नेपालमा व्यवसाय सुरु गर्नु धेरैका लागि सपनाको यात्रा हो। तर कम्पनी दर्ता र कानुनी अनुपालनका प्रक्रियाहरू धेरै नयाँ उद्यमीहरूका लागि जटिल र अन्योलपूर्ण हुन सक्छन्। यो लेखले कम्पनी दर्ता कसरी गर्ने र हरेक वर्ष पूरा गर्नुपर्ने आधारभूत कानुनी दायित्वहरूबारे स्पष्ट जानकारी दिने उद्देश्य राखेको छ।
१. नेपालमा कम्पनी दर्ता प्रक्रिया
नेपालमा कम्पनी दर्ता प्रक्रिया कम्पनी ऐन, २०६३ अनुसार सञ्चालन हुन्छ र यसको जिम्मेवारी कम्पनी रजिष्ट्रारको कार्यालय (OCR) मा हुन्छ। इच्छुक व्यक्तिले आफ्नो व्यवसायिक उद्देश्यअनुसार प्राइभेट लिमिटेड, पब्लिक लिमिटेड, वा गैरनाफामूलक संस्थाको रूपमा कम्पनी दर्ता गर्न सकिन्छ।
मुख्य चरणहरू:
क) नाम दर्ता (Name Reservation):
OCR को वेबसाइट www.ocr.gov.np मार्फत कम्पनीको प्रस्तावित नाम पेस गरिन्छ। नाम स्पष्ट, युनिक र भ्रमजनक नभएको हुनुपर्छ।
ख) आवश्यक कागजातहरू:
- दरखास्त फाराम (फाराम A)
- स्थापना पत्र (MOA) र नियमावली (AOA)
- प्रवर्द्धकहरूको नागरिकता प्रमाणपत्र
- निर्देशकहरूको सहमति तथा कार्यालय ठेगाना प्रमाणीकरण
ग) दस्तावेज बुझाउने र शुल्क तिर्ने:
सबै दस्तावेज अनलाइन वा OCR कार्यालयमा बुझाउन सकिन्छ। शुल्क कम्पनीको अधिकृत पूँजीको आधारमा निर्धारण हुन्छ।
घ) प्रमाणपत्र प्राप्ति:
OCR बाट कम्पनी दर्ता प्रमाणपत्र प्राप्त भएपछि कम्पनी कानुनी रूपमा सञ्चालन गर्न सकिन्छ।
२. कम्पनी दर्तापछि हरेक वर्ष गर्नु पर्ने मुख्य कार्यहरू
कम्पनी दर्ता मात्र पर्याप्त होइन। नियमित अनुपालन नगरे कम्पनीलाई जरिवाना तिर्नुपर्ने मात्र होइन, कानुनी समस्याहरू पनि आउन सक्छन्।
क) कर दर्ता र अनुपालन:
- PAN/VAT दर्ता: कम्पनी दर्ता पछि आन्तरिक राजस्व कार्यालयमा अनिवार्य रूपमा दर्ता गर्नुपर्छ।
- नियमित कर विवरण: मासिक VAT (यदि लागू हुन्छ), TDS र आयकर विवरण पेश गर्नुपर्छ।
- वार्षिक आयकर विवरण: आर्थिक वर्ष सकिएको ३ महिनाभित्र (अशोज मसान्तसम्म) अन्तिम कर विवरण बुझाउनुपर्छ।
ख) लेखापरीक्षण (Audit):
- हरेक कम्पनीले आफ्नो वित्तीय विवरण स्वीकृत लेखापरिक्षकबाट वार्षिक लेखापरीक्षण गराउनुपर्छ।
- लेखापरिक्षण प्रतिवेदन वार्षिक साधारण सभा (AGM) बाट स्वीकृत हुनुपर्छ।
ग) वार्षिक साधारण सभा (AGM):
- आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र AGM गर्नुपर्छ।
- एजेन्डामा लेखापरिक्षण प्रतिवेदन स्वीकृति, लेखापरिक्षक नियुक्ति, निर्देशकको प्रतिवेदन आदि समावेश हुन्छ।
घ) OCR मा विवरण बुझाउने:
- लेखापरिक्षण प्रतिवेदन, AGM विवरण र निर्देशकको प्रतिवेदन ६ महिनाभित्र OCR मा बुझाउनुपर्छ।
- समयमै नबुझाएमा जरिवाना लाग्ने तथा कानुनी कारबाही हुने सम्भावना हुन्छ।
ङ) अनुमतिपत्र नवीकरण:
- उद्योग अनुमति, स्थानीय निकायको लाइसेन्स, वा अन्य नियामक अनुमतिपत्र हरेक वर्ष नवीकरण गर्नुपर्छ (यदि लागू हुन्छ)।
च) सामाजिक सुरक्षा कोष (SSF) र श्रम कानुन अनुपालन:
- कर्मचारी राखेपछि SSF मा दर्ता गर्नुपर्नेछ र कर्मचारीको योगदान काटी समयमै जम्मा गर्नुपर्छ।
३. अनुपालन नगर्दाको परिणाम
अनुपालन नगरेमा निम्न परिणामहरू हुन सक्छ:
- धेरै हप्तादेखि वर्षसम्मको ढिलाइ अनुसार हजारौंदेखि लाखौं रुपैयाँसम्म जरिवाना
- निर्देशक अयोग्य ठहरिने सम्भावना
- ऋण लिन, टेन्डरमा भाग लिन वा अन्तर्राष्ट्रिय कारोबार गर्न अवरोध
- गम्भीर अवस्थामा कम्पनीलाई स्वतः खारेज गर्नेसमेत व्यवस्था