भक्तपुर । गत पुष २६ मा सम्पन्न भएको भक्तपुर घरेलु तथा साना उद्योग संघको १७ औ तथा महिला उद्यमी समितिको १६ औ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी सदस्यहरुलाई पदस्थापना तथा बधाई कार्यक्रम नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्री उमेशप्रसाद सिहको प्रमुख आतिथ्यतामा सम्पन भयो । सो पदस्थापना तथा बधाई कार्यक्रममा संघका निवर्तमान अध्यक्ष प्रेम खर्बुजाले संघको सम्पुर्ण सामानको लागतसहितको पत्र नवनिर्वाचित अध्यक्ष श्यामसुन्दर श्रेष्ठको टिमलाई हस्तान्तरण गरी नयाँ कार्य समितिले संघको जिन्सीलगायत सम्पति बृद्धि गर्न सकोस भनी शुभकामना व्यक्त गरे । साथै निवर्तमान अध्यक्ष खर्बुजाले संघलाई गत आर्थिक बर्षमा विभिन्न ४५ भन्दा बढी संघ संस्थाले अतिथिको रुपमा आमन्त्रित गरेको स्मरण गर्दै संघको यो उचाईलाई नयाँ कार्य समितिले थप माथि लाने विश्वास व्यक्त गर्दै संघको विकासको लागि सधै साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा पुर्व अध्यक्ष विरेन्द्र जतिले संघमा पदीय रुपमा एकजनामात्र अध्यक्ष भएपनि सम्पुर्ण सदस्यहरुको जिम्मेवारी अध्यक्षको जतिकै भएकोले सदस्यहरुले विभिन्न सामाजिक सन्जाल प्रयोग गर्दा संघ र व्यक्तिगत आँच आउने कुराहरु नराख्ना अनुरोध गरे । उनले सामाजिक सन्जाललाई सकारात्मक कार्यको लागि मात्र प्रयोग गर्न अनुरोध गर्दै संघ सस्थाका विषयहरुमा गोपनियता कायम गर्नुपर्ने धारणा व्यक्त गरे । साथै सस्थामा आँच आउने कार्य गर्न कसैलाई छुट दिन नसक्ने हुँदा संस्था विपरित कार्य गरेको पाईए सस्थाको नियमानुसार कारवाही गर्नुपर्ने विचार व्यक्त गरे ।
कार्यक्रममा पुर्व अध्यक्ष राजु श्रेष्ठले संस्थाको गरिमालाई अझ माथि लान नयाँ कार्यसमिति शुभकामना दिए । त्यसैगरी पुर्व अध्यक्ष तथा भक्तपुर घरेलु साकोसका अध्यक्ष लक्ष्मण ग्वाछाले संघ सस्थामा लाग्दा धेरै कुरा सिक्न पाईने र आफुले घरेलु संघबाट विभिन्न तालिमहरु लिई सफल कुखुरा पालक भएको स्मरण गर्दै संघमा रहेका साना उद्यमी व्यवसायीहरुलाई विगतमा बैकहरुले नपत्याउँदा आर्थिक रुपमा सवल हुन नसकेको कारण संघकै पहलमा भक्तपुर घरेलु बचत तथा ऋण सहकारी संस्था स्थापना गरी सेवा पुर्याई रहेको जानकारी गराए । त्यसै गरी पुर्व अध्यक्ष तथा महासंघका उपाध्यक्ष सत्यनारायण प्रजापतिले संघ सस्थामा व्यक्तिगत हित भन्दा संस्थागत हितको लागि कार्य गर्नुपर्ने र कहिलेकाही संस्थागत हितको लागि व्यक्तिगत हितलाई त्याग्नु पर्ने बताए ।
प्रमुख अतिथि महासंघका अध्यक्ष उमेश प्रसाद सिहले भक्तपुर घरेलु तथा साना उद्योग संघ महासंघ अन्तर्गतकै उत्कृष्ट भएको कारण आफु अध्यक्ष चुनिएकै दिन भक्तपुर संघलाई उत्कृष्ट संघको रुपमा सम्मानित गरेको स्मरण गर्दै अव पनि त्यसलाई निरन्तरता दिने काँध नयाँ कार्य समितिलाई आएको हुँदा अग्रजहरुको सर सल्लाह लिई कार्य गर्न आग्रह गरे । साथै भक्तपुर घरेलु तथा साना उद्योग संघको भवन बनाउन महासंघ तथा आफुले पनि सक्दो आर्थिक सहयोग गरेको जानकारी गराउँदै भविष्यमा पनि भक्तपुर घरेलु तथा साना उद्योग संघलाई आफुले सक्दो सहयोग गर्ने बचत व्यक्त गरे ।
कार्यक्रममा भने नव नियुक्त अध्यक्ष श्यामसुन्दर श्रेष्ठले संघको उचाईलाई कायम गर्न अग्रजहरुको सल्लाह सुझाव अनुसार आफुले नयाँ टिमको तर्फबाट प्रयास गर्ने बताए भने महिला उद्यमी समितिका अध्यक्ष कमलश्वरी खर्बुजाले महिला उद्यमी उत्थानको लागि संघको निति नियम भित्र रही कार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन् । सचिव श्रीजना कक्षपतिले सहजीकरण गरेको सो कार्यक्रममा उपाध्यक्ष हरिगोपाल त्वायना धन्यवाद व्यक्त गरेको थियो भने निर्वाचित पदाधिकारी सदस्यहरुलाई भक्तपुर घरेलु साकोसबाट दहीसहितको सगुनबाट सम्मानित गर्नुका साथै प्रमुख अतिथिबाट सम्पुर्ण नयाँ कार्य समितिलाई संघको परिचय पत्र हस्तान्तरण गरेको थियो ।