भक्तपुर । यसवर्ष पञ्चाङ्गमा गुन्हीपुन्ही (जनैपुर्णिमा) र सापारु (गाईजात्रा) एकै दिन परेकोले अन्यौल उत्पन्न भएको जनाउँदैं भक्तपुर नगरपालिकाले तलेजुका पुजारीहरुसँगको छलफलपछि भाद्र भाद्र १३ गते गुन्हीपुन्ही (जनैपुर्णिमा) र सापारु (गाईजात्रा) भाद्र १४ गते मनाउने निर्णय गरेको हो ।
भक्तपुरमा चाडपर्व मनाउन तिथिमितिमा अन्यौल उत्पन्न भए तलेजुमा जुन दिन मनाईन्छ सोही अनुसार सर्वसाधारणले पनि चाडपर्व मनाउने प्रचलन रहेको छ । तिथि घटबढका कारण कुनै दुई तिथि एकै दिन परे तलेजुका मुुल पुजारी राजोपाध्याय एवम् पुजारीहरु कर्माचार्य र जोशीहरुले आपसमा ज्योतिष विज्ञानको आधारमा छलफल गरी चाडपर्व मनाउने कार्यको निक्र्योल गर्ने गर्दछ ।
सोही अनुसार भक्तपुर नगरपालिकाले तलेजुका मुल पुजारी र पुजारीहरुसँग छलफल गरी भाद्र १३ गते जनैपुर्णिमा र १४ गते गाईजात्रा मनाउने निष्कर्षमा पुगेको जनाउँदैं सोही अनुसार गर्न सर्वसाधारणलाई आग्रहसमेत गर्दै नगरपालिकाले सूचनासमेत जारी गरेको छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सरोकारवालाहरुको उपस्थितिमा बसेको बैठकले ज्योतिषशास्त्र अनुसार भाद्र १३ गते बुधबार चतुदर्शी (१४) घ.प. ११।२८ प्रात, घ.मि. १०।१७ प्रात र त्यसपछि भाद्र १४ गते एकै दिनमा वृहस्पतिबार पूर्णिमा (१५) घ.प. १५।१८ प्रात, घ.मि. ७।४९ प्रात, प्रात ७।४९ मिनेट पछि परेवा (प्रतिपदा) लाग्ने, सापारु शुरु हुने समय रहेकोले यहि मिति २०८० भाद्र १३ गते विहान १० बजे १७ मिनेटदेखि पूर्णिमा शुरु भई भाद्र १४ गते विहान ७ः०० बजेर ४९ मिनेटसम्म रहने र त्यसपछि सापारु शुरु हुने भएको हुँदा २०८० भाद्र १३ गते गुन्हीपुन्ही र २०८० भाद्र १४ गते सापारु (गाइजात्रा) मनाउने निर्णय गरेको हो ।
बैठकमा शिक्षा, संस्कृति तथा स्वास्थ्य समितिका सदस्यहरु उपप्रमुख रजनी जोशी, वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँ, कार्यपालिका सदस्य कृष्णप्यारी भुजु, प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मा र तलेजुका पुजारीहरु प्रजेशराज राजोपाध्याय, नरेन्द्रप्रसाद जोशी, महेन्द्र कर्माचार्य, पदमलोचन कर्माचार्य, सिद्धिवीर कर्माचार्य र केदारप्रसाद जोशीसमेतको उपस्थिति रहेको थियो ।





%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
