भक्तपुर । हिमाल एकेडेमी स्कुलले आफ्नो २१ औँ वार्षिकोत्सव तथा सम्मान कार्यक्रम–२०८१ सम्पन्न गरेको छ । बागमति प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री थापाले बागमति प्रदेशका जनतालाई स्वास्थ्य सेवाको स्तरोन्नति गर्न आफू प्रतिबद्ध रहेको जिकिर गर्दै २०८० सालको एसईईमा ४ जिपिए ल्याउन सफल विद्यालयका विद्यार्थी विपिना मिश्रलाई सम्मान पत्र प्रदान गरेका थिए । साथै मिश्रलाई स्कुलका प्रमुख प्रदिप थापाले पच्चीस हजार नगद पुरस्कारसमेत प्रदान गरे ।
वार्षिकोत्सव कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै भक्तपुर जिल्ला समन्वय समितिका प्रमुख ईश्वर थापाले विद्यार्थीलाई शैक्षिक ज्ञानका साथै सीपका लागि समेत जोड दिनुपर्ने बताए । कार्यक्रममा प्याव्सन भक्तपुरका अध्यक्ष राजन कस्पाल, समाजसेवी मदन घिमिरे, कान्तिपुर पत्रिकाका सहायक सम्पादक राजेन्द्र बस्नेत, नेपाल पुस्तक व्यवसायी संघ भक्तपुरका उपाध्यक्ष महेश थापा लगायतको उपस्थिति रहेको थियो ।
सोही अवसरमा विद्यालयको प्रगति र भावी योजनाबारे स्कुलका प्रिन्सिपल प्रदीप थापाले २०७२ को भूकम्प र २०७७÷२०७८ को कोभिड–१९ को जटिल परिस्थितिमा अभिभावकहरूको सहयोगको उच्च कदर गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामकृष्ण थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका एसईई व्याच २०७६ देखि २०८० सम्मका १४६ विद्यार्थीहरुलाई सम्मान र मायाको चिनो प्रदान गरिएको विद्यालयकी संयोजक प्रतिक्षा केसी थापाले जानकारी दिइन् ।