नेपाली ट्राभल एजेन्सीसँग फिरौंती असुल्ने प्रयासमा बिमान बंगलादेश

0

भ्रष्ट कन्ट्री म्यानेजरले एजेन्सीबाट करोडौं कुम्ल्याए

सन् २०२३ र २०२४ मा भएको कारोबारमा लाग्ने जरिमाना भन्दै विमान बंगलादेशले नेपाली ट्राभल एजेन्सीलाई अनाधिकृत विल पठाएर आतंक मच्चाएको छ । २०२३ अक्टुबर देखि २०२४ जुन महिना सम्म भएको टिकट बुकिङमा जिडिएस सिस्टमको गलत प्रयोग गरेबापातको जरिमाना (एडिएम) भन्दै तिन ट्राभल एजेन्सीलाई झण्डै एक करोड नेपाली रुपैंयाको विल पठाएको हो ।

“यो विल पूर्ण रुपमा पूर्वागही ढंगबाट तयार गरिएको छ ।” पिडित ट्राभल एजेन्सीका संचालकहरुले संयुक्त रुपमा वताए, “हामी कुनै पनि प्रकारले संलग्न नभएको कारोबारको विल एकतर्फी रुपमा विमान बंगलादेशले पठाई हामीसँग फिरौतीको रुपमा रकम माग गरिएको छ ।”

के हो विवाद?

इम्पायर ट्राभल, सेभेनस्टार इन्टरनेशनल ट्राभल र ओशो ट्राभल्सलाई विमान बंगलादेशले एडिम पठाएको घटनामा, तिनै ट्राभल एजेन्सी कतै पनि संलग्न नै नभएको कारोबारमा पठाईएको ठूलो रकमको जरिमाना नै यसको विवादको जड हो । आएटा सर्टिफिकेसन नलिएका नन् आएटा ट्राभल एजेन्सी स्काईलाईन, मिदोरी, फ्लाईट सस्तो र जर्नि ज्वेल्स् ट्राभल एजेन्सी मार्फत जिडिएस सिस्टमको दुरुपयोग गरिएको र सो को जरिमाना भन्दै इम्पायर ट्राभल, सेभेनस्टार इन्टरनेशनल ट्राभल र ओशो ट्राभल्सलाई विमान बंगलादेशले जरिमानाको विल पठाएको हो । स्काईलाईन, मिदोरी, फ्लाईट सस्तो र जर्नि ज्वेल्स् ट्राभल एजेन्सीसँग ब्यावासायिक कारोबार बाहेक कुनै सम्बन्ध नभएका इम्पायर ट्राभल, सेभेनस्टार इन्टरनेशनल ट्राभल र ओशो ट्राभल्सलाई विमान बंगलादेशले आएटा मार्फत एडिम पठाएर रकम असुल्न खोज्नु भनेको अपहरण गरेर फिरौती असुल्नु बराबर हो । ट्राभल ब्यावसायीहरु भन्छन्, “यो अन्याय मात्र होईन यसभित्र ठूलो षड्यन्त्रको गन्ध छ ।” 

कसरी पठाईयो एडिएम

बंगलादेश बाट जापान, लण्डन र क्यानडा सम्म उडान भर्न थालेपछी विमान बंगलादेशले कोभिड पछाडिको समयमा नेपालबाट उल्लेख्य यात्रु प्राप्त गर्नथाल्यो । निक्कै महङे हवाई टिकट दर भएको तत्कालिन समयमा विमान बंगलादेशले सस्तो टिकट दर सार्वजनिक गरेपछी सेवा राम्रो नभए पनि ट्राभल एजेन्सी र यात्रु समेत विमान बंगालदेश तर्फ आकर्षित भए । यस सँगै बिना कमिसन र घुस डेक नहल्लिने भनेर चिनिएका तत्कालिन कन्ट्री म्यानेजर अनिसुर रहमान पैसा नै असुल्ने धन्दामा लागिपरे । ट्राभल एजेन्सीले पनि बाध्य भएर दशौं लाख कमिसन बुझाउँदै क्यापिङ र टिकेटिङ अथोरोटी लिए । तर पनि बिमान बंगलादेशका कन्ट्री म्यानेजरलाई कमिनस नबुझाए सम्म सिस्टममा सिट नै देखिंदैन थियो । उनलाई जसले कमिसन बुझायो त्यसैले मात्र सिट पाउने अवस्था थियो । यसमा एक ठूलै ट्राभल्स एजेन्सीका निर्देशकले पनि विचौलियाको राम्रै भूमिका खेले । उनै विचौलिया मार्फत नै अनिसुर रहमानले कमिसन र अण्डर टेबल रकम बुझ्नेगर्थे ।

