विवाहित महिलामाथि यौन दबाब कायमै रहेको सहभागीको भनाइ
भक्तपुर । संसारका सबै मानिस स्वतन्त्र भनिए पनि महिलाले आफ्नै शरीरमाथिको अधिकार कहिले पूर्ण रूपमा प्राप्त गर्ने भन्ने प्रश्न भक्तपुरमा आयोजित एक कार्यक्रममा उठाइएको छ । विशेषगरी विवाहपछि पनि महिलाको यौन इच्छाभन्दा श्रीमान्को चाहनालाई प्राथमिकता दिनुपर्ने सामाजिक दबाब कायमै रहेको भन्दै सहभागी महिलाहरूले यस्तो अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।
महिला जागरण तथा विकास केन्द्र, काठमाडौंले बिहीबार भक्तपुरमा आयोजना गरेको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत दोस्रो दिनको सरोकारवाला समूह सञ्जाल बैठकमा सहभागीहरूले महिलाको शारीरिक स्वायत्तता, यौन तथा प्रजनन अधिकार र सामाजिक विभेदका विषयमा गम्भीर प्रश्न उठाएका हुन् ।
बैठकमा सहभागी महिलाहरूले विवाहपछि श्रीमान्सँग यौन सम्बन्ध राख्नैपर्ने बाध्यता अझै पनि नेपाली समाजमा विद्यमान रहेको बताए । महिलाले यौन सम्बन्धका लागि इच्छा नहुँदा अस्वीकार गर्न पाउने अधिकारबारे समाजमा पर्याप्त चेतना नभएको उनीहरूको भनाइ थियो । ‘विवाह गरेपछि श्रीमान्सँग सुत्नु परेन त ?’ भन्ने प्रश्न अझै पनि महिलाले सामना गर्नुपर्ने अवस्था रहेको उनीहरूले बताए ।
कार्यक्रममा आयोजक संस्थाकी सल्लाहकार डा. अनिता श्रेष्ठले विवाहित महिला श्रीमान्को यौन चाहना पूरा गर्नकै लागि हुन् भन्ने गलत सामाजिक मान्यता अझै कायम रहेको बताइन् । महिलालाई घरायसी काम गर्ने श्रमिकका रूपमा मात्र हेर्ने प्रवृत्तिले उनीहरूको स्वतन्त्रता, सम्मान र अधिकार कुण्ठित भइरहेको उनको भनाइ थियो ।
महिलाले जन्मेदेखि नै समान मानवीय व्यवहार र सम्मान प्राप्त गर्न नसकेको उल्लेख गर्दै उनले श्रीमान्ले कुटपिट गरे पनि महिलाले सहनुपर्छ भन्ने गलत सोचसमेत नेपाली समाजमा विद्यमान रहेको बताइन् । यस्ता सामाजिक मान्यता र सोचमा परिवर्तन नआएसम्म महिलामाथिको हिंसा अन्त्य गर्न कठिन हुने उनको धारणा थियो ।
बैठकमा सहभागीहरूले महिलामाथि हुने हिंसा नियन्त्रणका लागि नेपालमा पर्याप्त कानुनी व्यवस्था भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको विषय उठाए । कानुन निर्माण गरेर मात्रै हिंसा अन्त्य नहुने भन्दै उनीहरूले दण्डहीनताको अन्त्य, दोषीलाई कानुनी कारबाही र पीडितलाई न्यायको सुनिश्चितता गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा आयोजक संस्थाका संस्थापक अध्यक्ष तथा रणनीतिक सल्लाहकार वरिष्ठ अधिवक्ता प्रा.डा. शशी अधिकारीले महिलामाथि हुने हिंसा रोकथाम र न्यायमा पहुँचसम्बन्धी कानुनी व्यवस्थाबारे सहजीकरण गरेकी थिइन् ।
उनले पीडित केन्द्रित न्याय प्रणाली, लैङ्गिक हिंसासम्बन्धी सेवा प्राप्तिमा देखिएका चुनौती, सरोकारवाला निकायको भूमिका तथा हिंसापीडित महिलाका लागि उपलब्ध सेवा र प्रेषण प्रणाली (रेफरल मेकानिजम) का विषयमा प्रस्तुति दिएकी थिइन् ।
छलफलका क्रममा सहभागीहरूले हिंसा प्रभावितले न्याय प्राप्त गर्ने प्रक्रियामा भोग्नुपर्ने समस्या, उपलब्ध सेवामा पहुँचका कठिनाइ तथा सम्बन्धित निकायबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा आ–आफ्ना धारणा राखेका थिए । पीडितको सुरक्षा, गोपनीयता र न्यायमा सहज पहुँच सुनिश्चित गर्न सरकारी निकाय, सामाजिक संस्था तथा अन्य सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उनीहरूको निष्कर्ष थियो ।
कार्यक्रममा सरकारी वकिल कार्यालय भक्तपुर, सूर्यविनायक नगरपालिका सामाजिक विकास शाखा, सूर्यविनायक नगर बाल सञ्जाल, जगाती महिला सेल, सुवर्णेश्वर विद्यालय, भक्तपुरमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
यसैबीच, आयोजक महिला जागरण तथा विकास मञ्चले सूर्यविनायक नगरपालिका–६ मा महिला समूह गठन गरी महिलाको आर्थिक सशक्तीकरणका लागि विभिन्न आयआर्जनमूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
संस्थाका अनुसार महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनुका साथै उद्यमशीलतामार्फत सामाजिक तथा आर्थिक रूपमा सक्षम बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन भइरहेको छ । महिलाको आर्थिक सशक्तीकरणसँगै लैङ्गिक हिंसाको अन्त्य, दण्डहीनताको न्यूनीकरण र पीडितलाई न्यायको सुनिश्चितताका लागि पनि संस्थाले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
