केके मानन्धर
केन्द्रीय मानन्धर संघले १० दिने क्षमता विकास
तालिम सम्पन्न गरेको छ । नेतृत्व विकासदेखि प्रभावकारी ढंगले बोल्ने शैली र
औपचारिक कार्यक्रमलाई सिलसिला मिलाएर सन्चालन गर्ने क्षमताको विकास गर्न
तालिम आयोजना गरेको जनाएको छ । तालिम कार्यक्रमलाई काठमाडौंस्थित
चस्वांद्वँ मानन्धर सनाःगू खलःको गुठीघरमा काठमाडौं महानगरपालिकासँगको
सहकार्यमा संयोजन गरेको हो ।
कार्यक्रममा गृहिणी महिला, बालबालिकादेखि
इन्जिनियरिङ र कानुनका विद्यार्थी, घरेलु तथा साना उद्योग सन्चालन गर्ने
उद्योगी व्यवसायी, शिक्षिकाहरुको सहभागिता रहेको तालिम कार्यक्रमकी संयोजक
अनुसुया मानन्धरले बताइन् । ‘प्रत्येक दिन दुई घण्टाको दरले सन्चालित
तालिममा ३५ जना प्रशिक्षार्थीहरु सहभागी थिए । ती मध्ये बहुसंख्यक महिलाहरु
थिए ।’ मानन्धरले जनाइन् ।
हुनपनि नेपालको जनसंख्याको आधा भन्दा बढी
रहेका महिलाहरुलाई लक्षित गरिएको कार्यक्रमले महिलाहरुको व्यक्तित्व विकास
गराएर समाजलाई सही दिशा निर्देश गर्ने क्षेत्रमा टेवा दिने अपेक्षा गरिएको छ
।
चौध देखि ७० उमेर समुहका प्रशिक्षार्थीले सहभागिता जनाएको तालिम
कार्यक्रमको लागि सञ्चारकर्मी केके मानन्धरलाई प्रशिक्षणको रुपमा अनुबन्ध
गरिएको थियो । त्यस्तै, सिटीईभिटीईया एसेसर म्यानेजर सुमिना मानन्धर र
रेडियोकर्मी सुरेन्द्र मानन्धरले पनि सहजीकरण गरेका छन् ।
यसअघि
कार्यक्रमलाई सम्बोधन गर्दै १९ वडाका वडाध्यक्ष राजेश श्रेष्ठले गृहिणी
महिलाहरुको क्षमता विकास गर्नुपर्नेमा जोड दिए । उहाँले महिलाहरुलाई
विभिन्न क्षेत्रको लागि सक्षम बनाउन तालिम कार्यक्रमले टेवा दिने समेत बताए
। तालिममा सहभागी भएका प्रशिक्षार्थीहरुलाई महानगरपालिकाको संस्थागत
प्रोत्साहन रहने जनाउँदै घरमा मात्र सीमित नभई फरक पेशा व्यवसायमा लाग्न
उत्प्रेरणा दिए ।
कार्यक्रममा केन्द्रीय मानन्धर संघका सभापति मनोज
कुमार मानन्धर, निवर्तमान सभापति गोपाल कृष्ण मानन्धर, उपसभापति
बद्रीनारायण मानन्धर, सचिव गजेन्द्र मान मानन्धर लगायतले आआफ्नो विचार राखे
। सामुदायिकतर्फ देशकै सबसे जेठो संस्था केन्द्रीय मानन्धर संघले ७०
वर्ष यतादेखि देशभरका मानन्धर समुदाय लक्षित कार्यक्रम गर्दै आएको छ । २०१०
सालमा स्थापित संघले चालू आ.व.को वजेट शिर्षकबाट काठमाडौं
महानगरपालिकासँगको सहकार्यमा धाः बाजं प्रदर्शनी ११४३ सम्पन्न गरिसकेको छ ।
आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा काम गर्दै आएको गैरनाफामुखी संघले
उद्यमशीलता, सीप र क्षमता विकासका तालिमहरु अब उप्रान्त क्रमिक रुपमा
सञ्चालन गर्ने लक्ष्य लिएको जनाएको छ ।