भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा बिहीबार लिबाली स्थित कभर्ड हलमा नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिताको उद्घाटन भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख सुनिल प्रजापतिले खेलकुद नागरिक जीवनको अभिन्न अंग भएको बताएका छन । खेलकुदको माध्यमबाट देशभरका नगरपालिकाहरूबीच सम्बन्ध विस्तार गर्न अन्तर नगर खेलकुद प्रतियोगितालाई निरन्तरता दिइएको उनले बताए ।
भक्तपुर नपाले खेलाडीहरूलाई उत्साहित गर्न नगरस्तरीय र विद्यालयस्तरीय खेल प्रतियोगिताहरू गर्दै आइरहेको बताउदै नगरपालिकाले वडा—वडामा गठित खेलकुद समितिहरूलाई सक्रिय पार्ने प्रष्ट पारे । नगरकोटको खानेपानीको मुहानसँगै निर्माणाधीन खेलमैदानतर्फ प्रदेश सरकार र स्थानीय प्रशासनको ध्यानाकर्षण गराउदै लाखौँ जनताले उपभोग गरिरहेको खानेपानीको मुहान सुक्नेगरी जथाभावी गैरजिम्मेवार काम गर्नेहरूलाई कारबाही गर्नुपर्ने उनको भनाइ छ ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले खेलकुदका कारण समाजमा सुरक्षित भएर बाँच्ने आधार तय हुने बताउदै देशको सार्वभौमिकता रक्षाको निम्ति खेलाडीहरु अग्रसर भएर लाग्नुपर्ने बताइन् । उक्त अवसरमा भक्तपुर जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष दिपक थापाले विद्यालय जीवनबाट नै खेलकुदमा अग्रसर भई देशको निम्ति योगदान गर्नुपर्ने बताउदै यस किसिमको प्रतियोगिताले भक्तपुरमा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पु¥याउने विश्वास व्यक्त गरे ।
भक्तपुर नगरपालिकाको आयोजनामा शुरु भएको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिता असार १६, १७ र १८ गतेसम्म हुने र उक्त प्रतियोगितामा कबड्डी, एथ्लेटिक्स, भलिबल र कराँते गरी चारवटा खेल सञ्चालन हुने आयोजक समितिले जनाएको छ ।