भक्तपुर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँसँग भेट गरी समवेदना प्रकट गर्नु भएको छ । एमाले अध्यक्ष ओली पत्नी राधिका शाक्य सहित एमाले उपाध्यक्ष सुबास नेम्वाङ तथा नेता कृष्णगोपाल श्रेष्ठसँगै बिजूक्छेँ निवास पुगेर नेमकिपा अध्यक्ष बिजुक्छेँको पत्नी शोभा प्रधानप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गर्नु भएको हो ।
क्यान्सर रोगको उपचारको क्रममा निधन हुनु भएको शोभाको उपचारको अबस्था र उपचारमा औषधिसमेत नपाउनु बिडम्बना भएको जानकारी गराउनु भएको थियो । भेटमा ओलीले नेपालमा जटिल रोगका औषधिको सहज उपलब्धता हुन नसक्नु दुःखद अवस्था रहेको बताउदै नेपालमा औषधिमा हुने कालो बजारी र नीतिको जानकारी प्रधानमन्त्रीलाई समेत नहुने भएकोले जटिल प्रकारका रोगका औषधि नेपालमा उपलब्ध हुन नसकेको बताउनु भयो ।
क्यान्सर रोगको औषधि नेपालमा उपलब्धता जटिल रहेको र सरकारले समेत कुनै पहल नगर्दा निःशुल्क पाउन सकिने औषधिबाट समेत नेपाली बञ्चित हुन परेको बिजुक्छेंले जानकारी गराउनु भयो । नेपालमा महिला सम्बन्धि रोग अत्याधिक रहेको भन्दै नेपाली चेलीहरुको डाक्टरी पेशामा पहुँच बढाउनु आवश्यक रहेको बताउनु भयो । बिजुक्छेँले आमनागरिकलाई विभिन्न खालका स्वास्थ्य शिबिर सञ्चालन गरि प्रत्यक्ष रुपमा नेपालीलाई स्वास्थ्य सुविधा दिनेतर्फ ध्यान दिनु पर्ने ओलीसंगको भेटमा बताउनु भयो ।
प्रधानलाई क्यान्सर लाग्दा भोग्नु परेको औषधिको समस्या औषधि विभागले दिएको दुःख, जटिल प्रकारका रोगका औषधि पाउन भोग्नु परेको पीडा, क्यान्सर औषधि नेपालमा उपलब्धतामा हुने गरेको कालोबजारी लगायतका बारेमा बिजुक्छेँका जेठा छोरा सुबेकमान बिजुक्छेँले ओली दम्पतीलाई जानकारी गराउनु भएको थियो ।
भेटमा एमाले उपाध्यक्ष नेम्वाङ्, नेता श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल लगायतका नेताले श्रद्धाञ्जली एवं समवेदना व्यक्त गर्नु भएको थियो ।