मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिकाको छैठौं नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । शुक्रवार नगरप्रमुख सुरेन्द्र श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो । अघिल्लो नेतृत्वमा बिबादका कारण नगरसभा नै बस्न नसक्ने स्थिति रहेकोमा यस पटक भने त्यस्तो देख्नु नपरेको एक सभासदले जनाएका छन् । “नीति तथा कार्यक्रममा ब्यापक छलफल भयो तर बिपक्षमा एक मत पनि परेन ।” उनले भने ।
आर्थिक वर्ष २०७९÷८० का लागि मध्यपुर थिमि नगरपालिकाको नीति तथा कार्यक्रममा पहिलो प्राथमिकता स्वास्थ्यलाई दिइएको छ । नगरपालिकाले जेष्ठ नागरिकका लागि निशुल्क बीमाको व्यवस्था गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्यस्तै नगरका बिरामीलाई निशुल्क औषधी र रगत पाउने व्यवस्थाका लागि बजेट व्यवस्था गरिने बताइएको छ ।
नगरपालिका अस्पतालको रुपमा रहेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई स्तर उन्नती गर्दै सीसीयू संचालन गर्ने, ब्लड बैंक, एमआरआइ र मृगौला डायालासिसको समेत सेवा शुरु गर्ने सार्वजनिक गरिएको छ । त्यतिमात्र होइन, उक्त अस्पतालको आर्थिक प्रशासनलाई व्यवस्थित बनाउन अन्तिम लेखापरीक्षण महालेखापरीक्षकको कार्यालयबाट गराउने नीति लिइएको छ ।
नीति तथा कार्यक्रममा दोश्रो प्राथमिकता रोजगारीलाई दिईएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई रोजगारी संग जोड्ने नीति लिईएको छ भने नगरपालिकाले संचालन गर्ने विकास निर्मण कार्यमा मानवीय श्रमलाई प्राथमिकता दिएर रोजगारी सृजना गर्ने बताइएको छ । स्वरोजगारमूलक तालिम र सहुलियतपूर्ण व्यवसाय कर्जाको व्यवस्था त्यस्तै परम्परागत उद्योगको बिकास गरी रोजगारी सृजनाको नीति लिईएको छ । त्यसैगरी नगरापालिककाकै आर्थिक तथा प्राविधिक सहयोगमा उद्योग संचालन गर्ने र नगरपालिका आफैले बजार व्यवस्थापन गरी रोजगारी सिर्जना गर्ने महत्वाकांक्षी नीति समेत घोषणा गरिएको छ ।
नगरपालिकाले तेस्रो महत्व शिक्षालाई दिएको छ । प्राविधिक धारको पढाइलाई अघि बढाइने बताइएको छ । प्राविधिक र ब्यवसायिक उच्च शिक्षालाई प्राथमिकता दिइएको छ । त्यस्तै अघिल्लो नीति तथा कार्यक्रमको निरन्तरता दिंदै यसै आ.व.बाट सामुदायिक विद्यालयमा नेपाल भाषाको अध्यापन शुरु गर्न सम्भाव्यता अध्ययन गर्ने विषयसमेत समावेश गरिएको छ ।
त्यस्तै मध्यपुर थिमि नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति, बजेट तथा कार्यक्रम कार्यान्वयन गर्न नगरपालिकाले चालू खर्च, पूँजिगत खर्च गरी जम्मा रकम रु.१,७८,१०,५०,०००।– अक्षेरुपी एक अर्ब अठहत्तर करोड दश लाख पचास हजार रुपैया मात्र) ,कमेरोटार जग्गा एकीकरण आयोजना तर्फ ६० करोड ८७ लाख ६२ हजार,नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल तर्फ ५७ करोड ३७ लाख ४६ हजार,सामाजिक सुरक्षा भत्ता १८ करोड र सडक वोर्ड नेपाल वाट रु,७५ लाख रकम समेत जम्मा रु. ३ अर्ब १५ करोड १० लाख ५८ हजार विनियोजन गरेको छ ।
नगरपालिका तर्फको रु १ अर्ब ७८ करोड १० लाख ५० हजार मध्ये चालु तर्फ रु ५९ करोड ५९ लाख ४४ हजार , वडागत योजना तथा कार्यक्रमको लागि २७ करोड ९ लाख , नगर स्तरीय, सार्बजनिक निर्माण समेतका लागि ५७ करोड ६९ लाख ५६ हजार ,(जसमा यस पुर्ब दायित्व श्रृजना भएका कमागत आयोजनाका लागि १२ करोड ८० लाख ,सड्क बोर्ड समपूरक म्याचिङ्ग अनुदानको लागि ४ करोड ७० लाख र नयाँ नगर स्तरिय प्रशासनिक भवन तथा वडा प्रशासनिक भवन निर्माण गर्न १६ करोड २२ लाख ५० हजार विनियोजन गरिएकोछ ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने श्रोत मध्ये आन्तरिक आय (मौज्दात समेत) बाट रु.७७ करोड ८ लाख १५ हजार, राजस्व बांडफांड (संघिय, प्रदेश र स्थानीय) बाट रु. ४३ करोड ०४ लाख ६१ हजार,संघिय सरकारको समानीकरण अनुदानबाट रु. २४ करोड १९ लाख , प्रदेश सरकार समानीकरण अनुदानबाट २ करोड ४३ लाख ८० हजार ,सशर्त अनुदान तर्फ रु २५ करोड १४ लाख ,संघीय सरकार समपुरक अनुदान ७० लाख ,प्रदेश सरकार समपुरक अनुदान ३ करोड, नगद जनसहभागिता १४ लाख ५० हजार , सर्सत अनुदान चालू प्रदेश सरकार २ करोड ३६ लाख ४४ हजार रहेको छ ।