–जयराम बिडारी
माघ १२ , काठमाण्डौ । बालसाहित्यका क्षेत्रमा १२० पुस्तक लेखिसकेका लेखक विजयराज आचार्यद्वारा लिखित वाल चलचित्र ‘किबोर्ड’र बाल कथा संग्रह ‘स्वर्गमा मोवाइल’ को विमोचन सम्पन्न गरिएको छ ।
क्रियटिभ सेन्टर प्रा. लि. तथा विवेक सिर्जनशील प्रकाशनको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानस्थित देवकोटा हलमा आयोजित कार्यक्रममा क्रियटिभ सेन्टरका अध्यक्ष कौशल भट्टराईको अध्यक्षता तथा प्रतिनिधि सभाका सदस्य माननीय सूर्य थापाको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको थियो ।
कार्यक्रममा आचार्यद्वारा लिखित बालकथा संग्रह ‘स्वर्गमा मोवाईल’ विमोचन गरिएको थियो । सो कार्यक्रममा समिक्षक डा. शैलेन्दु प्रकाश नेपालले समिक्षाका क्रममा ६ वटा कथा समेटिएको स्वर्गमा मोबाइल एक ब्यंङ्गयात्मक कथांश भएको उल्लेख गर्दै नेपाली समाजको प्राकृतिक, सामाजिक र सांस्कृतिक कुराको दुरुपयोग बढिरहेको अवस्थामा यसको संरक्षण गरिनु जरुरी रहेको बताउंदै विकास निर्माणका नाममा झोलुङ्गे पुल बिस्थापन गरेर पक्की पुल निर्माण गरिंदा त्यसको ऐतिहासिकता जोगाउन समेत पहल गरिनुपर्ने बताउंदै कोदोबारी कथा अन्तर्गत अभिभावक गुमाएर टुहुरा भएको बालिकाले कोदो काट्ने समयमा विद्यालयका प्रधानाध्यापकसंग मागेको ४ दिनको छुट्टीका सम्बन्धमा सवै शिक्षकहरुको सहयोगमा कोदो काटिदिएर समन्वयात्मक एवं सहयोगी भूमिका निभाएको अवस्थालाई उजागर गरिएको उल्लेख गर्दै बालसाहित्यका कथामा आख्यानात्मक एवं बालमनोबिज्ञानमा आधारित भएर प्रस्तुत गरिएको कुरा बताए । नेपाली मौलिक शब्दभण्डारलाई अंग्रेजी शब्दले प्रतिस्थापन गरिन नहुने बताएका छन् ।
उक्त कार्यक्रममा दोस्रो चरण अन्तर्गत आचार्यद्वारै लिखित तथा आचार्य गोपालद्वारा निर्देशन गरिएको एवं संदेश आचार्यद्वारा निर्माण गरिएको लघु बाल चलचित्र किबोर्डको प्रदर्शन गरिएको थियो । परिवारमा बेमेलको अवस्था आउँदा बालमनोबिज्ञानमा पर्ने असरलाई उक्त चलचित्रमा प्रष्ट पारिएको र त्यसको असरबाट बिक्षिप्त बालकको सत्प्रयास र अठोटले टुक्रिन लागिसकेको परिवारलाई एक बनाउन सहज भूमिका निभाएको कथानकमा देखाइएको छ । होम न्यौपानेको गीत, सुप्रिम मल्लको स्वर टेकेन्द्र नेपालीको संगीत रहेको उक्त चलचित्रमा बालकलाकार आलोक चौरेलले सशक्त भूमिका निभाएका छन् भने रश्मी भट्टले आमा तथा कृष्ण भक्त महर्जनले बुवाको भूमिकामा न्याय गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथिका रुपमा रहेका प्रतिनिधि सभाका सदस्य माननीय थापाले बाल कलाकारको भूमिका सशक्त रुपमा निभएकामा आलोक चौरेललाई बधाई तथा शुभकामना दिंदै आजको भूमण्डलीकृत समाजमा पश्चिमा संस्कृतिले नेपाली समाजलाई प्रभावित पार्न खोजेकोमा सुखद अन्त्यमा चलचित्र टुंगिएकोमा संतोष ब्यक्त गर्दै हाम्रा बालसाहित्यलाई क्रमशः भिज्युअलाईज गरिनु पर्नेमा जोड दिएका छन् । यसैक्रममा महिला निर्देशक सुचित्रा श्रेष्ठले अहिलेको ब्यस्त सामाजिक अवस्थामा अभिभावकले घरभित्र आफ्ना बालबालिकालाई यथेष्ट समय दिन नसक्दा उनीहरुमा पर्नजाने मनोवैज्ञानिक असरलाई चलचित्रले मार्मिक रुपमा देखाएको बताउंदै बालमनोविज्ञानमा सकारात्मक असर पार्ने चलचित्रहरु निर्माण गरिनुपर्ने उल्लेख गरेकी छन् । सो क्रममा बरिष्ठ साहित्यकार रामबाबु सुबेदी, नेपाल बाल साहित्य समाजका अध्यक्ष प्रमोद प्रधान तथा साहित्यकार सुशीला प्रधानाङ्गले कला, संस्कृति भाषा साहित्यका बारेमा बस्तुनिष्ठ भएर सामाजिक मनोविज्ञानमा आधारित आ–आफ्ना धारणा राखेका थिए ।
उक्त कार्यक्रमलाई बिजयराज आचार्यले संचालन गरेका थिए ।





%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