यही क्रममा स्काईलाईन ट्राभल्सका सुदिप खनाल पिक्चरमा आउँछन् । उनले विमान बंगलादेशको यो परिस्थितीलाई ठूलो अवसरको रुपमा देखे र स्काईलाईनका साथमा थप तिन वटा ट्राभल एजेन्सी मिदोरी, फ्लाईट सस्तो र जर्नि ज्वेल्स ट्राभलका नाउँमा समेत ग्यालिलियो नेपालबाट टिकेटिङ सिस्टम लिन सफल भए । यसमा ग्यालिलियोले कस्ता डकुमेन्टका आधारमा एकै व्याक्ति लाई  एकै ठेगानमा चार चार वटा अलग सिस्टम किन र कसरी दियो त्यो पनि ठूलो प्रश्न बनेको छ ।

यता चार भिन्न एजेन्सीको नाउँमा टिकेटिङ सिस्टममा एक्सेस पाएका सुदिपले विभिन्न सिस्टममा बिमान बंगलादेशका सबै टिकट बुक गर्ने र लामो समय होल्ड गर्न थाले । जसबाट सिस्टममा सिट आउँदैन थियो र उनीसँग मात्रै हुन्थ्यो । उनले सो अवधिमा एकछत्र ब्यापार गरे । यो लेभलको ब्यापार कसरी एउटै ट्राभल एजेन्सीबाट भयो हामी छक्क पथ्र्यौं, त्यही बेला शंका त लागि सकेको थियो एअरलाईन्सको मिलेमतो विना यो संभव थिएन । पिडित ब्यावसायि बताउँछन्, “त्यही बेला सुदिप र अनिसुरको मिलेमतो शुरु भईसकेको रहेछ ।”

सामान्यतया एअरलाईन्सले यो कुरा थाहा पाउन कति पनि समय लाग्दैन र समयमै थाहा पनि पाएकै रहेछ । त्यसैले, अनिसुरले भविष्यमा केहि परे बच्नकै लागि त्यही बेला ग्यालिलियो सँग इन्क्वायरी पनि गरेछन् । सिट धेरै होल्ड गर्ने यि चारै एजेन्सीको बारेमा । जसलाई ग्यालिलियोले पनि आधिकारीक रुपमा जवाफ विमान बंगलादेशलाई सोही बेला दियो तर बजारमा यो कुरा आईनै पुगेन । अनिसुरले आँर्फैसँग गुपचुप राखे । 

अनिसुर रहमानले पनि यो जानकारी आएपछी न त ति नन् आयटा एजेन्सीको टिकट इस्यु गरिदिने ट्राभल एजेन्सीलाई सोको जानकारी गराए न त स्काईलाईन तथा ति ट्राभल एजेन्सीलाई कारवाहीको दायरामा ल्याउने कोशिस गरे । बरु यो केस मिलाईदिने भन्दै रकम उठाउन विचौलिया सलबलाए । स्काईलाईनका सुदिपले पैसा दिए दिएनन् प्रष्ट भएन तर जिडिएस मिसयुज रोकिएन झन् मौलायो । यो अहिले बिमान बंगलादेशले पठाएको समरीले प्रष्टै देखाउँछ । यसबाट स्काईलाईनका सुदिप र अनिसुर रहमान तथा जिडिएसको समेत मिलेमतोमा राम्रै रकम कुम्ल्याउन उनीहरु सफल भए । 

