाउने परम्परा पनि पर्दछ । कोही कोही सम्पन्न र राणा शासकवर्गलाई खुशी राख्न सकेका नेवार परिवार जो धेरै जसो छ थरिय (क्षत्रीयको अपभ्रंश शब्द) कै हुन्थे, उनीहरु केही सीमित नेवार बाहेक धेरै जसो नेवारलाई यज्ञोपवित धारणबाट वर्जित गराए । सुरेन्द्र शाह कै एक प्रिय प्रेमिका एउटा द्यभाजु ब्राह्मण कुल कि थिई र यसै कारणले गर्दा सुरेन्द्र कै पालामा द्य भाजुबाट ’राजोपाध्याय’ को दर्जा दिईएको भन्ने कथा यथावत छ । पछि जुद्ध शम्शेरका पालामा राजोपाध्याय र ती मल्लकालिन भारदारी जात छथरीय श्रेष्ठहरुलाई जंगबहादुरले खोसेको दर्जा “तागाधारी“ मा जात अनुसार क्रमशः उपाध्याय ब्राह्मण र क्षेत्रीको दर्जा जुद्ध शमशेरले पुनः स्थापना गराईदिए । दमनकारी नीतिले नै धेरै नेवार समुदायका कुल, जसले जनै÷ज्वना लगाउँथे, उनीहरुलाई त्यो पबित्र परम्पराबाट निषेध गरियो – कहिले हिमाल पार गरी भोट जाने जाति भनेर, त कहिले भैंसीको मासु खाने जाति भनेर, त कहिले सिधा रुपमा नेवारहरु खस–पर्बते नहुनुको कारण ले, र यो नीति यतिको प्रभावकारी र ब्यापक थियो कि अहिलेसम्म पनि धेरै जसो क्षत्रीय र वैश्य कुलका नेवारले जनैलाई आफ्नो मान्दैनन्, यो त बाहुन (यानी खस–बाहुन) को ‘कल्चर’ र परम्परा हो भन्छन । नेवार, जो स्वतः व्यापारी हुन भन्ने गलत धारणा समाजमा यथावत छ, ले पनि “किन र कसरी बाहुन – छेत्री जस्तो जनै लगाउन मिल्छ र ?” भन्ने प्रश्न नै सिधै गलत छ, यसले दास मानसिकताको इतिहासलाई निरन्तरता मात्र दिन्छ । जनैलाई एउटा मान्छेको स्वाभिमान र देशप्रतिको कर्तव्य स्वरूप ठानिन्थ्यो, र नियम विपरित जानेहरुलाई, राजा महाराजाहरुको आज्ञा नमान्नेहरुलाई, जातिगत व्यवस्था नमान्नेहरुबाट जनै खोसिन्थ्यो । उदाहरणहरु छन जहाँ नेवार कै मात्र नभै दरवारिया खेँ–पर्बते थापा पाण्डे आदिका जनै शाह र राणा हरुले खोसेका थिए, र पुनः प्रदत्त गराएका पनि थिए ।
नेवार समुदायका तगाधारीमा ज्वना जनैको प्रभाव अहिले आएर न्युन हुनुको कारण के होला तपाईं सबैबाट पनि बिचार लिन पाए यो बिषयको अध्ययन अझ बढी गुणिलो हुनेछ ।
हुन त जनै लगाउने दक्ष र यो सँगै गरिनु पर्ने दैनिक क्रियाहरु जस्तै पन्चस्नान, नित्यार्चन, आदि अहिलेको जमाना र समयको अभाव वा आधुनिकरण आदिले गर्दा खासै सम्भव पनि नभएर होला । अरु के के कारण हुन सक्छन ? त्यसैले इतिहासको यस्तो चुनौतिपुर्ण दिनहरुमा हामीले हाम्रो मौलिक परम्परा र सँस्कृतीको जगेर्ना गर्नु अत्यन्त अवश्यक छ । अरुको लहैलहैमा पहिचान पहिचानको नारा लगाउने, तर आफ्नै समुदायको इतिहास, आफ्नै मौलिकता, आफ्नै समाजको स्थितिलाई बुझ्न सकेनौं भने त्यो पहिचानको केहि मतलब भएन । यो लेखको आशय नेवारले जनै बेर्नै पर्छ भन्ने होईन, तर धेरै (बिशेष गरी नयाँ पिढीका नेवार) लाई थाहा नभएको कुरा बाँढ्नु हो, ज्ञान फैलाउनु हो । हाम्रो पुर्खाले आर्जेको सम्पत्ति भनेकै हाम्रो संस्कार र धर्म हो, यसलाई सबैले अगाडि बढाउनु नै हामी सबैको कर्तब्य हो ।
( लेख साभार बिजय शर्मा राजोपाध्यायवाट )




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
