काभ्रेपलान्चोक । भक्तपुर जिल्लाको नगरकोट सिमाना जोडिएको काभ्रेपलान्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक तथा कर्मचारीहरू त्यसैगरी नगरपालिका मातहतका कर्मचारीहरू र जनप्रतिनिधिले समेत आफ्ना बालबालिकाहरुलाई अनिवार्यरुपमा सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको छ ।
नगर शिक्षा समितिले सो निर्णय गरेको शिक्षा अधिकृत लोकेन्द्रबहादुर बिष्टले बताएका छन् । शुक्रबार एक सूचनामार्फत शिक्षा अधिकृत बिष्टले गत चैत २६ गते बसेको शिक्षा समितिको बैठकको निर्णयको हवाला दिदैँ उल्लेखित अभिभावकले आफ्ना छोराछोरी संस्थागत विद्यालयमा(निजीमा) भर्ना गरेका भए त्यहाँबाट निकालेर अनिवार्यरुपमा सामुदायिक विद्यालयमा भर्ना गर्न भनेका छन् ।
नगर शिक्षा समितिको बैठकको निर्णय भन्दै शिक्षा समितिका सदस्य सचिवसमेत रहेका शिक्षा अधिकृत बिष्टले वैशाख मसान्तसम्म विद्यार्थी भर्ना गर्न र त्यसको प्रमाण पेश गर्न समेत सूचित गरेका छन् ।
नगरपालिकाको शैक्षिक सुधार योजना अन्तर्गत सामुदायिक विद्यालयहरुका विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक तथा कर्मचारीहरू, नगरपालिका मातहतका कर्मचारीहरू र जनप्रतिनिधिलेसमेत आफ्ना बालबालिका अनिवार्यरुपमा सामुदायिक विद्यालयमा पढाउने नीति यसै शैक्षिक सत्रदेखि कार्यान्वयन गर्ने निर्णय भएको नगर प्रमुख टोकबहादुर वाइवाले पनि पुष्टि गरेका छन् ।
नगर प्रमुख वाइवाको यो दोश्रो कार्यकाल हो । यसपटक उनी नेकपा (एकीकृत समाजवादी) का तर्फबाट गठबन्धनका उम्मेदवार रही निर्वाचित भएका हुन् । संविधानतः समाजवाद उन्मुख भईसकेको अवस्थामा सबैको पहुँचमा हुने सामुदायिक विद्यालयको विकास गर्नुको बिकल्प नभएको र त्यसको बिश्वसनीयता बढाउन बिब्यस, शिक्षक, कर्मचारी र जनप्रतिनिधिले आफ्ना बालबालिका भर्ना नगरी नहुने निस्कर्षसहित यो निर्णय गरिएको शिक्षा समितिका सदस्य एवं वडाध्यक्ष निरन्जन बिष्टले जानकारी दिए ।
सार्वजनिक शिक्षाको स्तरोन्नति गफ गरेर नहुने र शुरूवात आफैबाट गर्नुपर्नेमा एकमत भएपछि सो निर्णय भएको बिष्टको भनाइ छ । मण्डनदेउपुर नगरपालिकाले सम्भवतः देशमै पहिलो साहस गरी यस्तो निर्णय गरेको हो । शिक्षा समितिको निर्णय कार्यान्वयनको चुनौती भने पालिका माथि पर्ने नै छ । किनभने, यसको सिको अन्य पालिकाले पनि गर्ने भएकोले निजी विद्यालय संचालकहरु यसको बिरोधमा हात धोएर लाग्ने नै छन् ।
यस्तो छ पालिकामा शिक्षा समितिको संरचना
प्रमुख — संयोजक, उप–प्रमुख — सह–संयोजक, शिक्षा शाखा प्रमुख (नगर शिक्षा अधिकारी) — सदस्य सचिव, वडा अध्यक्षहरू — सदस्य, सामुदायिक विद्यालयका प्रधानाध्यापक प्रतिनिधि — सदस्य, निजी विद्यालयका प्रतिनिधि — सदस्य, शिक्षक महासंघ प्रतिनिधि — सदस्य, शिक्षक अभिभावक संघका प्रतिनिधि — सदस्य र नगरस्तरीय नागरिक समाज ÷ अभियन्ता प्रतिनिधि — सदस्य,
शिक्षा समितिको निर्णय कार्यान्वयन सन्दर्भमा मण्डनदेउपुर नगरपालिकाको सूचना