सम्पदा यात्राको नाममा एनएएमबी बैंकको बजारमुखी पदयात्रा

0

भक्तपुर । २०८२ सालको बैशाख २० गते शनिबार सम्पदा दिवसको अवसर पारेर एनएएमबी बैंकले “सम्पदा यात्रा” सम्पन्न गरेको छ । उपत्यकामा रहेका आफ्ना कर्मचारीहरूलाई पिच सडकमा हिँडाएर वार्षिक कार्यक्रमको निरन्तरता दिएको छ । यो यात्राको उद्देश्य ऐतिहासिक सम्पदाको अवलोकन भन्ने दाबी गरिए पनि वास्तवमा त्यसले सांस्कृतिक संरक्षणभन्दा बढी बैंकको प्रचारमुखी चाल भएको प्रष्ट देखिन्छ ।

यात्रा मध्यपुर थिमिको शंखधरचोक देखि पुरानो थिमि हुँदै बोदे गेटसम्मको २५०० मिटर पिच सडकमार्गमा सञ्चालन गरियो, जहाँ अधिकांश स्थानमा पैदलयात्राका लागि फुटपाथको व्यवस्था छैन । पैदलयात्राका लागि अयोग्य पिच सडकमा कर्मचारीहरूलाई हिँडाउने कार्य, “सुरक्षा, सुविधा र सम्पदा संरक्षण” को आदर्शसँग मेल खाँदैन ।

बैंकले यो कार्यक्रमलाई ‘सांस्कृतिक अवलोकन’ को रुपमा प्रस्तुत गरे पनि यात्रा आयोजना हुने मार्गहरू भौगोलिक दृष्टिले यातायातको चाप बढ्ने क्षेत्र हुन् । थिमि नगरपालिकाले अझै पनि पैदल यात्रीका लागि छुट्टै पैदलमार्गको व्यवस्था नगरेको अवस्थामा यस्तो यात्रा थप अव्यवस्था निम्त्याउने कार्य हो ।

कार्यक्रमको यात्रामार्ग क्वलाखु बालकुमारी मन्दिर, थिमि लायकू परिसर, दिगुटोलको दिगु भैरव मन्दिर, चैत्य, पाटी बिहार, नगदेशको सिद्धि गणेश मन्दिर र सुनको आँखी झ्याल रहेको सिद्धिगणेश मन्दिर प्रवेश द्वार हुँदै बोदे गेटसम्म विस्तार गरिएको थियो । यस क्रममा नगदेशको ऐतिहासिक सम्पदा सुनको आँखीझ्याल, सिद्धिगणेश मन्दिर, नगदेश दरबार र डम्पिङ साइटको छेउमा रहेको चैत्य अवलोकन गरियो ।

नगदेशमा यस अघि फोहर फाल्ने ठाउँमा अहिले चैत्य बनाइएको छ । यो कथा अरु स्थानीय तहले पनि अनुसरण गर्न योग्य देखिन्छ । सम्पदा अवलोकनको रूपमा प्रस्तुत गरिए पनि कार्यक्रमले सम्पदाको संरक्षण र सरसफाइको सवालमा कुनै ठोस सन्देश दिन सकेन ।

बादे पुगेर खाँसी पुखु, लाछी पुखु, कमल पोखरीलगायतका पोखरीहरूको भ्रमण गरे । त्यस्तै, बिस्का जात्रामा प्रयोग हुने सुइरोहरूसमेत अवलोकन गरियो । तर अवलोकन मात्रै गरेर त्यो सम्पदाको संरक्षण गर्न सकिन्छ भन्ने मान्यता त्रुटिपूर्ण छ ।

अन्तिममा बोदे दरबार परिसरमा आयोजित औपचारिक कार्यक्रममा बैंकले नेपाल सम्पदा संघलाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण ग¥यो भने स्थानीय क्षेत्रलाई फोहोर राख्ने भाँडाहरू उपहार दिइयो । यो सामाजिक उत्तरदायित्वअन्तर्गतको प्रयास भए तापनि बैंकको यो प्रकारको कार्यक्रम वातावरणीय सुरक्षा, यातायातको नियमितता र सम्पदाको संवेदनशीलता प्रतिकूल बन्ने सम्भावना यथावत् छ ।

यसप्रकार, “सम्पदा यात्रा” को मूल उद्देश्य सांस्कृतिक चेतना वृद्धि भए पनि त्यसको कार्यान्वयन शैली, विशेषगरी पिच सडकमा हिँडाउने निर्णय, स्थानीय अवस्थाको संवेदनशीलता बुझ्न नसकेको देखिन्छ । यदि यस्तो अभियान साँचो अर्थमा सार्थक बनाउनु छ भने, सम्बन्धित निकायले बाटो, पैदलमार्ग, सरसफाइ र ट्राफिक व्यवस्थापनको पूर्वतयारीमा ध्यान दिन आवश्यक छ ।

सम्पदा यात्राको नाममा हिँडाइ’ कार्यक्रम प्रचारभन्दा संरक्षणमुखी बनोस्, भन्ने अपेक्षा नगरवासी र सम्पदा प्रेमी सबैले राख्नु स्वाभाविक छ । साथै मध्यपुर थिमिकै धार्मिक पर्यटकीय क्षेत्रको रुपमा रहेको निल बाराही मन्दिर परिसरमा भुक्षयको कारण मन्दिर परिसर पुरै जाखिमा परेको कारण सम्पदा यात्रा बोदेसम्म सीमित गरिएको र सो सम्पदा यात्रा थिमिको पहिचान प्रचार प्रसारमा भन्दा बैकको बजारमुखी कार्यक्रम जस्तो देखिएको स्थानीयको भनाई छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top