भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा जिल्लामा रहेका उद्योगी व्यवसायीहरुका लागि सकारात्मक सोचको अभिबृद्धिको उत्प्रेरणा कार्यक्रम शुक्रबार सञ्चालन गरेको छ । सफल उद्यमी, सकारात्मक सोचका उत्प्रेरक, सामाजिक अभियन्ता एवं लेखक कर्ण शाक्यले कार्यक्रमको उद्घाटन गर्दै सकारात्मक सोच राखेर आआफ्नो उद्योग व्यवसायप्रति प्रतिबद्ध भएर अगाडि बढ्न आग्रह गरे । उनले आफ्नो उद्यम व्यवसायको विगतका अनुभव सुनाउँदै सकारात्मक सोच राखेर उद्यम गरेर सफलता हासिल गर्न कठिन नरहेको बताए । शाक्यले सकारात्मक सोचले खुसी सिर्जना गर्न सकिनेमा जोड दिए । उनले कुनै पनि व्यक्ति धनले मात्र खुसी हुन नसक्ने भन्दै मानिसले अर्थपूर्ण जीवन जीउन सक्नुपर्ने धारणा व्यक्त गरे । साथै उनले व्यवसायमा जोखिम मोलेर काम गर्ने व्यक्ति नै जीवनमा सधैं सफल हुने बताए ।
भक्तपुर उद्योग वाणिज्य संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले उद्यमी व्यवसायीहरुलाई सकारात्मक सोचसहितको उद्यमशीलता विषयमा उत्प्रेरणा जागृत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिइन् । उनले सकारात्मक सोच नै उद्योगी व्यवसायीहरुको लागि सफलता पाउने महत्वपूर्ण कडी भएको बताउँदै सकारात्मक सोचको परिणाम पनि सकारात्मक नै हुने बताइन् ।
यस्तैगरी प्रमुख अतिथि शाक्यले संघले प्रकाशन गरेको २०८२ सालको टेबुल क्यालेन्डर र डायरी विमोचन गरे । कार्यक्रममा संघले शिखर इन्स्योरेन्स कम्पनी लि., इम्पेरियल सेक्युरिटिज कम्पनी लि., नागरिक हस्पिटल, मिड भ्याली स्कुल तथा कलेजलाई प्रशंसा पत्र प्रदान गरेको थियो । संघकी अध्यक्ष धौबन्जाले संघमा आबद्ध जिल्लाका वस्तुगत सदस्यहरुलाई सदस्यता प्रमाण पत्र वितरण गरिन् ।