काठमाडौं। आगामी भदौ २० गते (सेप्टेम्बर ५, २०२५) देखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘चिट्ठी’ को दोस्रो गीत ‘सिन्दुरको रंग’ सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक समारोहमा सञ्चारकर्मी र कलाकारहरूको उपस्थितिमा गीत सार्वजनिक गरिएको हो ।
निर्देशक माधव राज खरेल निर्देशित यो चलचित्र एरा प्रोडक्सन को ब्यानरमा निर्माण गरिएको हो । चलचित्रलाई *कुवेर डिस्टिब्युटर्स प्रा.लि.*ले वितरण गर्नेछ । निर्माण टिमका अनुसार ‘चिट्ठी’ हरर र कमेडी जनरामा आधारित भए पनि यसले सामाजिक यथार्थ, पारिवारिक भावना र समसामयिक विषयवस्तुलाई उठान गर्ने प्रयास गरेको छ ।
सार्वजनिक गरिएको ‘सिन्दुरको रंग’ चलचित्रको भावनात्मक केन्द्रबिन्दु हो । गीतमा विवाह, समर्पण, महिलाको मौन संघर्ष, र पतिप्रतिको विश्वास तथा आस्थालाई चित्रण गरिएको छ ।
निर्देशक खरेलका अनुसार, “‘सिन्दुरको रंग’ केवल गीत मात्र होइन, महिलाको अन्तरआत्माको आवाज हो, जसले दर्शकको हृदय छुनेछ ।”
‘चिट्ठी’ पत्रकार, भूमाफिया, मानसिक रोगी र अदृश्य आत्माबीचको द्वन्द्वमाथि आधारित रहेको जनाइएको छ । सामाजिक विकृति, मानवीय प्रवृत्ति र संस्थागत असन्तुलनलाई उजागर गर्ने यो चलचित्रले फरक स्वाद दिने उद्देश्य राखेको निर्माण पक्षको भनाइ छ ।
चलचित्रमा खड्गबहादुर पुन ‘खबपु’, संजीत भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नबराज थापा, प्रबण भुषाल, मुस्कान लामा, कञ्चन चालिसे, मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल, राजन थापा, रश्मी भट्ट, मुना निरौला, कविन्द्र त्रिपाठी, पुरुषोत्तम सानु, सोमा खत्री, प्रल्हाद खरेल, डेभिल सिंह राजपुत, समिर लामा, राजु कार्की, र रज्जु गुरुङ लगायतको अभिनय रहेको छ ।
चलचित्रको छायांकन जीवन पराजुली र राजन खरेलले गरेका हुन् भने सम्पादन राजेश कुमारले गरेका छन् । ध्वनि सम्पादन मनोज परियार र ५.१ मिक्स अमित श्रेष्ठले गरेका छन् । भीएफएक्स समिर मियाँको रहेको छ । चलचित्रको पृष्ठभूमि संगीत पुष्कर खत्रीले तयार पारेका हुन् ।
चलचित्रमा समावेश अर्को गीत ‘टुटेको तारा’ मा डा. कृष्णहरि बरालको शब्द, संगीत सरोज कोइरालाको रहेको छ भने गायन शिव परियारले गरेका छन् । त्यस्तै, ‘शिवताण्डव’ गीतमा बसन्त अर्यालको स्वर र संगीत संयोजन राजेन्द्र बजगाईंको रहेको छ ।
गीत सार्वजनिक कार्यक्रममा चलचित्रका निर्माता, कलाकार, र संगीतकर्मीहरूले चलचित्र निर्माणको अनुभव, गीतको सन्देश र भावनासम्बन्धी धारणा राखेका थिए । निर्माता स्वयं सञ्चारकर्मी कमला जोशी हुन् ।
निर्माण पक्षले चलचित्र ‘चिट्ठी’ लाई समसामयिक विषयवस्तु समेटिएको, मनोरञ्जनात्मक र भावनात्मक सन्देश दिने चलचित्रका रूपमा प्रचार गर्दै आएको छ ।
चलचित्र भदौ २० गतेदेखि देशव्यापी प्रदर्शनमा आउनेछ ।