अनिसुर रहमान कन्ट्री म्यानेजर रहँदा सम्म यो धन्दा अन्तिम दिनसम्मै मौलाएको देखिन्छ । तर, उनको यो आर्थिक अनियमितता लामो समय छुप्ने खालको थिएन । विमान बंगलादेशको मुख्यालयले थाहा पायो र अनिसुरको नेपालमा कार्यकाल नथप्ने भयो । अनिसुर बंगलादेश फर्किए, अनिसुरको यो धन्धा छताछुल्ल भयो । अनि आफ्नो जागिर जोगाउन अनिसुरले बल्ल इनिसिएटिभ लिए, एडिएम रेज गरे अनि विलिङ चाहिं इम्पायर ट्राभल, सेभेनस्टार इन्टरनेशनल ट्राभल र ओशो ट्राभल्सलाई भाग बण्डा लगाएर गरिदिए । स्काईलाईन, मिदोरी, फ्लाईट सस्तो र जर्नि ज्वेल्स् ट्राभल एजेन्सीले यसमा छुट पाए, उनीहरुले गरेको घोटालाको विल तिर्ने जिम्मा अरुलाई दिईयो । किनकी नन् आएटा एजेन्सीलाई एअरलाईन्सले आएटाबाट फाईन लगाउन मिल्दैन र सिधै स्काईलाईनबाट उठाउन अनिसुरले मिल्ने भएन, किनकी उनको त मिलेमतो भएको ठाउँ नै त्यही थियो । त्यसैले यहाँ यि ट्राभल एजेन्सी सँग कारोबार गर्ने गरेकै भरमा फिरौती उठाउने शैलीमा इम्पायर ट्राभल, सेभेनस्टार इन्टरनेशनल ट्राभल र ओशो ट्राभल्सलाई विल पठाईयो ।

विमान बंगलादेशका बद्मासी र शंकास्पद ब्यबहार

१. सिस्टम मिसयुज भएको डिसेम्बर २०२३ मै थाहा पाएर पनि चुप लागेर बस्नुर अनिसुर रहमान बंगलादेश फर्किएपछी एडिएम रेज गर्नु ।

२. ब्यावसायिक कारोबारको सम्बन्ध भएकै कारण इम्पायर ट्राभल, सेभेनस्टार इन्टरनेशनल ट्राभल र ओशो ट्राभल्सलाई विलिङ गर्नु । सिस्टम मिस युज गरेका एजेन्सी र पिडित एजेन्सी विच जिडिएस मार्फत लिंक गरिने कुनै पनि किसिमको आएटा नम्बर लिंक नभएको प्रमाण जिडिएसले दिंदा दिंदै पनि लिंक भएको भनेर भन्नुले एअरलाईन्सको नियत नै खराव भएको देखाउँछ ।

३. स्काईलाईनका साथमा थप तिन वटा ट्राभल एजेन्सी मिदोरी, फ्लाईट सस्तो र जर्नि ज्वेल्स ट्राभलको संचालक तथा ठेगाना एउटै भएको र स्काईलाईन आएटा सर्टिफाईड ट्राभल एजेन्सी भएर पनि स्काईलाईनले गरेको जिडिएस मिसयुज थाहा पाउँदा पाउँदै स्काईलाईन लाई एडिएम रेज नगरी अरुलाई गर्नु र स्काईलाईनलाई जोगाउनुमा अनिसुर रहमान र सुदिप खनालको मिलेमतो प्रष्टिन्छ ।

४. आएटाको नियम अनुसार पुरा डिटेल दिएर मात्र एडिएम रेज गर्नुपर्नेमा विमान बंगलादेशको आन्तरिक इमेलको स्क्रिन सट राखेर एडिएम रेज गर्नु अनि देशै भरका नन् आयटा एजेन्सीको एडिएम सिधै तिन ट्राभल एजेन्सीलाई भाग बण्डा गरेर विलिङ गर्नुले अनिसुर रहमानले आफ्नो गल्ति ढाकछोपका लागि एजेन्सीलाई मोहोरा बनाईएको प्रष्टै छ ।

५. इम्पायर ट्राभल २०२३ जुनमा र सेभेनस्टार इन्टरनेशनल ट्राभलले २०२४ फेब्रुअरिमा क्यापिङ लिए पनि विमान बंगलादेशको क्यापिङ लिनु भन्दा पहिल्यै देखिको जिडिएस मिसयुजको पनि विलिङ गर्नुले यो विलिङमा गलत नियत राखिएको प्रष्ट हुन्छ ।

