विश्वकै एकमात्र कार, जुन काठ, कोइला र कागजले चल्छ !

0



एजेन्सी । विश्वमै यस्तो एउटा कार छ, जुन न त पेट्रोल न त डिजेलमा, तर काठ, कोइला र कागज बालेर स्टीमको माध्यमबाट चलाइन्छ । यो कार हाल करिब ४० करोड नेपाली रुपैयाँ बराबरको मूल्य छ । करिब १४१ वर्षअघि फ्रान्समा निर्माण गरिएको यो कार अहिलेसम्म पनि सञ्चालन योग्य अवस्थामा छ । यसको नाम हो “ला मर्कुइज” ।

१४१ वर्ष पुरानो कार, तर अझै पनि दौडन सक्छ

सन् १८८४ मा फ्रान्सका तीन इन्जिनियरहरू डि डियोन, बटन र ट्रेपारडोक्सले संयुक्त रूपमा यो कार निर्माण गरेका थिए । यो विश्वको सबैभन्दा पुरानो चल्न सक्ने विंटेज कार मानिन्छ । काठ, कोइला र कागज बालेर स्टीम बनाइने र त्यही स्टीमबाट कारको इन्जिन चल्ने प्रणालीमा आधारित यो कारको अधिकतम गति ६१ किलोमिटर प्रति घण्टा छ ।

दुईवटा स्टीम इन्जिनले चल्छ यो कार

ला मर्कुइज दुईवटा ट्याण्डम कम्पाउन्ड स्टीम इन्जिनबाट चल्ने गर्दछ, जसले अगाडि र पछाडिका पाङ्ग्राहरूमा शक्ती पु¥याउँछन् । प्रत्येक इन्जिनले करिब ५२०० आरपीएममा २ हर्सपावर उत्पादन गर्छ । इन्जिनबाट उत्पादित शक्तिलाई बेल्ट ड्राइभमार्फत पाङ्ग्रासम्म पु¥याइन्छ, यद्यपि कहिलेकाहीं बेल्ट चिप्लिने समस्या देखा पथ्र्यो ।

१५० लिटर पानी अट्ने ट्याङ्की, जुन सिटमुनि रहन्छ

यो कारमा चार जनाको सिटको व्यवस्था छ । रोचक कुरा के छ भने, अगाडिको सिटमा बसेका यात्रु पछाडि फर्किएर बस्नुपर्छ । सिटमुनि रहेको ट्याङ्कीमा १५० लिटर पानी अट्छ, जसले ३२ किमी यात्रा सम्भव बनाउँछ । कार चलाउनुभन्दा ३०–३५ मिनेट अगाडि नै तताउन थालिन्छ, ताकि आवश्यक स्टीम तयार होस् ।

कारमा प्रयोग भएको स्टीम सिस्टमको संरचना

कारमा एक ठाडो बायलर रहेको छ, जुन कोइला, काठ र कागजका टुक्रा बालेर तातो बनाइन्छ । आगो बायलरको बीचमा रहेको पाइपमार्फत लगातार बालिन्छ । बायलरको चारैतिर चौको बंकरमा इन्धन राखिन्छ । कोक÷कोइला तलको दराजबाट निकालिन्छ ।

केवल ९ फिट लामो कार

यो कार ९ फिट लामो र करिब २१०० पाउन्ड (९५० किलो) तौलको छ । सुरुमा यसमा कुनै सस्पेन्सन थिएन । धातुका पाङ्ग्राहरूलाई पछि गएर रबरले बेरेर सुरक्षित बनाइएको थियो । स्टेरिङ्ग “स्पेड ह्यान्डल“ प्रकारको छ, जुन आजको कारभन्दा बिल्कुल फरक छ ।

इतिहासमै पहिलो कार रेसमा सहभागिता

सन् १८८७ मा यो कारले इतिहासकै पहिलो कार रेसमा भाग लिएको थियो र ६० किमी प्रतिघण्टा स्पीडसमेत निकालेको थियो । हालसम्म यस कारका केवल चारजना मात्र मालिक भएका छन् । सबैभन्दा लामो समय यो कार फ्रान्सको डोरियोल परिवारसँग ८१ वर्षसम्म रह्यो ।

४० करोड रुपैयाँमा नीलामीमा बिक्री

सन् १९८७ मा इंग्ल्यान्डका टिम मूरले यो कार ९०,००० अमेरिकी डलर (झण्डै ७८ लाख रुपैयाँ) मा खरिद गरे र फेरि सञ्चालन योग्य बनाए । उनले पुराना ब्रास फिटिङ्गहरू, पाइपहरू आदि पुनः निर्माण गराए । सन् २०११ मा सोथेबी नीलामीमार्फत यो कार पुनः बिक्री भयो, र यसपटक यसको मूल्य ४० करोड रुपैयाँ पुगेको थियो । किन्ने व्यक्तिको पहिचान गोप्य राखिएको छ ।


आजको दिनसम्म चल्न सक्ने एक मात्र यस्तो कार

ला मर्कुइज आज पनि ३८ माइल प्रतिघण्टा (६१ किमी) स्पीडमा चल्न सक्छ, तर यसको संरचना र ब्रेकिङ सिस्टम आधारभूत स्तरको भएकाले यति गतिमा सुरक्षितरूपमा चलाउनु चुनौतीपूर्ण हुन्छ । यसको समयको तुलनामा केवल रेल मात्र यसभन्दा छिटो हुन्थे ।

पेट्रोल इन्जिन आएपछि इतिहास बन्न पुग्यो

स्टीम इन्जिनको साटो जब पेट्रोल इन्जिनको विकास भयो, त्यतिबेलादेखि स्टीम कारहरूको प्रयोग घट्दै गयो । सन् १९०४ सम्म स्टीम इन्जिन भएका बस तथा ट्रकहरू उत्पादन भइरहे पनि, ला मर्कुइजजस्ता साना स्टीम कारहरूको उत्पादन बन्द गरियो । स्टीम प्रणाली जटिल, भारी र महँगो हुने हुँदा प्रायः सबै स्टीम कारहरू आज संग्रहालयमा सीमित छन् । तर ला मर्कुइज भने अझै पनि चल्न सक्ने अवस्थामा जीवित इतिहास बनेर उभिएको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top