मध्यपुर महोत्सव–२०८१ तयारीले तिव्रता लिदैं !

0



भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले यही पौष १२, १३ र १४ गते मध्यपुर महोत्सव–२०८१ को आयोजना गर्दैछ । जसमा ८० भन्दाबढी स्थानमा २ सय भन्दा बढी स्टलहरु रहने भएको छ । महोत्सवमा नगरको प्रवेश स्थल शंखधर चोकदेखि नगदेश र बोदे हुँदै तिगनिको नीलबाराही सम्मका परम्परागत नेवा बस्तीक्षेत्रमा ८० भन्दा बढी टोलहरुमा २ सय भन्दा बढी स्टल रहने आयोजक सचिवालयले जनाएको हो ।

महोत्सवका लागि टोलटोलमा तयारीहरु तीव्र रुपमा भइरहेको छ । महोत्सवका विशेष आकर्षणमा यहाँको लोपोन्मुख मौलिक पेशा व्यवसाय रहनेछ । महोत्सवको अवसर पारेर टिगनीको टिगनी बजी (चिउरा)लाई पुनर्जिवित गर्ने तयारी भइरहेको छ । ऐतिहासिक तथा परम्परागत टिगनी क्षेत्रबाट लोप भैसकेको टिगनी बजीलाई पुनर्जिबित गर्न स्थानिय आमा, दिदी बहिनीहरू सक्रिय भएका छन ।

टिगनी बजी उत्पादनको प्रदर्शनको लागि स्थानीय महिलाहरुले परम्परागत ओखललगायतका सामग्रीहरुको संकलन शुरु गरिसकेको नगरपालिकाका प्रमुख एवम् मध्यपुर महोत्सव मूल समारोह समितिका सयोजक सुरेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

उनले महोत्सवका बेला आगन्तुकहरुले टिगनी बजी उत्पादनका लागि धान भुट्ने, भिजाउने, चिउरा कुट्ने विधि प्रत्यक्ष हेर्न र चिउरा खरिद गरी लैजान सक्ने व्यवस्था गरिएको जानकारी दिए । यस्तै महोत्सवमा प्रदर्शन गरिने साँस्कृतिक झाँकी, परम्परागत पेशा व्यवसाय, मौलिक उत्पादनलगायतका विषय वस्तुहरुलाई विभिन्न १० वटा समूहमा विभाजन गरी सो अनुसारको स्टल व्यवस्थापन गरी प्रदर्शन गरिने पनि जानकारी दिए ।

महोत्सवमा स्थानीय मौलिक कला सँस्कृति अन्तर्गत बिस्काःजात्राको खत, पुलुकिसि जात्रा, महाकाली नाच, अष्टमातृका नाच, लाखे, नागाचा प्याखं, इन्द्र अप्सरा नाचहरुको प्रदर्शनी गरिनेछ । परम्परागत र मौलिक पेशा व्यवसाय अन्तर्गत माटोको भाँडा बनाउने, मुकुण्डो बनाउने, चिउरा कुट्ने, तेल पेल्ने, कपडा बुन्ने, बत्ती काट्ने, धूप बाट्ने, खेती गर्ने, गेडागुडी, मूर्तिकला, सेरामिक्स, चित्रकला र काष्ठकलाको प्रदर्शन गरिनेछ ।

नेवारी परिकारमा समय् बजि, वः (बारा), चटांमरी, योमरी लगायतका खानासँग सम्वन्धित स्टलहरु प्नि रहनेछ । पुरातात्विक स्मारक क्षेत्र एवम् सम्पदा अन्तर्गत मध्यपुरको बालकुमारी क्षेत्रमा क्वलाखु बालकुमारी, अजिमा, बिष्णुुविर, ईन्द्रायणी, लोकेश्वर मन्दिर, थिमिको लायकू, बाखाछे महादेव, दिगू भैरब, निगुपुखु र बिष्णु कुण्दललगायतका मठ मन्दिर दरवार र पोखरीहरुको अवलोकन गर्न पाइनेछ । यस्तै चपाचो क्षेत्रमा इनायक्व (सिद्धिकाली), विश्वविनायक, दिगु बहाः, जिस्वाँ बहाः, सिद्धिकाली द्यछें, स्वगाँ पुखु, गुँगचिवाः, पाटी विहार, बाहाखा भिमसेन र महादेव मन्दिरलगायतका सम्पदा रहेका छन ।

नगदेश क्षेत्रमा सिद्धिगणेश द्यछें, लँु झ्याः, नगदेश लायकु, सिद्धिगणेश मन्दिर, नगदेश बुद्घविहार र शिलेश्वर महादेवको दर्शन र अवलोकन गर्न सकिनेछ । 

बोदे क्षेत्रमा बोदेको लायकू, पलिस्वां पुखू, कालिका मन्दिर, विष्णुघाट, महालक्ष्मी, र कुमारी मन्दिर रहेको छ । टिगनी क्षेत्रमा नीलबाराही द्यछें र नील बाराही मन्दिरको अलोकन गर्न सकिनेछ । दिव्यश्वरी क्षेत्रमा दिव्यश्वरी मन्दिर, कुशल भैरव र नाट्येश्वरी मन्दिर प्रख्यात । चर्चित छन ।

महोत्सवको अर्को आकर्षणको रुपमा नेवाः भ्वय् रहनेछ । नेवा भ्वय् अन्तर्गत परम्परागत शैलीमा सुकुलमा बसेर भोज खान पाइने छ । नेवाः भ्वय्मा सुजँबुजँ भ्वय्, चौरासी ब्यञ्जन भ्वय्को समेत व्यवस्था रहनेछ । महोत्सवमा मध्यपुरमा खेलिने परम्परागत र मौलिक खेलहरु लैलै (घ्वाँय् कासा), खिपःकासा, यकंधाला, घःचाः तुइकेगु, तुतुमाकुुचा, ह्वाकरा, पाँयचा, कसि खेलको अवलोकन गर्न पाइने नगर प्रमुख श्रेष्ठले जानकारी दिए ।

यस्तै स्थानीय जीवनशैली र रहनसहन अन्तर्गत महोत्सव अवधीभर टोलटोलमा भजनकीर्तन, पूजाआजाका साथै नेवारी भेषभुुषा, बाजागाजा, माटोको भाँडा बनाउने, सेरामिक्स, तरकारी उत्पादन, टिंकी बजीको प्रदर्शनी हुनेछ । साँस्कृतिक कार्यक्रममा धिमेबाजा, बाँसुरी बाजा, दाफा भजन, ज्ञानमाला भजन, लोकदोहरी र स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहनेछ ।

स्थानीय मौलिक उत्पादनहरुको व्यापारिक प्रदर्शनी अन्तर्गत हस्तकला, टिगिनी बजि (चिउरा), माटोको भाँडाकुँडा, सेरामिक्स, ताजा तरकारी, चाकुवासः, मध्यपुरको मीठो दहि, बिभिन्न प्रकारका बिउबिजन र बोटविरूवा, विभिन्न थरीका गेडागुडी, घरबुना कपडा र यसबाट बनेको लुगाफाटो, पाउँ, गुुँदपाक, मरमसला, मुकुण्डो, शुद्ध तोरीको तेललगायत मध्यपुरमा उत्पादन हुने वस्तुको प्रदर्शनी रहने नगर प्रमुख श्रेष्ठले जानकारी दिए ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top