६. एडिएम रेज गर्ने क्रममा प्रमाणको रुपमा आएटामा राखिएको आन्तरिक स्क्रिन सटमा जस्तो सुकै डिस्प्युट भएपनि डिक्लाईन गर्नु भन्ने प्रि डिसाईडेड इमेल राखिनुले यसमा डिस्प्युट आउँछ तर पनि पैसा चाहिं असुल्ने भन्ने फिरौतीको लेभलको नियत देखिन्छ ।

यि सबै पक्षले विमान बंगलादेश आएटाको भरमा नेपाली ट्राभल एजेन्सीबाट सिधै रकम उठाउने कुनै कुरै नसुन्ने रणनीतिमा लागेको देखिन्छ भने आएटाले पनि यसमा ट्राभल एजेन्सीको गुनासो सम्बोधन गर्ने कुनै कोशिस नै गरेको पाईंदैन । आएटामा गरिएका गुनासोको कस्टरम सर्भिस डिपार्टमेन्टले जेनेरेकि रिप्लाईमा समय गुजारेको देखिन्छ ।

के भन्छन अन्य ट्राभल एजेन्सी?

इम्पायर ट्राभल, सेभेनस्टार इन्टरनेशनल ट्राभल र ओशो ट्राभल्स माथि स्पष्ट रुपमा अन्याय भएकोमा नेपालका प्रमुख र ठूला ट्राभल एजेन्सीको ऐकबद्धता रहेको छ । २० भन्दा बढी ठूला ट्राभल एजेन्सीले विमान बंगलादेशको मुख्यालय तथा सम्बन्धित पक्षलाई यो अन्यायको विरुद्ध आवाज उठाउँदै एडिएम पुनरावलोकनको आग्रह गरेका छन् । नेपालको दश उत्कृष्ठ ट्राभल एजेन्सी मध्येको प्रवास ट्राभल्सका संचालक तथा प्रबन्ध निर्देशक प्रकाश लोहनी भन्छन्, “यो हदै सम्मको अन्याय हो । नखाएको विष कसैलाई लाग्दैन । विना आधार, विना प्रमाण एअरलाइन्सले एडिएम लगाउने, अनि यसलाई स्विकार गर्नु भनेको यो ब्यावसाय नगर भनेको हो । यसलाई बिमान बंगलादेशले तत्काल नसच्याए हामी बिमान बंगलादेश सँग थप कारोबार गर्न सक्दैनौंं, सबै किसिमका सेवा वहिस्कार गर्दै बिमान बंगलादेशको टिकट काट्न बन्द गर्छौं । त्यतिमात्र नभई विमान बंगलादेशको काठमाडौं स्थित कार्यालय ताला लगाउन पनि बाध्य हुनेछौं । हामी यस विषयको समाधानको लागि हाल विभिन्न निकायमा समन्वयन गरिरहेका छौं, र बिमान बंगलादेशलाई तत्काल आफ्नो गल्ति सच्याउन पनि अनुरोध गर्दछौं । कुनै गल्ति वा त्रुटी विना कारवाही गर्नु पनि अपराध हो यो अपराध बिमानले तत्काल सच्याओस् ।“

विना कानुनी आधार दिईएको दबाब

बिमान बंगलादेशको यो पुरा एडिएम रेज गर्ने प्रयासमा कुनै पनि कानुनी मान्यता, आएटाका नियम, एअरलाईन्सका आफ्नै नियम र इण्डष्ट्रि नर्मस् पनि पालना गरिएको छैन । यो पूर्ण गैह्र न्यायिक छ । अनि एअरलाईन्सका कर्मचारीका गल्तिहरुको ढाकछोप गर्न पुरा एअरलाईन्स संयन्त्र र मुख्यालयले पनि न्यायिक सिद्धान्त विपरित कार्य गरेको प्रष्ट देखिन्छ । यसको विरुद्धमा ट्राभल एजेन्सीहरु एक भएर ब्यावसायिक संगठनहरु नाटा, पर्यटन विभाग, पर्यटन मन्त्रालय तथा नागरिक उड्डयन प्राधिकरण समेत गुहार्दैछन् ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top