वालिङ वैशाख १० । स्याङ्जाको वालिङ नगरपालिकाका बाख्रा पालक कृषकहरु आधुनिक खोर निर्माणमा चासो देखाएका छन् । नगरपालिकाले उत्पादन बढाउने योजना सहित आधुनिक खोर निर्माण र खोर सुधारका कार्यक्रम सञ्चालन गरसँगै कृषकहरु उत्साहित भएका हुन् ।
अस्तव्यस्त तरिकाबाट बाख्रा पाल्दै आएका कृषकहरु आधुनिक खोर निर्माणसँगै उत्पादन बढ्नेमा विश्वस्त छन् । पालिकाले बाख्राको नस्ल सुधार गर्दै व्यवस्थित तरिकाबाट पालन गर्न कृषकलाई प्ररित गर्दै आएको छ । अनुदानमा आधुनिक खोर निर्माण गरेकी वालिङ नगरपालिका–५ की एकमाया मल्लले आधुनिक खोर निर्माणका कारण गाउँमा छुट्टै खुसियाली छाएको बताए । उनले अस्तव्यस्त तरिकाबाट बाख्रा पाल्दै आएकामां, अव सजिलो हुने बताए ।
अहिले १२ बाख्रा पाल्दै आएकी मल्लले खोर निर्माणसँगै बाख्राको सङ्ख्या थप्ने जानकारी दिए । गाउँका धेरै बाख्रा पालक कृषकले खोर बनाउने योजना बनाएको उनको भनाई छ । मल्ल स्थानीय दिप्का बाख्रा पालन स्वावलम्वी महिला कृषक समूहकी अध्यक्ष हुन् ।
३० जना महिला आवद्ध रहेको समूहका सदस्यहरु उत्पादन बढाउने अभियानमा लागेको समूहकी सचिव मथुरा शाहीले बताइन् । वालिङ नगरपालिका–५ मा १० जना कृषकले आधुनिक खोर निर्माण गरेका वडा अध्यक्ष छविलाल आलेले जानकारी दिए । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको सहकार्यमा सञ्चालन भईरहेको ‘वालिङ कृषि विकास परियोजना’ मार्फत आधुनिक खोर निर्माण गरिएको उनको भनाई छ । कृषकले ५० प्रतिशत अनुदानमा बाख्राको खोर निर्माण गरेका हुन् ।
बाख्राको नस्ल सुधार गर्दै उत्पादन बढाउने योजनाका साथ नगरपालिकाले वडा नं.१ देखि ७ सम्म विशेष योजना बनाएर काम गरिरहेको नगरप्रमुख कृष्ण खांणले बताए । उनले साझेदार संस्थाहरुसँग मिलेर महिलालाई उत्पादनमा जोड्ने अभियान सुरु गरेको बताए । वडाको पकेट क्षेत्र नै छुट्याएर कृषि र पशुको क्षेत्रमा काम गरिरहेको प्रमुख खांणको भनाई छ ।
नगरपालिकाले सञ्चालन गरिरहेको परियोजना मार्फत वडा नं.४, ५ र ६ मा गरी २६ वटा आधुनिक बाख्राको खोर निर्माण गरिएको नगरपालिकाका पशु सेवा शाखा प्रमुख डाक्टर रोशन बस्यालले जानकारी दिए । आधुनिक खोर निर्माणसँगै कृषकलाई बाख्रा पाल्ने तरिका र सरसफाई सम्वन्धी जानकारी दिदै आएको उनको भनाई छ ।