राष्ट्रिय स्वतन्त्र पार्टी, नाममा फेरबदल हुँदैन–रवि लामिछाने

0
राष्ट्रिय स्वतन्त्र पार्टी, नाममा फेरबदल हुँदैन–रवि लामिछाने

काठमाडौँ । सञ्चारकर्मीको पेशा त्यागेर राजनीतिमा होमिएमा रवि लामिछानेले पार्टीको नाम फेरबदल नहुने बताएका छन् । उनले केही दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेपछि विवादमा तानिएका थिए । स्वतन्त्र नाम दुरुपयोग गरिएको भन्दै आलोचना भइरहेका बेला शुक्रबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो निर्णयको बचाउ गरेका छन् । 

’हामी पहिलेदेखि नै स्वतन्त्र उम्मेदवारहरुको छलफलमा सहभागी भएका थियौँ । अब पनि देशभरकै स्वतन्त्र उम्मेवारहरुसँग चरणवद्ध छलफल गर्छौँ’, उनले भने, ’हाम्रो स्वतन्त्र पार्टीसँग आवद्ध हुन आउने क्रम बढेको छ । स्वतन्त्रलाई पार्टीमा प्रवेश गर्दा असर गर्छ भन्ने कुरा होइन । धेरै मानिसहरु दलमा आवद्ध भएका छैनन् । राजनीतिमा लागेर परिवर्तन गर्नुपर्छ कि भन्ने जमात छ । उनीहरुलाई पनि हामी आवद्ध गराउँदैछौँ ।’

उनले स्वतन्त्र सञ्चारकर्मीको भूमिका त्यागेर राजनीतिमा आएको बताए । ’राजनीतिमार्फत परिवर्तन गर्ने चहाना पूरा गर्न आएको हो । उहाँहरु सबैसँग समयानुसार सहकार्य गर्ने योजना छ’, उनले भने, ’हाम्रो सोच पूरा गर्न राजनीतिक दल चाहिन्छ भन्ने हो । स्वतन्त्रको अभ्यास धेरै छ । स्वतन्त्र नाम राखेर दल दर्ताका लागि हामीले निवेदन दिइसकेका छौँ । निर्वाचन आयोगसँग छलफल बाँकी छ ।’ उनले स्वतन्त्र दल, स्वतन्त्र पार्टीसहितका नाममा अन्यले पनि नाम दर्ता गराउने पहल गरेको जिकिर गरे । 

’स्वतन्त्रको अभियानलाई सदुपयोग गर्न सकिन्छ कि भनेर यो नामाकरण गरेका हौँ’, उनले भने, ’विश्वभर इन्डिपेन्डेन्ट पार्टीको अभ्यास छ । लाओस, केन्या, बर्मा र साउथ अफ्रिका धेरै स्थानमा स्वतन्त्र नामका पार्टी सक्रिय छन् ।’ उनले स्वतन्त्र उम्मेदवारी दिनेलाई आफूहरुको नामले असर नगर्ने पनि बताए । ’स्वतन्त्र उम्मेदवारी दिने कसैको विरुद्ध यो नाम राखेको होइन । स्वतन्त्रलाई पनि समेट्न यो निर्णय गरेको हो’, उनले थपे, ’स्वतन्त्र मान्छेले पनि हामीसँग कुरा गर्न सक्छन् । संसदीय निर्वाचन भएकाले हामीले दल बनाएर जान तयार भएका हौँ ।’

उनले दलमार्फत गए मात्रै सहज हुने भएकाले यो निर्णय लिएको पनि बताए । ’संसद राम्रा मान्छेले भरियोस् भन्न खोजिएको हो । हामीले सबेलाई समेट्न यो नाम राखेका हौँ’, उनले भने, ’स्वतन्त्रलाई पनि समेट्न यो पार्टी खोलिएको हो । निर्वाचन आयोगले आपत्ति जनाएछ भने फेरौँला हामी छलफलमा छौँ ।’ 

‘गणतन्त्र, संघीयता र धर्म निरपेक्षता मान्छौं’ 

लामिछानेले आफूहरुको मूल उद्देश्य देशको विद्यमान व्यवस्था परिवर्तन गर्नु नभएर जनताको अवस्था परिवर्तन गर्नु रहेको स्पष्ट पारेका छन् । उनले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता आफूहरुले मान्ने स्पष्ट पारे । रविले अहिले आफूहरु व्यवस्था भन्दा पनि जनताको अवस्था परिवर्तनका लागि आएको भन्दै सोहीअनुसार योजना बनाएको स्पष्ट पारे । उनले भने, ‘व्यवस्थाभित्र धेरै कुरा सुधारको आवश्यक छ । न्यायालयभित्र सुधारको झन धेरै आवश्यकता छ । हाम्रो मुद्दा व्यवस्था होइन, अवस्था परिवर्तन हो ।’


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top